नेपोलीसँग बार्सिलोनाबारे सोच्ने समय छैन – Janadesh Daily | ePaper

नेपोलीसँग बार्सिलोनाबारे सोच्ने समय छैन


एजेन्सी यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा क्याटलान क्लब बार्सिलोना र नेपोलीबीच अगस्ट दोस्रो साता खेल हुँदैछ । तर नेपोलीका प्रशिक्षक जेनारो गाटुसोले हाल बार्सिलोनाबारे सोच्ने समय नभएको बताएका छन् ।

इटालियन सिरी ए अन्तर्गत बुधबारको खेलमा नेपोली पार्मासँग २-१ ले पराजित हुन पुग्यो । लगातार ५ खेल अपराजित रहेको नेपोलीले च्याम्पियन्स लिगमा खेल्न बाँकी रहेपनि लिगको स्थानका आधारमा अर्को सिजन छनोट हुने सम्भावना भने सकिएको छ । अब नेपोलीले च्याम्पियन्स लिग उपाधि जितेमात्र अर्को वर्ष च्याम्पियन्स लिग खेल्नेछ । यद्यपि टोलीले लिग स्थानका आधारमा युरोपा लिगमा स्थान बनाउन भने कसरत जारी राखेको छ ।

लिगको तीन चरणको खेल बाँकी रहँदा नेपोलीले अधिकतम पाँचौ स्थानसम्म रहेर लिग समाप्त गर्न सक्छ । हाल नेपोली ३५ खेलमा ५६ अंकसहित सातौं स्थानमा रहेको छ । समान खेल खेलेको रोमा ६१ अंक सहित पाँचौ स्थानमा छ भने एसी मिलान ५९ अंकसहित छैटौं स्थानमा छ ।

प्रशिक्षक गाटुसोले पार्माविरुद्ध हारपछि अहिले नै बार्सिलोनाबारे सोच्ने अवस्था नरहेको प्रष्ट पारेका हुन् । उनले हाल घरेलु लिगको नतिजालाई नै प्राथमिकता दिन खेलाडीलाई भनेका छन् । नेपोलीको डिफेन्स पछिल्लो समय अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकिरहेको छैन ।

‘ हामी अहिले नै बार्सिलोनाबारे सोच्न सक्दैनौं । हामी धेरै गोल खाइरहेका छौं,’ गाटुसोले भने, ‘हामी विपक्षी टोलीको क्षेत्रमा धेरै समय बिताउँछौं भन्दैमा हामी  उत्कृष्ट छौं भन्ने अवस्था छैन । रक्षात्मक रुपमा पनि हामी बलियो हुन आवश्यक छ ।’

‘तथ्यांक हेरेर मात्र पनि हामीले गोल खाएको देख्न सक्छौं । जब विपक्षी टोलीले अवसर सिर्जना गर्छ हामी समस्यामा पर्छौं । यसको दोष हाम्रो डिफेन्स मात्र नभएर पुरै टोलीले लिनुपर्छ ।’

नेपोलीले अब लिगको ३ खेल बाँकी रहँदा शीर्ष ८ भित्रका प्रतिद्वन्द्वीसँग खेल बाँकी छ । शनिबार सासुओलोको सामना गर्ने तयारीमा रहेको नेपोलीले त्यसपछि इन्टर मिलान र लाजियोसँग खेल्नेछ । सासुओलो आठौं स्थानमा रहँदा इन्टर र लाजियो लिगको शीर्ष ४ स्थानमा रहने लगभग पक्का भएको छ ।

नेपोली र बार्सिलोनाबीच च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । दोस्रो लेग बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । उक्त खेलमा नेपोलीले कम्तिमा एक गोल गरेमात्र अगाडी बढ्ने सम्भावना रहन्छ । गोलरहित बराबरीले बार्सिलोनालाई फाइदा पुग्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्