कांग्रेसमा तीन नेता पार्टीबाट निष्कासित, पूर्वमन्त्री सुनीलबहादुर थापा सहित राप्रपाका २७ नेताले राजीनामा दिए – Janadesh Daily | ePaper

कांग्रेसमा तीन नेता पार्टीबाट निष्कासित, पूर्वमन्त्री सुनीलबहादुर थापा सहित राप्रपाका २७ नेताले राजीनामा दिए


जनादेश संवाददाता,

नेपाली कांग्रेस पाैडेल समूहका ...
काठमाण्डौ । नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी सहित तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । २०७६ फागुन १९ गते बसेको बैठकले स्पष्टीकरण सोधेको थियो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुत प्रमाण अडियो/भिडियो पार्टी विधान विपरीत रहेको भन्दै कारबाही गरिएको नेपाली कांग्रेसले हिजो जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जोशीले प्रतिनिधिसभा सदस्यको चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिनुभएको थियो । तर उहाँको उम्मेदवारी खारेज भएको थियो ।

राप्रपाका २७ नेताले दिए राजीनामा

पूर्वमन्त्री सुनीलबहादुर थापा सहित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका २७ नेता/कार्यकर्ताले संयुक्त रुपमा राजीनामा दिएका छन् । पार्टीका अध्यक्षत्रयलाई हिजो पत्र लेख्दै सुनील बहादुर थापा सहित २७ जनाले राजीनामा दिएका हुन् ।

राप्रपाबाट संयुक्त राजीनामा दिनेहरुमा सुनीलबहादुर थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रबहादुर घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ रहेका छन् ।

त्यसैगरी चतुरमान विश्वकर्मा, राम पदारथ साह, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराई, डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा र हरेन्द्रप्रसाद यादव रहेका छन् । यस्तै रुपनारायण यादव, भिखारीलाल यादव, महेन्द्र बस्नेत, गोपी ठकुरी, डोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे र ध्रुब थापाले पनि पार्टी परित्याग गरेका छन् ।

धनकुटा जिल्ला अध्यक्ष लक्ष्मी शुब्बा सहित कार्यसमिति, नगर, गाउँ तथा क्षेत्रीय इकाइ समितिका सम्पूर्ण सदस्यहरुले पार्टी परित्याग गरेको विज्ञप्तीमा उल्लेख छ ।

राप्रपाले पार्टीका संस्थापक अध्यक्ष स्वर्गीय सूर्यबहादुर थापाको उदार प्रजातान्त्रिक दृष्टिकोण एवं परिवर्तनलाई आत्मसात् गर्ने नीति परित्याग गरेर गणतन्त्रविरोधी नीति अवलम्बन गरेका कारण पार्टीबाट अलग भएको संयुक्त राजीनामा पत्रमा उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्