कोरोनाले ५ लाख अमेरिकीको मृत्यु, ह्वाइट हाउसमा दीप प्रज्ज्वलन, झण्डा झुकाउन आदेश – Janadesh Daily | ePaper

कोरोनाले ५ लाख अमेरिकीको मृत्यु, ह्वाइट हाउसमा दीप प्रज्ज्वलन, झण्डा झुकाउन आदेश


अन्तर्राष्ट्रिय अपडेट ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढि प्रभावित भएको र अझै पनि महामारीको गम्भीर संकटमा रहेको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट पाँच लाख एक सय ७० भन्दा धेरैको ज्यान गएको छ । कुल संक्रमितको संख्या दुई करोड ८१ लाख ८५ हजार चार सय भन्दा धेरै पुगेको छ ।

विश्वभर हालसम्म ११ करोड १६ लाख ९३ हजार पाँच सय भन्दा बढि संक्रमित पुगेका छन् भने २४ लाख ७३ हजार भन्दा बढिको ज्यान गएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाका कारण पाँच लाख अमेरिकीको ज्यान गएको सन्दर्भ पारेर राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

उनले भनेका छन्, ‘एक राष्ट्रका रुपमा, हामी यस्तो क्रूर नियती स्वीकार गर्न सक्दैनौँ । हामीले दुःखको यो गम्भीर अवस्थामा शून्य हुनुको साटो यसलाई रोक्न प्रयास गर्नु पर्छ ।’

सम्बोधनपछि राष्ट्रपति बाइडेन र प्रथम महिला डा. जिल बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिस र द्वितिय पुरुष डग एनहोफले ज्यान गुमाएको सम्मान र स्मृतिमा मौनधारण गरेका थिए । ज्यान गुमाएकाहरुको स्मृतिमा ह्वाइट हाउस बाहिर दीप प्रज्वलन गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति बाइडेनले कोरोना भाइरसविरुद्धको युद्धमा एकताका लागि आह्वान गर्दै भने, ‘आज म सबै अमेरिकीलाई स्मरणका लागि आग्रह गर्छु । जसले ज्यान गुमाए र जो पछि छुटे उनीहरुलाई सम्झनु होला ।’

राष्ट्रपति बाइडेनले कोरोना भाइरसका कारण ज्यान गुमाएकोको शोकमा पाँच दिनसम्म संघीय कार्यालयमा झण्डा आधा झुकाउन आदेश पनि दिएका छन् ।

कोरोना भाइरसका कारण पहिलो तथा दोस्रो विश्वयुद्ध र भियतनाम युद्धमा मारिएका भन्दा धेरै अमेरिकी ज्यान गएको छ ।

कोरोना भाइरसका कारण ज्यान गुमाएका कोही पनि सामान्य व्यक्ति नरहेको र सबै असामान्य क्षमता तथा प्रभाव युक्त व्यक्तिहरु गुमाउनु परेको बाइडेनले बताएका छन् ।

बाइडेनले आफूले आफन्त गुमाउनेको पीडा पनि पुनः साझा गरे र शोक तथा दुःखको घडीमा साथमा रहेको बताउने प्रयास गरे । सन् १९७२ का दुर्घटनामा उनकी श्रीमती र छोरीको ज्यान गएको थियो । यस्तै सन् २०१५ मा ब्रेन क्यान्सरका कारण छोरा बो बाइडेनको मृत्यु भएको थियो ।

बाइडेनले आफू पूर्वका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा गम्भीर रुपमा कोरोना भाइरसको महामारीलाई लिएर काम गरिरहेका छन् ।

उनले शपथको अघिल्लो दिन जनवरी १९ मा कोभिडका कारण निधन भएका चार लाख अमेरिकीको स्मृतिमा विशेष कार्यक्रम गरेका थिए । त्यसको एक महिनामा थप एक लाख अमेरिकीको ज्यान गएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्