काँग्रेस अनुशासन समितिको कार्यमाथि नेता पौडेलको प्रश्न – Janadesh Daily | ePaper

काँग्रेस अनुशासन समितिको कार्यमाथि नेता पौडेलको प्रश्न


काठमाडौँ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारवाही गरेको जनाउँदै समितिको कार्यमाथि प्रश्न उठाउनुभएको हो ।

नेता पौडेलले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ उम्मेदवार र प्रस्तावक–समर्थकलाई विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निष्काशन गर्दा तनहूँ क्षेत्र नं १ का बागी उम्मेदवारलाई कारवाही नगरेकामा असन्तुष्टिसमेत जनाउनुभएको छ ।

उहाँले तनहुँ क्षेत्र नं १ मा बागी उमेदवारी दर्ता गरेका गोविन्दराज जोशीसँग जोडेर सांसदको उम्मेदवारी खोसिएका कैलालीका पुष्करनाथ ओझालाई स्पष्ट आधार र कारणविना बागी उम्मेदवारलाई सघाएको भनेर विधानको दफा ३४ बमोजिम पाँच वर्षका लागि पार्टीबाट निष्कासनको कारवाही गर्नाले समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्नुभएको छ ।

शनिबार बसेको समिति बैठकले तनहँु निवासी पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री जोशी र कैलाली निवासी पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य ओझालाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । सोही बैठकले डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णयसमेत गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्