एजेन्सी ।
यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेगमा म्यानचेस्टर सिटीविरुद्ध खेलको तयारीमा रहेको स्पेनी रियल म्याड्रिडका फरवार्ड मरियानो डियाजमा कोरोना संक्रमण देखिएको छ ।
सोमबार भएको कोरोना परिक्षणमा नतिजा पोजेटिभ आएपछि मरियानो टोलीबाट छुट्टै रहेर घरमै आइसोलेसनमा बस्न थालेका छन् । उनले अब २४ घण्टाको अन्तरमा लगातार दुई पटक कोरोना नेगेटिभ नआउँदासम्म आइसोलेसनमा नै बस्नुपर्ने छ । टोलीका अन्य खेलाडीमा भने संक्रमण देखिएको छैन ।
रियल म्याड्रिडले गत साता ला लिगा उपाधि जितेपछि सबै खेलाडीलाई एक साता विश्राम दिइएको थियो । सोमबार सबै खेलाडी प्रशिक्षण मैदान भाल्देबासमा फर्केपछि गरिएको परिक्षणमा मारियानोको नतिजा मात्र पोजेटिभ आएको थियो । खेलाडीसँगै प्रशिक्षण टोली र मिडियाका सदस्यले पनि परिक्षण गराएका थिए ।
मरियानोले अब अगस्ट ७ मा हुने दोस्रो लेगको खेल गुमाउने लगभग पक्काजस्तो देखिएको छ । उनले अब कोरोना परिक्षणमा नेगेटिभ आएपछि प्रशिक्षणमा सामेल हुँदा टोलीको योजनमा सामेल हुने सम्भावना कम छ । उनले रियल अगाडि बढेको खण्डमा भने अन्य चरणमा सहभागिता जनाउन सक्नेछन् ।