भानुमा चितुवा गणना – Janadesh Daily | ePaper

भानुमा चितुवा गणना


जनादेश काठमाण्डौ ।

चितुवाको सबैभन्दा बढी प्रभाव रहेको तनहुँको भानु नगरपालिकामा चितुवाको गणना गरिने भएको छ ।

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयले यहाँको जङ्गलमा रहेका चितुवा गणना गर्न लागेको हो । चितुवाको आक्रमणबाट एक वर्षमा जिल्लामा छ जना बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये तीन जना भानु नगरपालिकाका हुन् ।

जङ्गल क्षेत्रमा चितुवाको आहार लोप हुँदै जान थालेपछि चितुवा मानव बस्तीमा पसेर आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । “जङ्गलमा पाइने चितुवाको आहारा मानिसले मारिदिने गर्नाले पनि चितुवा आहारा खोज्दै बस्ती छेउछाउ आउन थालेको छ, जसकारण चितुवाले मानवमाथि आक्रमण गरेर ज्यान लिने गरेको देखियो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष ०७७÷७८ मा यहाँ रहेका चितुवा गणना गरिनेछ । यसका लागि कार्यालयले भानु नगरपालिकाभित्रका वनजङ्गल क्षेत्रको सर्भे गरेको छ । करिव चार हजार २०० हेक्टर वन क्षेत्रमा ३६ वटा बिन्दु पहिचान गरिएको छ ।

“प्रत्येक बिन्दुमा क्यामरा जडान गरी यहाँ रहेका चितुवा गन्ने कार्यक्रम बनाएका छौँ”, उहाँले भन्नुभयो, “चितुवा सँगसँगै चितुवाका आहारा प्रजाति पनि गणना गर्छौं ।”

चितुवाको आहारा प्रजाति संरक्षण गर्न सकिए चितुवा मानव बस्तीमा नआउने र मानवलाई आक्रमण नगर्ने कार्यालय प्रमुख बरालको भनाइ छ । चितुवाको आहारा प्रजाति संरक्षणका लागि घाँसे मैदानको अवस्था अध्ययन, पोखरी संरक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

“चितुवाको आहारा प्रजाति भानुमा नभएको खण्डमा त्यस्ता प्रजातिको संरक्षण गर्ने अभियान सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो, “घाँसे मैदान हराउँदै गएको र घाँस नभएपछि चितुवाको आहारा प्रजाति पनि लोप हुँदै जान थालेको छ ।”

उहाँका अनुसार चितुवालाई मानव बस्तीसम्म आइनपुग्ने बनाउन चितुवाको आहारा प्रजाति संरक्षण गर्नुपर्ने मुख्य चुनौती रहेको छ । “विगतमा वनजङ्गलमा प्रशस्त वन्यजन्तु पाइन्थ्यो, चितुवाले त्यसैलाई आहारा बनाउँथ्यो, तर आजभोलि त्यस्ता वन्यजन्तु पाइन छाडेको छ”, उहाँले भन्नुभयो, “चितुवाले पनि आफ्नो आहारा नभेटेपछि आहाराको खोजीमा मानव बस्तीमा आउनु स्वभाविक हो ।”

उहाँले वनक्षेत्रमा पोखरी संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । एक वर्षमा पाँच जनाको मृत्यु चितुवाको आक्रमणबाट गत आर्थिक वर्ष ०७६÷७७ मा पाँच जना बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये भानु नगरपालिकाका दुई , शुक्लागण्डकी नगरपालिकाका एक, बन्दीपुर गाउँपालिकाका एक र आँबुखैरेनी गाउँपालिकाका एक जना छन् ।

भानु नगरपालिकाकै एक जना चितुवाको आक्रमणबाट घाइते भएका छन् । चितुवाको आक्रमणबाट विसं २०७६ असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ, भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोका, पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महीनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका आठ वर्षीय पुजन सिंजाली र माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनारको चितुवाको आक्रमण मृत्यु भएको थियो ।

मानवलाई आक्रमण गर्ने क्रम बढेपछि उक्त अवधिमा आठ चितुवा नियन्त्रणमा लिई उद्धार गरिएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनसँगको सहकार्यमा चितुवा नियन्त्रणमा लिएको थियो । यसका लागि सामुदायिक वनले काठको खोर बनाएका थिए ।

काठको खोर बनाउन कार्यालयले आर्थिक सहयोग गरेको थियो । भानु नगरपालिकाबाट पाँच, बन्दीपुर गाउँपालिकाका दुई र व्यास नगरपालिकाका एक चितुवा नियन्त्रणमा लिई सुरक्षितरुपमा अन्यत्रै स्थानान्तरण गरिएको कार्यालयले जनाएको छ ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्