उडीनेजेले युभेन्टसलाई हरायो – Janadesh Daily | ePaper

उडीनेजेले युभेन्टसलाई हरायो


एजेन्सी इटालियन सिरी ए अन्तर्गत बिहीबार राती भएको खेलमा घरेलु टोली उडिनेजेले लिगको शीर्षस्थानमा रहेको युभेन्टसलाई २-१ ले पराजित गरेको छ ।

अंक तालिकामा रेलिगेसन क्षेत्रनजिक रहेको उडिनेजेविरुद्ध पहिलो हाफमै अग्रता लिएपनि युभेन्टसले जित दर्ता गर्न सकेन । यस खेलमा जित हासिल गरेको भए युभेन्टस लगातार नवौं पटक लिग च्याम्पियन बन्ने थियो । तर दोस्रो हाफमा घरेलु टोलीले उत्कृष्ट पुनरागमन गरेपछि युभेन्टस स्तब्ध बन्यो ।

खेलको ४२ औं मिनेटमा युभेन्टसले अग्रता लिएको थियो । डिफेन्डर म्याथिस डे लिग्टले गोल गर्दै पाहुना टोलीलाई उपाधिनजिक पुर्याएका थिए । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार डिफेन्डरको बीचबाट छिर्दै गोलरक्षकलाई बिट गर्न सफल भएको थियो ।

दोस्रो हाफको सुरुवातमै घरेलु टोलीले गोल गर्दै खेलमा फर्कने संकेत दियो । केन सेमाको क्रसमा इलिजा नेस्त्रोरोभ्सकीले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफको इन्ज्युरी समयमा सेको फोफानाले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई स्तब्ध पारे । उनले रोड्रीगो बेचाओको पासलाई मैदानको मध्यभागबाट अगाडी बढाउँदै सानदार गोल गरेका थिए ।

यस हारका बाबजुद युभेन्टसले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । युभेन्टसको ३५ खेलमा ८० अंक छ भने दोस्रो स्थानको एटलान्टाको ३५ खेलमा ७४ अंक रहेको छ । लिगमा ३ खेल बाँकी रहँदा अब युभेन्टसलाई उपाधि जित्न ३ अंक आवश्यक छ ।

यता उडीनेजेले यस जितसँगै रेलिगेसनको डरलाई केहि हदसम्म साम्य पारेको छ । टोलीको ३५ खेलमा ३९ अंक रहेको छ । १५ औं स्थाको उडीनेजे १८ औं स्थानको लेच्चेभन्दा ७ अंकले अगाडि छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्