बाबुराम भट्टराई फेरि प्रधानमन्त्री बन्ने सम्भावना छ ? यस्तो भयो भने हुनसक्छन् – Janadesh Daily | ePaper

बाबुराम भट्टराई फेरि प्रधानमन्त्री बन्ने सम्भावना छ ? यस्तो भयो भने हुनसक्छन्


जनादेश विश्लेषण ।

संसद पुनर्स्थापना भएसँगै सत्ताको रस्साकस्सी सुरु भैसकेको छ । नेकपाको झगडा अदालत र निर्वाचन आयोगबाट अब प्रतिनिधिसभामा केन्द्रित भएको छ । सरकार गठनको दौडमा अब नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) पनि जोडिएका छन्।

नेकपाका दुई समूहमध्ये नेपाली कांग्रेसले जसलाई साथ दियो उसैको पल्ला भारी हुने देखिएपनि जसपाको भूमिका पनि महत्वपूर्ण छ । त्यतिमात्र होइन एउटा अवस्थामा जसपाले सरकारको नेतृत्व पाउने र डाक्टर बाबुराम भट्टराई पार्टीको तर्फबाट पुनः एक पटक प्रधानमन्त्री हुने सम्भावना बढेको छ । त्यसैले जसपा र कांग्रेसलाई आफ्नो पक्षमा पार्न नेकपाका दुई पक्षको रणनीति रोचकरुपमा अघि बढिरहेको छ ।

संसदमा अकंगणित
२७५ सदस्यीय प्रतिनिधिसभामा नेकपासँग रहेका १७४ सदस्यमध्ये सभामुख भएका अग्नि सापकोटा र मृत्यु भएकी शानु शिवालाई छाड्दा १७२ सदस्य नेकपासँग छन्। जसमध्ये ओली समूहले ८३ जना सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ। अर्कोतिर प्रचण्ड नेपाल समूहको साथमा ८७ सांसद रहेका छन्। दुई जनाले आफूलाई कतै खुलाइसकेका छैनन्।

केही नेताहरुले नेकपालाई पुन: एक गर्दै आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्ने धारणा राखेका छन्। त्यो तत्काल सम्भव देखिँदैन्। बुधबार प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठकले यसलाई स्पष्ट संकेत गरिसकेको छ। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘अहिलेको अवस्थामा पार्टी एक हुन्छ भन्नु भ्रम हुने’ बताएका थिए।

बिहीबार बिहान उपाध्यक्ष बामदेव गौतमले प्रचण्डलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। तर, त्यसका लागि नेकपालाई एकता गर्नुपर्ने उनको धारणा थियो। ‘एकताका विषयमा कुराकानी भयो। गौतमले प्रधानमन्त्री बन्नुस् भन्ने प्रस्ताव राख्नुभयो। तर, उहाँले कांग्रेसँग सहकार्य गरेर नभई ओलीसँग मिल्नुपर्ने बताउनु भो,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने। तर, प्रचण्डले भने अहिलेको अवस्थामा ओलीसँग मिल्न नसकिने जवाफ फर्काएका थिए।

नेकपाको कुनै एक पक्षको मात्र सरकार बन्ने स्थिति नभएकाले अब संयुक्त सरकार बन्ने पक्का छ। सामान्य अवस्थामा २७५ सदस्यीय प्रतिनिधिसभाबाट प्रधानमन्त्रीमा निर्वाचित हुनका लागि १३८ सदस्य आवश्यक हुन्छ। प्रचण्डका लागि प्रधानमन्त्री बन्नका लागि हाल आफूसँग रहेका ८७ सदस्यसहित थप ५१ सदस्यको साथ चाहिन्छ। नेपाली कांग्रेसका प्रतिनिधिसभामा ६३ सांसद छन्। कांग्रेसले साथ दियो भने प्रचण्ड सहजै प्रधानमन्त्री हुन सक्छन्। ३४ सदस्य रहेको जसपाले प्रचण्डलाई साथ दिँदा थप २५ सदस्य आवश्यक पर्छ। किनकी ३४ मध्ये जसपामा दुई सदस्यको मताधिकार छैन। त्यसका लागि प्रचण्ड समूहलाई ओली पक्षमा लागेका सांसदहरुलाई फर्काउनुपर्ने हुन्छ।

