एजेन्सी ।
युरोपियन गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोबिलेले ह्याट्रिक पुरा गरेपछि लाजियोले इटालियन सिरी ‘ए’ मा हेलास भेरोनामाथि सानदार जित हात पारेको छ । लाजियोले हेलास भेरोनालाई उसकै मैदानमा ५–१ को फराकिलो हार चखाएको हो ।
लाजियोको फराकिलो जितमा सिरोले ह्याट्रिक गर्नुका साथै सेर्गेज मिलिन्किोभिक साभिक र जोआक्विन कोरेराले गोल गरे । घरेलु टोलीका सोफ्यान अम्राबाटले एक गोल फर्काए । घरेलु मैदानमा भेरोनाले ३८औं मिनेटमा सोफ्यान अम्राबाटको गोलबाट खेलमा अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा सिरो इम्मोबिलेले पेनाल्टीमार्फत गोल गरेपछि लाजियो खेलमा फर्किएको थियो ।
५६औं मिनेटमा सेर्गेजले गोल गर्दै लाजियोलाई खेलमा २–१ को अग्रता दिलाए । ६३औं मिनेटमा कोरेलाले गोल थपेपछि लाजियो फराकिलो जिततर्फ अग्रसर बनेको थियो । त्यसपछिको दुई गोल सिरोको नाममा रह्यो । ८४औं मिनेटमा सिरोले गोल गर्दै लाजियोलाई खेलमा ४–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सिरोले ह्याट्रिक पुरा गर्दै लाजियोलाई ५–१ को सानदार जित दिलाए ।
भेरोनाविरुद्ध ह्याट्रिक पुरा गरेसँगै सिरो युरोपियन गोल्डेन बुटको दौडमा सबैभन्दा अघि उभिएका छन् । उनले यो सिजन सिरी ‘ए’ मा ३४ गोल पुरा गर्दै जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीसँगको गोललाई बराबरी गरेका छन् । युभेन्टसका क्रिस्टियानो रोनाल्डोले ३१ गोल पुर्याएका छन् ।
जितपछि लाजियोले ३६ खेलबाट ७५ अंक जोडेर तेस्रो स्थानको एटलान्टासँगको अंक बराबरी गरेको छ । पराजित भेरोना ४६ अंक जोडेर नवौं स्थानमा छ ।