जनादेश वाच ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले नेपालमा सरकार बदलिने र नयाँ सत्ता समीकरण बन्ने सम्भावना बढेको बेला चीन र भारतका फरक फरक स्वार्थ र चाहाना रहेको विश्लेषण गरेका छन् ।
बेलायतको ‘दि इकोनोमिष्ट’ म्यागजिनले ‘नेपालको राजनीतिक संकटमा भारत र चीनको परस्पर फरक एप्रोच’ शीर्षकमा एक सामग्री सम्प्रेसण गरेको छ ।
नेपालमा नयाँ सत्ता समीकरणको सम्बन्धमा अन्योल कायमै रहेको अवस्थामा दुवै मुलुक भारत र चीन दुविधामा रहेको उक्त पत्रिकाको निष्कर्ष छ । चीनले नेपालमा ‘राजनीतिक हस्तक्षेप’ गरिरहेको र भारतले ‘कुशलतापूर्वक संकट व्यवस्थापन’ गरिरहेको दाबी पनि उक्त पत्रिकाको छ ।
प्रतिनिधिसभाको बाँकी अवधिमा आफ्नो सरकार टिकाउन लागिरहेका प्रधानमन्त्री केपी ओलीको प्रयत्न र उनलाई जसरी पनि हटाएर नयाँ सरकार बनाउने नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको एउटा पक्ष र जनता समाजवादी पार्टीका केही नेताको प्रयासकाबीच छिमेकीको चाहाना पनि मिसिएका छन् ।
राजनीतिक दलका नेता र विश्लेषक पछिल्लो समयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सजिलै सरकार बन्ने अवस्था हुँदा पनि राजनीति त्यता नजानुमा कुनै न कुनै रुपमा भूराजनीतिक अर्थ रहेको बताउँछन् ।
भारत निकट भनेर चिनिने कांग्रेस नेता अमरेश कुमार सिंहले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा वर्तमान सरकारलाई भारतको साथ रहेको र भारतसँग डिल गरिसकेकाले ओली सरकारलाई कसैले हटाउन नसक्ने दाबी गरेका छन् । उनले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई चुनावमार्फत राजनीतिमा कमजोर पार्ने रणनीतिमा समेत भारतको साथ रहेको दाबी पनि गरेका छन् ।
फेरि सक्रिय बनेकी चिनियाँ राजदूत
सत्ता समीकरणको फेरबदलका चर्चा चलिरहेकै बेला चिनियाँ राजदूत होउ यान्छी पुनः सक्रिय बनेकी छिन् । राजदूत यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरिसकेकी छिन् ।
सोमबार प्रचण्ड निवास खुमलटारमा राजदूत यान्छीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरेकी हुन् ।
एमालेभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बेला वरिष्ठ नेता नेपाल र माओवादी अध्यक्ष दाहालसँग राजदूत यान्छीले गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
दुवै नेतासँगको भेटमा राजदूत यान्छीले पार्टी, सरकार र पछिल्लो राजनीतिक गतिविधिबारे चासो व्यक्त गरेकी थिइन् । राजदूत यान्छीले दुवै नेताहरुसँगको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी गर्नुका साथै कम्युनिष्ट सरकारलाई नै निरन्तरता दिन आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राजदूत यान्छीले पुनः कम्युनिस्ट नेताहरुसँग भेटवार्तालाई सक्रियता दिन थालेकी छिन् ।
यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदा राजदूत यान्छीले नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिएकी थिइन् ।