प्रधानमन्त्री आज मोरङ र झापा जाँदैः देश दौडाहा किन ? देउवासँग समान रणनीति – Janadesh Daily | ePaper

प्रधानमन्त्री आज मोरङ र झापा जाँदैः देश दौडाहा किन ? देउवासँग समान रणनीति


जनादेश वाच ।

धेरैलाई लागेको थियो प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली गल्नेछन् । उनीबाट राजीनामा आउनेछ र देशले अर्को प्रधानमन्त्री पाउनेछ ।

तर अदालतको आदेशपछि पनि हठ नछोडेका ओली झनै सक्रिय बनेर देश दौडाहामा लागिरहेका छन् । विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओली व्यस्त हुन थालेका हुन् ।

आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा-५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेका थिए ।

पोखरामा प्रधानमन्त्री ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले पोखरामा पनि विभन्न विकास निर्माणको कामको निरीक्षण तथा शिलान्यास गरेका थिए ।

दुई दिनदेखि काठमाडौँ उपत्यका बाहिरका कार्यक्रममा व्यस्त भएका ओली आज झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । बिहान ११ बजे झापाको भद्रपुर पुग्ने ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

त्यसलगत्तै प्रधानमन्त्री ओली बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुनेछन् । सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

लामो समयदेखि सुकुम्बासी जीवन बिताइरहेको सन्थाल समुदायका लागि उर्लाबारीमा १३६ परीवारलाई लक्षित गरी एकीकृत बस्ती तयार गरिने भएको छ ।

बस्ती ३० करोड रुपैयाँको लगानीमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । उर्लाबारी नगरपालिका–८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सीको छेउमा एकीकृत बस्ती निर्माणपछि उनीहरूलाई सहज हुने अपेक्षा गरिएको छ ।

उर्लाबारीको उक्त कार्यक्रमसकिएपछि प्रधानमन्त्री ओली आजै साँझ विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्कने छन् ।

किन देश दौडाहामा छन् ओली !
सर्वोच्चको फैसलापछि एक साताको घटनाक्रमले ओलीको सक्रियतामा कुनै कमी नआएको देखिएको छ । आफूलाई काम गर्न नदिएका कारण संसद विघटन गरेको बताउने ओलीको सर्वोच्चको फैसलापछि भने बोली केही फेरिएको छ । उनले विभिन्न भेला, कार्यक्रम र अन्तर्वार्ताहरूमा भन्ने गरेका छन्– ‘सर्वोच्चको फैसलाले राजनीतिक अस्थिरता बढ्नेछ । सांसद खरिदबिक्रीको पुनरावृत्ति हुनेछ ।’

ओलीले आफू सहजै राजीनामा गर्ने पक्षमा समेत नरहेको बताएका छन् । ‘राजीनामा लेख्दिनँ । राजीनामा लेख्नुपर्ने अवस्था होइन, छैन । मैले अरू पनि बाटा समाउन सक्छु । त्यो अविश्वासको प्रस्ताव पारित गरेर मलाई हटाउने बाटो पनि छ’, प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव सामनाबारे भनेका छन् ।

ओली जसरी पनि देशलाई चुनावमा पुर्‍याउने र फेरि शक्तिशाली बन्नेमा ढुक्क देखिन्छन् । जसरी पनि प्रचण्ड-माधव समूहलाई कमजोर पार्ने उनको ध्येय छ ।

ओली र देउवाको समान रणनीति ?
प्रधानमन्त्री ओली संसमा आफूविरुद्धको सम्भावित अविश्वास प्रस्ताव असफल पार्ने योजनामा छन् । त्यही योजनाअनुसार उनले काँग्रेस र राजपाको साथ खोजिरहेका छन् र पाउनेमा पनि ढुक्क जस्तै देखिन्छन् । उनी आफूविरुद्धको अविश्वासको प्रस्ताव आएपनि फेरि निर्वाचनको घोषणा गर्ने मुडमा छन् । त्यसका लागि संविधानको धारा ७६ को उपधारा ७ लाई प्रयोग गर्नेगरी उनका गतिविधि केन्द्रित रहनेछन् । ओलीले प्रतिनिधि सभामा आफूविरुद्ध पेस हुने अविश्वास प्रस्ताव पारित हुने नै अवस्था आए आफ्नै प्रस्तावमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने ।

यसो गर्दा प्रचण्ड–माधव जसरी पनि सडकमै रहने विश्लेषण ओली पक्षको छ । ओलीका रणनीतिमा शेरबहादुर देउवाले समेत साथ दिने हुन् कि भन्ने आशङ्का बढ्दै जान थालेका छन् । किनभने देउवा यो मौकामा चुनाव नै चाहान्छन् । किनभने नेकपा विभाजन भएको बेलमा चुनावमा गए आफ्नो बहुमत आउने देउवाको भित्री विश्लेषण छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्