विभाजित मनोविज्ञान नेकपाको पार्टी एकतामा तगारो – Janadesh Daily | ePaper

विभाजित मनोविज्ञान नेकपाको पार्टी एकतामा तगारो


जनादेश, काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मनोविज्ञान माथिदेखि तलसम्म विभाजित भैसकेको छ । दुई अध्यक्ष र शीर्षनेता एकथरी बालुवाटार र अर्काथरी खुमलटार बस्दै आएका छन् । उनीहरुको पार्टी हेडक्वाटर भिन्दाभिन्दै भएसँगै कार्यकर्ता पनि विभाजित हुन पुगेका छन् । आआफ्ना मानिससँगको भेटमा एकले अर्कालाई दोष लगाउने र उछित्तो काढ्ने गरिरहेका छन् ।

प्रम ओलीले मलाई सुकुम्बासीजस्तै व्यवहार गरे भन्दै बारम्बार अभिव्यक्ति दिएका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफुपक्षधर सुदूरपश्चिम प्रदेश कमिटीका नेताहरूसँग छलफल गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुक र पार्टी सङ्कटपुर्ण अवस्थामा धकेलिएको बताएका छन् । शुक्रबार दाहालनिवास खुमलटार पुगेका नेकपाका सुदूरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, मुख्यमन्त्री त्रिलोचल भट्ट, केन्द्रीय सदस्य तथा खानेपानीमन्त्री विना मगर, शरदसिंह भण्डारी, रेणु चन्दसहितका कार्यकर्ताको भेटघाटमा उनले यसो बताएका हुन् ।

‘डेरावालले घरबेटी लखेट्ने’, ‘भैंसी किनेपछि जुम्रा त्यसै आइहाल्ने’, ‘कतै शरण नपाएकालाई शरण दिइएको’, ‘औंलो दिंदा डुँडुलो निल्ने’ आदि दुर्वचन आफुले सहँदै आएको भन्दै दाहालले आफुले कम्युनिस्ट आन्दोलनलाई एक ठाउँमा ल्याउन, सबल र सुदृढ बनाउन पार्टी एकता गरेको बताएका थिए । तर अर्का अध्यक्ष ओलीले आफुहरुलाई हिंजोको माओवादी केन्द्रकै दृष्टिले हेर्ने र तदनुरुप व्यवहार गर्ने गरिरहेको दुखेसो पनि पोखेका थिए ।

पार्टी एकढिक्का रहिराखोस् भनेर आफुले सहमतिबाट पछि हटेर, समझदारीका लागि ओलीलाई पाँच वर्ष सरकार चलाउन, आफुले पार्टी चलाउन नयाँ सहमति गरेको कुराकानीका क्रममा बताएका थिए । सुदूरका नेता–कार्यकर्तासँग दाहालले भनेका थिए, यही सदाशयतालाई ओलीले कमजोरीका रुपमा लिएपछि उनको स्वेच्छाचारितालाई टुलुटुल हेर्न विवश भएको गुनासासमेत व्यक्त गरेका थिए ।

कुराकानीका अन्तिममा प्रचण्डले पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिने बताएका थिए । पार्टी अध्यक्ष ओलीले विभाजनको तयारी गरिसकेको भए पनि अहिले, पेलान, उत्पीडनमा परेकाहरू एकजुट भएको (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल समूहको गठबन्धनका रूपमा), सबैले प्रयास गरेर दुर्घटनाको बाटोमा जान नदिने प्रयास गरिरहेको र पछिल्लो संवाद त्यसैमा केन्द्रित रहेको प्रचण्डले बताएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्