९४ हजार स्याउका बिरुवाको बीमा – Janadesh Daily | ePaper

९४ हजार स्याउका बिरुवाको बीमा


खलङ्गा ।

शिखर इन्सुरेन्स कम्पनी शाखा जुम्लाले कालीकोट, मुग र जुम्लाका स्याउ किसानका करीब ९४ हजार स्याउका बिरुवा बीमा गरेको छ । किसानका लागि बीमा कार्यक्रम अगाडि बढाइएकाले किसान स्याउ बीमाप्रति उत्साहित भएको इन्सुरेन्स प्रदेशका इन्चार्ज ऋषिराम पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुम्ला, कालीकोट र मुगुमा एक हजार ४१२ किसानले बीमाको क्षतिपूर्ति पाएका छन् । जुम्ला ७४७, कालीकोट ३४७ र मुगुमा ३०० स्याउ किसान बीमित भएका थिए ।” स्याउको बिरुवा बीमा गरिएअनुसार क्षतिपूर्ति वितरण शुरु गरिएको इन्चार्ज पाण्डेले जानकारी दिनुभयो ।

जुम्लामा मात्रै एक करोड ३३ लाख क्षतिपूर्ति वितरण गरिएको छ । जुम्लामा १६ हजार घरधुरीमा स्याउ खेती गर्दै आएकामा हावाहुरी र असिनाले स्याउको फलमा क्षति पु¥याएको थियो । कृषि कार्यालयका अधिकृत खेमराज शाहीका अनुसार खेतीमा क्षति व्यहोर्नु परेका किसान क्षतिपूर्ति पाउँदा खुशी भएका छन् । प्रतिबिरुवा रु २७० का दरले किसानले क्षतिपूर्ति पाउने गरेको शिखर इन्सुरेन्सले जनाएको छ ।

यस वर्ष जुम्लामा एक करोड ३३ लाख बिरुवा वितरण गरिएको छ । जुम्लामा सबैभन्दा बढी पातारासी गाउँपालिका उर्थु गाउँका स्याउ किसान अधिराज बिष्टका ७०० बिरुवा बीमा गरिएको थियो । उहाँले स्याउमा फल नलागेपछि बीमा गरेबापत एक लाख ८९ हजार प्रदान गरेको इन्सुरेन्सले जनाएको छ ।

पाँच सय बिरुवाको बीमा गरेबापत देवी सेजुवालले रु एक लाख ३५ हजार पाउनुभएको छ । त्यसैगरी धनबहादुर थापाले पनि ५०० बिरुवाको बीमा गरेर क्षति भएबापत रु एक लाख ३५ हजार रकम नै प्राप्त गर्नुभएको छ । बीमाको रकम भने यस वर्ष किसानको घरमै गएर वितरण गरिएको छ । किसान अधिराज बिष्टले यस वर्ष स्याउ नफलेर घाटा लागेको तर बीमाले थोरै राहत गरेको बताउनुभयो ।

रु एक सयमा यहाँका किसान स्वयंको दुर्घटना बीमा गरिएको छ । एक वर्षअघि जुम्ला चन्दननाथका रत्नराज गिरीको स्याउ बगैँचामै मृत्यु भएका कारण रु दुई लाखसमेत उपलब्ध गराइएको थियो । अब शिखरले पशु र घरको बीमा पनि शुरु गर्ने लक्ष्य लिइएको छ ।

हाते होजियारी तालीम

हिमा गाउँपालिकाले हाते होजियारी तालीम सञ्चालन गरेपछि स्थानीयवासीमा खुशी छाएको छ । हातले बुनेका कपडाहरू प्रयोग गर्ने र कपडा उत्पादन गर्ने उद्देश्यले तालीम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो । तालीम अवधिभर बेरोजगार युवालाई विशेषगरी टोपी, स्वेटर, गलबन्दी, मोजालगायत कपडाहरू बुन्न सिकाउने उहाँले बताउनुभयो ।

महिलासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत ४५ युवालाई तालीममा सहभागी गराइएको उपाध्यक्ष रोकायाले जानकारी दिनुभयो । घरमा उत्पादन हुने भेडा तथा खरायोको ऊनबाट कपडा निर्माण गर्न सिकाउने र युवालाई व्यावसायिक तथा उद्यमी बनाउने लक्ष्य लिइएको छ । महिलाको उत्थान गर्दै गरिबी घटाउने उद्देश्यले तालीम सञ्चालन गरिएको हो । महिलालाई सीपयुक्त बनाई आर्थिक हिसाबले बलियो बनाउन तालीम राहत हुने विश्वास लिइएको छ ।

कोशेली घर निर्माण गरी महिला उद्यमीले उत्पादन गरेका वस्तु स्थानीय सरकारले खरीद गर्ने व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । महिला सशक्तिकरण र आर्थिक क्रान्तिको बाटोमा हिँडाउन स्वरोजगारमूलक तालीमको आवश्यकता रहेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताउनुभयो । सीप सिकेमा केही गर्न सकिने भएकाले भविष्यमा आमा हुने युवतीलाई तालीमले आत्मनिर्भर बनाउन सहयोग गर्ने रमिता रावतले बताउनुभयो । महिला घरायसी कामबाहेक फुर्सदको समयमा कपडा बुन्ने काम गर्न सक्ने भएकाले तालीम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना

पछिल्लो समय लागुऔषध दुव्र्यसनीका क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ । पहिलोपटक कर्णाली प्राविधिक शिक्षालयका विद्यार्थीलाई लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लाका सबै माविस्तरमा सचेतना फैलाउने जानकारी दिनुभयो । “सबै मिलेर लागुऔषध दुव्र्यसनीका क्रियाकलाप पूर्णरुपमा बन्देज गर्नुपर्छ”, प्रजिअ थापाले भन्नुभयोे, “लागुऔषधमा फसेकालाई सुधारगृहमा लैजाने र कानूनी सजाय दिएर सुधार हुन प्रेरित गर्ने कार्य भइरहेको छ । सुधारगृहबाट सुध्रिएर आएको खण्डमा जीविकोपार्जनका क्रियाकलापमा संलग्न गर्न पहल हुनेछ ।”

कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै लागुऔषध ओसारपसार र सेवन गर्नेको सङ्ख्या बढिरहेका छन् । जुम्ला लागुऔषधको प्रभावित जिल्ला बन्दैछ । ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी लागुऔषध सेवन तथा ओसारपसार भइरहेको प्रजिअ थापाले बताउनुभयो । जिल्लामा दबाब समिति गठन गर्ने, लागुऔषध ओसारपसार र सेवन गर्ने क्षेत्रको पहिचान गर्ने र गाउँबस्तीदेखि विद्यालयस्तरसम्म सचेतनाका क्रियाकलाप अघि बढाउने तयारी भइरहेको जिप्रकाले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्