ओली गुटको अन्तिम रणनीतिः माधव नेपाल गुट फुटाएर नेता तान्ने तर नेपाललाई पार्टीमा रहनै नदिने – Janadesh Daily | ePaper

ओली गुटको अन्तिम रणनीतिः माधव नेपाल गुट फुटाएर नेता तान्ने तर नेपाललाई पार्टीमा रहनै नदिने


जनादेश वाच ।
नेकपा एमालेको संस्थापन मानिएको अध्यक्ष केपी ओलीको समूहले अब वरिष्ठ नेता माधव नेपाल कुनै हालतमा पार्टीमा नरहने दृढ निष्कर्ष निकालेको छ । सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको बैठकमा अध्यक्ष ओलीले झण्डै एक घण्टा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओली ‘माधव नेपालसँग कुनै हालतमा एकता हुन्न’ भन्ने मुडमा प्रस्तुत भएका थिए ।

आफ्नै सांसदहरुले देउवालाई समर्थन दिएका कारण पदच्युत हुनु परेको निष्कर्षमा पुगेका ओलीले बालुवाटारबाट बालकोट पुगेपछि माधव नेपाललाई गद्दार घोषणा गरे ।

नेता नेपाल नेपाली कम्युनिष्ट आन्दोलनकै गद्दार भएको दोहोर्‍याएका ओलीले अघि भनेका छन्, ‘अरु साथीहरु आत्मालोचना गरेर कमजोरी स्वीकार गर्दा हुन्छ, तर माधव नेपालले जे गरे पनि ठाउँ छैन ।’

आक्रोशित मुद्रामा प्रस्तुत ओली नेता नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरु प्रेम आले र कृष्णकुमार श्रेष्ठमाथि आक्रोश पोखेका थिए ।

उनले आइतवार संसदमा भएको घटनालाई असाधारण र चरम अनैतिक संज्ञा दिँदै भने। ‘हिजो संसदमा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका केही सांसदहरुको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो। यो कुरा हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो।’

माधव नेपाल समूह फुटाउने रणनीति !
ओलीले माधव नेपाललाई छाडेर एमाले पार्टीलाई अघि बढाउन प्रयास गर्ने प्रष्ट संकेत गरेका छन् । जस्तो, पार्टी एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमतिलाई अनुमोदन गराएका उनले यो बैठकलाई दशौं केन्द्रीय कमिटी भनेका छन् ।

एक नेताका अनुसार माधव नेपाल समूहमा देखिएको मतभेद बुझेपछि ओलीले उनीबाहेकका नेतालाई एकतावद्ध गरेर अघि बढ्ने रणनीतिमा लागेका हुन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेता नेपालको निर्णयमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष भीम रावलले आइतबार मात्र प्रतिनिधिसभा सदस्यबाटै राजीनामा दिएका थिए । रावलको यो कदमलाई ओलीले अर्थपूर्ण मानेका छन् ।

एमाले एकताका लागि प्रयासरत र माधव नेपाल समूहमा रहेका उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायतका १० जनाले पनि देउवालाई विश्वासको मत दिनुका साटो संसद बैठक नै छाडेर हिंडेका थिए । यद्यपि उनीहरुबारे ओलीले सोमबारको सम्बोधनमा केही भनेनन् । आत्मालोचना गरेर आए पार्टीमा भूमिका दिन्छौं भनेकाले उनीहरुका लागि ठाउँ राखेको एक नेताले सुनाए ।

माधव नेपाल र एमाले सँगै जान सक्दैनः गोकुल बाँस्कोटा
ओली गुटका प्रभावशाली नेता गोकुल बास्कोटाले माधव नेपाललाई अब पार्टीमा राखिरहन जरुरी नरहेको बताएका छन्। देउवालाई विश्वासको मत दिएपछि अब उनलाई एमालेमा राखिरहन नसकिने दाबी पूर्व मन्त्रीसमेत रहेका बास्कोटाले गरेका हुन्।

बास्कोटाले एमाले र माधव नेपाललाई सँगै हिँडाउनै नसकिने अवस्था आएको पनि तर्क गरेका छन्। उनले एमालेजनले अब अलमलबिना व्यक्ति वा पार्टी एक रोज्नुपर्ने तर्क गरेका छन्।

‘अब एमाले र माधव नेपाललाई न त सँगै हिँडाउन सकिन्छ न त जिताउन नै!’, बास्कोटाले भनेका छन्, ‘माधव जित्दा एमाले नै हार्छ, तर एमाले जित्दा माधव मात्र हार्छन्। तसर्थ, देशभरका एमालेजनले बिनाअलमल व्यक्ति वा पार्टीमध्ये एक रोज्न पर्छ। अर्को विकल्प छैन।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्