जनादेश विश्लेषण ।
अदालतले संसद विघटनको निर्णय उल्ट्याउँछ भन्ने आभाष पाएपछि प्रधानमन्त्री केपी ओलीले संसद पुनर्स्थापना भएपनि फरक नपर्ने अभिव्यक्ति दिन थालेका थिए । उनले त्यस्ता अभिव्यक्ति दिन थालेको २ दिनपछि अदालतबाट विघटन बदर भयो र प्रतिनिधिसभा पुनर्स्थापित भयो ।
पुनर्स्थापना भएपछि पनि आफूलाई कसैले प्रधानमन्त्रीबाट हटाउन नसक्ने बताउँदै आएका प्रधानमन्त्री ओलीले अब भने हटाए फेरि चुनाव जितेर फर्किने बताउन थालेका छन् । फेरिएको ओलीको बोलिले उनलाई आफ्नो सरकार अब टिक्दैन भन्ने निष्कर्षमा पुगिसकेको स्पष्ट संकेत गर्छ ।
यो साता गृह जिल्ला पुगेका प्रधानमन्त्री केपी आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुईतिहाइ बहुमतसहित सिंहदरबार फर्कने बताए । मङ्गलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो उद्घोष गरेका थिए । उनले कसैले हटाइहाले पनि अर्को चुनावमा दुईतिहाई मत ल्याउने दाबी गरे । तर उनले आफूलाई हटाउन सजिलो नभएको भन्दै हटाएर देखाउन चुनौतिसमेत दिए ।
‘अस्तिका दिन मैले भनेँ, अहिले पनि मलाई कसैले हटाउन सक्छ भने हटाओस् । तर सजिलो छैन । हटाउन सक्छ भने हटाओस् खुसीसाथ हट्छु तर आउँदो चुनावमा अहिलेनै भन्दिनँ चाहन्छु कसैले हटाउन सक्छ भने हटाओस् डेढ वर्ष वा दुई वर्षपछि त चुनाव आइसक्छ । दुईतिहाईका साथ फेरि सिंहदरबारमा फर्कन्छु’, उनले थपे ।
कसैल् हटाउन नसक्ने बताउने गरेका ओली गलेका छन् अब उनलाई म हट्ने अवस्था आयो भन्ने रियलाइज भएको छ । ओलीलाई यस्तो हुनुमा दुई प्रमुख कारण छन् । पहिलो संसदीय दलमा आफू अल्पमतमा रहनु र नेकपा प्रचण्ड-माधव समूहले ओली पक्षीय नेताले गरेको पुनः एकीकरणको प्रस्ताव अस्वीकार गरिदिनु । र दोश्रो कारण देउवाले म प्रधानमन्त्री बन्न तयार छु भनेर सार्वजनिक घोषणा गर्नु ।
देउवासँग सल्लाह गरेरै अविश्वासको प्रस्ताव
प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले कांग्रेस र जसपा सँग छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ । बुधबार पेरिस डाँडामा बसेको पार्टी स्थायी कमिटि बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव सबै पार्टीसँग छलफल गरेर मात्र लैजाने निर्णय गरेको हो।
‘लोकतन्त्र र संविधान रक्षाका लागि हामी खुला छौं। यसका लागि हामी सरकार नेतृत्वको लागि खुला छौं’, नेता भीम रावलले भने, ‘अब छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लान्छौं। छलफल गर्दा प्रधानमन्त्रीको नाम तोकेर मात्र लैजान्छौं।’
बुधबारको बैठकले आगामी २३ गते बस्ते प्रतिनिधि सभाको बैठकमा कसरी जाने भन्ने बारेको निर्णय गर्न पार्टी सचिवालयलाई जिम्मा दिएको छ।
बैठकले सरकार गठनका लागि अन्य दलसँग छलफल गर्न सचिवालय र स्थायी कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो।
फेरि जाग्यो देउवालाई प्रधानमन्त्री बन्ने रहर
नेपाल कम्युनिष्ट पार्टी दुई कित्तामा बाँडिएसँगै नेपाली कांग्रेसले कुन कित्तालाई सहयोग गर्ला भन्ने जिज्ञासा सर्वत्र छ । पार्टीका शीर्ष नेताहरूले आफू अनुकूलका धारणा दिँदै आएका कारण यसबारे जिज्ञासा बढिनै रहेको छ । तर बुधबार कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शकांक कोइरालाले प्रधानमन्त्री पनि बन्ने र प्रचण्ड-नेपालसँग सहकार्य गर्ने बताएपछि कांग्रेसको अबको लाइन क्लियर भएको ठानिएको छ ।
पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी भएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका बीच भने राम्रै जुहारी चल्यो। वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले जनताबाट विपक्षमा बस्ने जिम्मेवारी पाएको भन्दै त्यही भूमिकालाई जिम्मेवारीपूर्वक निभाउनुपर्ने बताए । पौडेलले राजनीतिक विकृति बढ्दै गएको भन्दै यसबाट लोकतन्त्रलाई बचाउन कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।
तर लगत्तै मञ्चमा पुगेका सभापति देउवाले हुन त यो राजनीतिक कुरा गर्ने ठाउँ होइन, राजनीतिक कुरा उठिहाल्यो, रामचन्द्र जी बोलिहाल्नुभयो अब के गर्ने समस्या भैहाल्यो भन्दै कुरा अघि बढाए।
‘कांग्रेसलाई पदको लोभ पनि छैन, टाउकोमा आए भाग्ने पनि छैन, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन,’ देउवाले भने, ‘प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाऊँ भन्या पनि छैन, आयो भने भाग्नेवाला पनि छैन म, त्यही हो। यसबाट पार्टीलाई फाइदा नै होला राम्रो कुरा हो।’
उनले रामचन्द्रलाई सम्झाउँदै भने, ‘चिन्ता नगर्नुस् रामचन्द्र जी तपाईंले, म पार्टीकै मान्छे प्रधानमन्त्री हुने हो, अरूभन्दा आफ्नै पार्टीको प्रधानमन्त्री भए फाइदै होला, तपाईं पनि खुसी हुनुहोला जस्तो लाग्छ मलाई त,’ उनले भने, ‘शेरबहादुर हुनै हुँदैन भनेर चाहनुहुन्न होला जस्तो लाग्छ मलाई। तपाईंले भनेको कुराबाट त्यही बुझियो।’
नेकपा प्रचण्ड-नेपाल समूहको तयारी, देउवा र ओलीको फेरिएको बोलीले अब ओली सत्ता ढल्ने संघारमा रहेको पटाक्षेप गरिसकेको छ । अब संसद बैठक बस्नु अघी निर्वाचन आयोगले दलीय आधिकारिकताको निर्णय पनि गर्ने प्रचण्ड नेपाल समूहको अनुमान छ । त्यसो भएमा ओली गुट पूर्णतः परास्त हुने दाबी सो समूहका एक नेताले गरेका छन् ।
यही अवस्थाको आँकलन गरेर नै ओलीले विप्लव समूहसँगको वार्तालाई तत्काल सफल भएको घोषणा गर्न र विप्लवसँग चुनावसम्मको तालमेलका लागि सहमति गर्न दबाब दिएका छन् ।
यो पनि हेर्नुस्-
सरकार ढल्ने भएपछि ओलीलाई विप्लवसँग सहमतिको हतारो, एक एजेण्डामा अपत्यारिलो लचकतामा
ओलीले विप्लवलाई दिए चार मन्त्रालयको अफर