नेकपाको प्रचण्ड–माधव समूहले दावी गरेझैं उनीहरुको पक्षमा ९० सांसद पुगेको अवस्थामा काँग्रेसको ६३ सांसद मिलाएर प्रतिनिधिसभामा १५३ सांसदको समर्थनसहित गठबन्धन सरकार बन्न सक्छ । जसपा नेपाल पनि उक्त सरकारमा सामेल हुने हो भने प्रतिनिधिसभामा त्यो सरकारको पक्षमा १८७ सांसद संख्या पुग्छ ।

काँग्रेसको झुकाव नेकपा प्रचण्ड–समूह भन्दा पनि नेकपा ओली समूहतिर बढी देखिएका कारण अबको समीकरण प्रचण्ड नेपाल र जसपाबीच हुने सम्भावना पनि उत्तिकै छ । र अन्तर्राष्ट्रय चलखेल भएन भने नेकपा प्रचण्ड–माधव समूहले जसपा सँग मिलेर सरकार बनाउन सक्छ ।

नेकपाको प्रचण्ड–माधव पक्षको सम्बन्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग पछिल्लो समय सुमधुर देखिन्छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको झुकाव काँग्रेस र नेकपाको ओली समूहप्रति रहेपनि मधेशले ओलीलाई नरुचाउने कारण उनीहरु खुलेर ओलीको पक्षमा लाग्न सकिरहेका छैनन् ।

मधेसमा ओलीको तुलनामा प्रचण्ड–माधवलाई सकारात्मक रुपमा लिने गरिन्छ । मुद्दाको हिसाबले पनि जसपा नेपाललाई प्रचण्ड–माधव पक्षको नजिक लैजान्छ । तर यस्तो गठबन्धनका लागि भारतको समर्थन रहन्छ वा रहँदैन भन्ने विषयले धेरै ठुलो प्रभाव पार्ने जानकारहरु बताउँछन् । यदि जसपा नेपालले नेकपाको प्रचण्ड–माधव पक्षलाई साथ दिने हो भने बहुमतका लागि थप १४ सांसद आवश्यक पर्दछ । ती १४ सांसद प्रचण्ड–माधव पक्षले ओली समूहबाटै तान्नुपर्ने हुन्छ । सरकार गठनका क्रममा मन्त्री पद पाउने तथा विभिन्न नियुक्ति पाउने लोभमा गुट परिवर्तन हुन सक्ने र त्यसले संसदीय समीकरणमा फेरबदल हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । आफू नेतृत्व गर्न नपाउने अवस्थामा प्रचण्ड-माधवको नेकपाले जसपालाई प्रधानमन्त्री दिएर भएपनि ओली सत्ता विस्थापित गर्ने रणनीति तय गर्न सक्ने सम्भावना समेत छ । जसमा बाबुराम भट्टराई प्रधानमन्त्रीकोरुपमा पहिलो रोजाईमा पर्ने देखिन्छ । मधेश केन्द्रित दलको समर्थनमा नयाँ सरकार बन्दा भारतको पनि साथ रहने र बाबुरामलाई नेपालमा पनि उच्च जनसमर्थन रहेका कारण उनी प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ ।

खासगरी संविधान संशोधन हुनुपर्ने भनिएका पक्षहरु नेकपा प्रचण्ड-माधव समूह, कांग्रेस र जसपाबीच सत्ता समीकरणको सम्भावनालाई भारतको समर्थन रहने मानिन्छ । हालै एक मिडिया अन्तर्वार्तामा जसपाका नेता राजेन्द्र महतोले बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने सम्भावना औल्याएका छन् । ‘सहमतीय सरकारको अवस्थामा डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्री बन्ने अवस्था आउन सक्ने चर्चा छ नि?’ भन्ने प्रश्नमा महतोले हाँस्दै जवाफ दिएका छन्- हुनसक्छ नि के छ र। अब कस्तो शक्ति समीकरण बन्छ, के बन्छ त्यो त थाहा भएनन नि त।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्