नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते – Janadesh Daily | ePaper

नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते


त्रिशूली । नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मङ्गलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार प्रहरी चौकी देवीघाटले नियन्त्रणमा लिएको लु२ख १९२३ नं.को ट्रक र त्यसको चालक नरबहादुर थामामगरलाई कुटपिट गर्न खोजेपछि उनीहरुलाई बचाउने क्रममा प्रहरीमाथि आक्रमण गर्दै चौकी तोडफोड गरिएको हो ।

लिखु गाउँपालिका–५ बाट गएका करीब २५ जनाको समूहमा रहेका व्यक्तिले चौकीमा ढुङ्गा प्रहार गर्दा दुई प्रहरीको टाउकामा गम्भीर चोट लागेको छ भने चौकीको ढोका, ऐनालगायतका सामग्रीमा क्षति पुगेको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहानसम्म ११ जनालाई पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान अघि बढाएको जनाएको छ ।

ट्रकले ठक्कर दिएका ती दुई यात्री सामान्य घाइते रहेका छन् भने ट्रकका चालक उदयपुरका नरबहादुर रानामगर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्