फुट् उन्मुख एमालेमा एमसिसीको मुद्दा फेरि पेचिलो भीम रावलले भने ‘ओली देशघाती’ – Janadesh Daily | ePaper

फुट् उन्मुख एमालेमा एमसिसीको मुद्दा फेरि पेचिलो भीम रावलले भने ‘ओली देशघाती’


जनादेश वाच ।

विवादमा रहेको अमेरिकी सहयोग परियोजना एमसिसीको विषयले एमाले फुटमा सघाउने संकेत देखिएको छ । एमालेका नेताहरुले नै एमसिसीबारे जुहारी गर्न थालेपछि यस्तो संकेत देखिएको हो ।

सोमबारमात्र नेकपा एमालेका सांसद खगराज अधिकारीले एमसीसीलाई कतिवर्षसम्म थन्क्याएर राख्ने भन्दै सभामुखलाई प्रश्न गरेका थिए । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता अधिकारीले भने, “कांग्रेस र माओवादीको पालामा सम्झौता भएको एमसीसी अहिले सभामुख समक्ष पुगेको छ, तीन÷चार वर्ष कति वर्ष थन्काएर राख्ने हो ।”

एमसीसीलाई संसदमा बहसको विषय बनाउनुपर्ने उनले बताए।

सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एमसीसीको प्रस्ताव संसद्‍मा रोकेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । राष्ट्रिय सभामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।

‘प्रतिनिधि सभालाई बन्धक बनाइएको छ। पहिलो दिन पेस गर्नुपर्ने अध्यादेश सभामुखले पेस गर्न दिनुभएन। एमसिसीमा निर्णय गर्न संसद्‍मा प्रस्तुत गरेका छौँ। सभामुखले निर्णयार्थ पेस गर्नुहुन्न,’ सभामुख सापकोटामाथि प्रधानमन्त्री ओलीले आक्रोश पोखे, ‘सभामुखको कुनै मर्यादा हुँदैन? सरकारले पेस गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई हुन्छ? उहाँहरूलाई कानुनको मतलब छैन।’

तर नेकपा एमालेकै नेता भीम रावलले भने एमसीसीको प्रसंगमा आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गर्दै ‘देशघाती’को संज्ञा दिएका छन्।

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा सभामुखलाई एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रश्न गरेको भन्दै राष्ट्रलाई असर पार्ने कुनै पनि काम रोक्ने अधिकार हरेक देशभक्ति नागरिकको कर्तव्य भएको टिप्पणी गरेका हुन्।

बरु त्यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुने भन्दै नेता रावलले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका छन्।

‘सभामुखले एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रम केपीले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउनु भएको रहेछ,’ नेता रावलले सोमबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशहित विरोधी कुनै पनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो। यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुन्छ।’

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्