एजेन्सी ।
ब्राजिलियन मिडफिल्डर आर्थर अर्को सिजन युभेन्टसबाट खेल्ने पक्का भइसकेको छ । यस सिजन च्याम्पियन्स लिग समापन नहुँदासम्म उनी बार्सिलोनाकै खेलाडी रहनेछन् । तर आर्थरले आफू पुन: बार्सिलोनाबाट नखेल्ने अडान राखेका छन् ।
युभेन्टसमा ट्रान्सफर भएपछि प्रशिक्षक किके सेटिनले उनलाई आफ्नो रोजाइमा राखेका छैनन् । टोलीमा रहनुका बाबजुद मैदानमा पर्याप्त समय बिताउन नपाएपछि आर्थर सेटिनसँग निराश छन् । टोलीका अन्य सदस्य एक साता विश्रामपछि क्लब फर्कंदा आर्थर भने उपस्थित रहेका छैनन् ।
क्लबका अन्य सदस्य सोमबार फर्केर कोरोना परिक्षण गराएका छन् । सबै खेलाडीको रिपोर्ट नेगेटिभ पनि आइसकेको छ । तर आर्थरले भने क्लबसमक्ष बाँकी समयको सम्झौता रद्द गर्न आग्रह गरेका छन् । च्याम्पियन्स लिगको समापनसम्म सम्झौता रहेपनि आर्थरले फुकुवा गर्न आग्रह गरेका हुन् ।
क्लबले भने आर्थर अझैपनि बार्सिलोनाको खेलाडी रहेको र सोमबार उपस्थित नरहेकोमा अनुशासनको कारवाही हुने बताएको छ । आर्थरले पुन: आफू बार्सिलोनाको जर्सी लगाउन नचाहेको भनेका छन् । आर्थरले युभेन्टस ट्रान्सफर हुनुअघि क्लबमै रहने इच्छा व्यक्त गरेपनि बार्सिलोनाले उनलाई विक्री गर्ने निर्णय लिएको थियो ।
च्याम्पियन्स लिग समस्या
बार्सिलोनाले नेपोलीविरुद्ध च्याम्पियन्स लिग राउन्ड अफ १६ दोस्रो लेगमा खेल्दैछ । पहिलो लेगमा १-१ को बराबरी खेलेपछि बार्सिलोना केहि दबाबमा छ । मिडफिल्डमा फ्रेन्की डे जोङ, सर्जी रोबर्टो र रिकी पुज सुरुवाती रोजाईका लागि प्रतिस्पर्धामा छन् । आर्थर टोलीमा रहेपनि पहिलो रोजाईमा खेल्नेमा भने शंका रहेको छ ।