पोल बगाउँदा विद्युत् अवरुद्ध – Janadesh Daily | ePaper

पोल बगाउँदा विद्युत् अवरुद्ध


जनादेश काठमाण्डौ ।

बाढीपहिरोले ट्रान्सफर्मर, मुख्य र वितरण लाइनको पोल तथा तार बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

मङ्गला गाउँपालिकाको अर्मनसहित मालिका र धौलागिरि गाउँपालिकामा वितरीत केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सुविधाको अभावमा सर्वसाधारणको दैनिकीदेखि गाउँपालिका, वडालगायत सरकारी, बैंक, सहकारी संस्थाको सेवा प्रवाह प्रभावित भएको छ ।

राइसमिल, फर्निचर, नेपाली कागज, अल्लो, सिलाइकटाइलगायत विद्युत् आवश्यक पर्ने धेरै प्रकृतिका उद्योग व्यवसाय ठप्प भएको दरवाङका मोतिराज गौतमले बताउनुभयो । विद्युत् अभावमा नेपाल टेलिकम र एनसेलको मोबाइल फोन सेवासमेत प्रभावित भएको छ । दिउँसो घाम लागेको समयमा मात्र मोबाइल फोन सेवा सञ्चालन हुँदा पहिरोबाट अति प्रभावित धौलागिरि र मालिका गाउँपालिकामा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित वितरण केन्द्रका अनुसार गत असार २५ गतेको पहिरो र बाढीका कारण मुख्य र वितरण लाइनको संरचनामा क्षति पुगेकाले विद्युत् आपूर्ति बन्द भएको हो । मङ्गला गाउँपालिका–५ कुरसिम्लामा १०० केभी क्षमताको ट्रान्सफर्मर, दुई वटा मुख्य र तीन वटा शाखा लाइनको पोलसहित तार पहिरोले बगाएको छ ।

फापरखेतको पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध भएका कारण ट्रान्सफर्मर, पोल र तार ढुवानीमा कठिनाइ हँुदा लाइन मर्मतमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले जानकारी दिनुभयो । उहाँका अनुसार कुरसिम्लाको ट्रान्सफर्मर भएर विद्युत् प्रवाह हुने त्यस अगाडिका थप पाँच वटा ट्रान्सफर्मरअन्तर्गत वितरित विद्युत् अवरुद्ध भएको छ ।

मालिका गाउँपालिकाको बिममा दुई वटासहित नौ वटा पोल पहिरोले बगाएको छ । देवीस्थान, धौलागिरि गाउँपालिकाको ताकम र मराङमा पहिरोले विद्युत् लाइनमा पु¥याएको क्षतिको विवरण अझै आएको छैन । बेगखोलाको बाढीले मुख्य लाइनको दुई वटा पोल बगाएपछि अवरुद्ध भएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा केन्द्रीय लाइनको विद्युत् सेवा बुधबार साँझदेखि पुनःसञ्चालन भएको छ ।

सबै ठाउँमा अवरुद्ध विद्युत् आपूर्ति पुनःसञ्चालन गराउने प्राधिकरणका कर्मचारीलाई परिचालन गरिएको छ । नियमित विद्युत् आपूर्ति नहुने र मर्मतमा ढिलाइ हुँदा सेवा प्रवाहका साथै उत्तरी म्याग्दीको उद्योग र होटल व्यवसायमा असर पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो ।

दुई सातादेखि सडक अवरुद्ध लगातारको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध सडक कतै मर्मत पछि पुनःसञ्चालन भएका छन् । कतै दुई सातादेखि अवरुद्ध छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय बासिन्दाको पहलमा पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड पुनःसञ्चालन भएको छ ।

बेनी नगरपालिका–४, फाँपरखेत र मङ्गला गाउँपालिका–२ जोड्ने फाँपरखेतको पहिरो नेपाली सेना, प्रहरी र स्थानीयवासीले पन्छाएपछि पश्चिम म्याग्दीमा सिधा यातायात सञ्चालनमा आएको हो । म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको चार वटा गाउँलाई जोड्ने सडकखण्डमा पहिरोले अवरुद्ध भएपछि पैदलयात्रीलाई समेत आवतजावतमा सास्ती खेप्नुपरेको थियो ।

अवरुद्ध सडक पन्छाउन स्थानीयवासीसहित सेना, प्रहरीको टोलीले लगातार दुईदिनसम्म मर्मत गरी सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार फाँपरखेतको पहिरोमा १४ वटा ग्याविन जाली लगाइएको छ भने आवतजावतमा कम जोखिम हुने गरी मर्मत गरिएको छ ।

बेनीदेखि दरबाङसम्म हिलाम्मे सडक र बाढीले यात्रा निकै जोखिम हुने गरेको छ । २४ किलोमिटर दूरीको सडकमा यात्रा गर्दा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यताले समेत यात्रुलाई सास्ती हुने गरेको थियो । पश्चिमतर्फको सडक पुनःसञ्चालन गरिए पनि गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड गत १४ दिनदेखि अवरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङ सडक सम्पर्कविच्छेद भएको छ ।

गत असार २५ गतेदेखि परेको अविरल वर्षका कारण दानको काभ्रेभिर, घोप्टेभिर, गुइँठेभिरलगायतका ठाउँमा पहिरोले सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो । सडक खुलाउन सेना, बेनी–जोमसोम सडक आयोजना र सडक निर्माण कम्पनीले काम गरिरहेको भए पनि सडक खुलाएर यातायात सञ्चालनमा ल्याउन नसकेको मुस्ताङबाट ओभरसियर सचिन पौडेलले जानकारी दिनुभयो ।

लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी र कमजोर भू–बनावटका कारणमाथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । सडक अवरुद्ध भएपछि आवतजावत रोकिएको छ । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ ।

सडक स्तरोन्नतिका लागि डोजर, स्काभेटर, ब्रेकर आदिको प्रयोग गरिएपछि वर्षाले हिलाम्ये हुँदा सानाठूला सवारी साधन हिलोमा नै घण्टौँसम्म फस्ने गरेका छन् । सडकखण्डमा सामान्य वर्षामा समेत हिलाम्ये हुँदा यात्रा कष्टकर बनेको दानाका पर्यटन व्यवसायी शेरचनले बताउनुभयो । “सडकको धरापले यात्रुलाई सास्ती छ, तत्काल मर्मत गरे पनि पुनः खस्ने गरेको छ”, उहाँले भन्नुभयो ।

रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्