चौतर्फी विरोध र एमालेकै १५ नेताले जवाफ मागेपछि मध्यरातमा महतोको प्रष्टिकरण विज्ञप्ति – Janadesh Daily | ePaper

चौतर्फी विरोध र एमालेकै १५ नेताले जवाफ मागेपछि मध्यरातमा महतोको प्रष्टिकरण विज्ञप्ति


जनादेश अपडेट ।

नवनिर्वाचित उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको जनाएका छन्।

आफ्नो विवादास्पद अभिव्यक्तिले आलोचित भएका महतोले चौतर्फी आलोचना भएपछि महतोले शनिबार राति एक विज्ञप्ति जारी गर्दै अभिव्यक्ति सच्याएका हुन्।

शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनी स्पष्ट पारेका छन् ।

‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समुदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, महतोद्वारा जारीे विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो अभिव्यक्तिलाई गलतरुपमा प्रचार गरिएकाे दावीसमेत उनले गरेका छन्। विवादास्पद अभिव्यक्ति दिने उनलाई मन्त्रीबाट हटाउनुपर्ने मागसमेत उठेको थियो भने विद्यार्थीको एक समूहले उनको पुतलासमेत दहन गरेको थियो ।

महतोले नेपाल बहुल राज्य हुनु पर्ने भनेर दिएको अभिव्यक्तिको एमालेभित्रैबाट विरोध भएको थियो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसहित १५ जना स्थायी कमिती सदस्यले शनिबार साँझ प्रेस विज्ञप्ति प्रकाशित गरी महतोको अभिव्यक्ति राष्ट्रिय हित र अखण्डता बिरोधी रहेको भन्दै त्यसको निन्दा गरेको थियो ।

‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानासाथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित व्यवस्थाको विरुद्धमा छ।’

मन्त्री महतोको अभिव्यक्ति कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य नहुने भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौँ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्