चीनका आलोचक र शक्तिशाली भारतीय रक्षा अधिकारी काठमाडौं आउने तय – Janadesh Daily | ePaper

चीनका आलोचक र शक्तिशाली भारतीय रक्षा अधिकारी काठमाडौं आउने तय


जनादेश अपडेट ।

चीनका कटु आलोचक मानिने भारतको थल, जल र वायु सेनालाई कमान्ड गर्ने रक्षा अध्यक्ष जनरल विपिन रावत नेपाल आउने भएका छन् ।

भ्रमणको साइत निश्‍चित गर्न दुवै मुलुकका सेनाले आवश्यक तयारी गरिरहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । नेपाली सेनाको आग्रहमा रक्षा मन्त्रालयले रावतको भ्रमणको निम्ताका लागि मन्त्रिपरिषद्को स्वीकृति लिएको थियो ।

२०१९ डिसेम्बरयता भारतको थल, जल र वायु सेनाको संयुक्त कमान्ड गर्दै आएका रावत भारतीय रक्षा मामिलामा सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छन् । रावत स्थल सेनाध्यक्षबाट सेवा निवृत्त हुने समयमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक त्यस किसिमको पद सिर्जना गरेका थिए ।

 

रावतले यसअघि स्थल सेनाध्यक्षका रूपमा दुई पटक नेपाल भ्रमण गरिसकेका छन् । रावतलाई २०७३ चैत १६ मा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन । त्यस्तै, नेपाली सेना दिवस २०७४ फागुन १ को कार्यक्रममा विशेष अतिथिका रूपमा पनि उनी सहभागी थिए ।

नरेन्द्र मोदीका विश्वास पात्र 
उनी प्रधानमन्त्री मोदीको पार्टी निकटका जनरल मानिन्छन् । उनलाई बीजेपी र मोदी सरकारलाई फाइदा पुग्ने किसिमले वक्तव्य दिएको आरोप पनि लाग्दै आएको छ । सन् २०१९ को अन्त्यमा भारतमा भएको नागरिकता विधेयक विरोधी आन्दोलनमाथिको उनको अभिव्यक्ति विवादित रह्यो । विद्यार्थीहरूलाई गलत सूचना दिएर आन्दोलनमा सहभागी गराइएको उनको आरोप थियो ।

रावत यतिबेला रक्षा मन्त्री र रक्षा सल्लाहकार अजित डोवलभन्दा पनि मोदीको निकट भएर काम गर्ने व्यक्तिका रूपमा परिचित छन् । विपिन गोरखा राइफलका व्यक्ति हुन् भने चीनको कटु आलोचक पनि । हाल नेपालको सरकार चीनको कित्ता छोडेर भारततर्फ लहसीयको आरोप लाग्ने गरेको छ । केपी ओली नेतृत्वको सरकारसँग सम्बन्ध विस्तारमा भारतले उनलाई अघि बढाएको हुनसक्ने विश्लेषकहरुको बुझाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्