जनादेश अपडेट ।
नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीका निर्णयविरुद्ध अदालत जाने चेतावनी दिएको छ ।
माधव नेपाल पक्षीय नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने चेतावनी दिएकी हुन् ।
पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरू मङ्गलवार काठमाण्डौको बानेश्वरमा आकस्मिक रूपमा भेला भइ छलफल गरेको थियो ।
छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधानिक तरिकाले बसेको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएको र त्यहीअनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानुनी लडाइँ लड्ने बताइन् ।
पार्टीबाट सांसद पद हट्ने गरी कारबाही गरिए के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै नेतृ झाँक्रीले अदालतमा जाने बताइन् ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै झाँक्रीले आफूहरूमाथि कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने बताइन् । उनले भनिन्, ‘हामी संसदीय दलभित्र लड्छौँ, अदालतसम्म पुग्छौँ, किनभने प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा पनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेजी गराएको हो नि त ।’
नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानुन र संविधानअनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यत्तिगत तवरबाट जवाफ पठाउने बताएकी छिन् । ‘यो कुनै स्पष्टीकरण दिन लायक स्पष्टीकरण होइन । तर स्पष्टीकरण दिएनौँ भने हामीले आफ्नो प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण कानुनतः, संविधानतः हामीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ’, झाँक्रीले भनिन् ।
नेतृ झाँक्रीले आफूहरूले २०७५ जेठ ३ गते अगाडिको नेकपा एमालेलाई चिन्ने तर गएकाे फागुन २८ गते थपिएका जम्बोरी मान्छेसहितको नेकपा एमाले नचिन्ने पनि तर्क पनि गरेकी छिन् । ‘हामी फागुन २८ गते थपेका जम्बोरी मान्छेसहितको बैठकै चिन्दैनौँ नि । त्यो नेकपा एमाले चिन्दैनौँ । हामीले २०७५ जेठ २ गते अगाडि, ३ गतेको एकताअघिकाे एमाले, त्यसका पदाधिकारी, त्यसका कमिटी, देशभरिको संरचना, जनसङ्गठनलाई चिन्छौँ र त्यसको बैठक बस्यो भने हामी जान्छौँ । त्योभन्दा यताको हामीलाई अमान्य हुन्छ’, उनले चेतावनीको भाषामा भनिन् ।
नेतृ झाँक्रीले नयाँ दल गठन गर्ने आफूहरूको कुनै मनसाय नरहेको पनि स्पष्ट पारेकी छिन् । दल गठन गरेको भन्ने हो भने दलको संरचना हुनुपर्ने, दलको नाम हुनुपर्ने र दर्ता भएको हुनुपर्ने कुरालाई पार्टी अध्यक्ष ओलीले ख्याल गरेको हुनुपर्ने पनि उनले बताइन् ।