वीरगञ्जमा कोरोना सङ्क्रमणको त्रासः चिकित्सकसहितको विज्ञ टोली पठाउन माग    – Janadesh Daily | ePaper

वीरगञ्जमा कोरोना सङ्क्रमणको त्रासः चिकित्सकसहितको विज्ञ टोली पठाउन माग   


वीरेन्द्र कर्ण    

वीरगञ्ज । पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका समाजसेवी तथा राजनीति दलका प्रतिनिधिले चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन अत्यधिक बढ्दै गइरहेकामा गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरुले विज्ञ टोलीमार्फत सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको व्यवस्थापन गरी दिन सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेका छन् ।

पर्सा र बारामा बुधबार मात्रै चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेनालगायत ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज बसेको जिल्लाका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षलगायत प्रदेश सांसद, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष र सामाजिक अभियन्तासहितको सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गर्दै यस्तो माग गरेको छ ।

निर्णयको पहिलो बुँदामै कोरोना महामारी नियन्त्रण गर्नका लागि विज्ञ टोली वीरगञ्ज पठाउन माग गरिएको जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताउनुभयो ।

वीरगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि अहिले १०० भन्दाबढी सङ्क्रमित घरकै आइसोलेशनमा रहेका छन् । पचास श्ययाको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ६० जनाभन्दा बढी सङ्क्रमितलाई राखिएको छ । लक्षणसहितका सङ्क्रमित बढी देखिएकाले अवस्था जटिल बन्दै गएको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

बैठकले अरु पनि निजी अस्पताललाई लिएर कोभिड अस्पताल बनाउन सङ्घीय सरकारसँग माग गरेको छ । बैठकले नारायणी अस्पतालको बन्द रहेको सेवालाई सुरक्षा अपनाएर सञ्चालन गर्नुपर्ने, वीरगञ्जमा विद्युतीय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको छ ।

कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शवदाहमा समस्या देखिएकाले शवदाहमा कसैले विरोध नगरिदिन बैठकले सबैमा अनुरोध गरेको छ ।

वीरगञ्ज कारागार सिल   
वीरगञ्ज कारागारमा एक महिलासहित आठ जनामा कोरोना सङ्क्रमण भेटिएपछि कारागार सिल गरिएको कारागार प्रमुख ९जेलर० श्रवणकुमार पोखरेलले बताएकाछन् ।

सङ्क्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेशन कक्ष ९उपचार केन्द्र० मा तथा कर्मचारीलाई समता स्कुलमा स्थापना गरिएको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।

एक जना महिला कैदीबन्दीलाई उनकै कोठामा आइसोलेशन बनाएर उपचार भइरहेको जनाइएको छ । अहिले कारागारभित्र प्रशासनिक काम बाहेक सबै काम बन्द रहेको छ । कारागारभित्र कोरोनाको उच्च जोखिम बढेपछि कैदीबन्दीहरुको सम्पर्कमा आएको उनका आफन्तको स्वाब परीक्षण गर्न उनीहरुको खोजी भइरहेको कारागार प्रशासनले जनाएको छ ।

हाल कारागारमा महिला पुरुष तथा आश्रित बालबालिका गरी एक हजार २१४ कैदीबन्दी छन् । ती कैदीबन्दीलाई अहिले अदालतमा उपस्थित गराउने काम बन्द रहेको जनाइएको छ । कारागारमा सबैभन्दा बढी भारतीय कैदीबन्दी भएकाले भारतीय कैदीबन्दीलाई भेट्न आउँदा कोरोना सङ्क्रमण सर्न सक्ने आशङ्का कारागार प्रशासनले गरेको छ ।

कारागारमा भारतीय कैदीबन्दी बढी रहेको र भारततर्फ कोरोना सङ्क्रमण बढी देखिएकाले कारागार अहिले कोभिड–१९ को उच्च जोखिममा रहेको छ । यसलाई दृष्टिगत गरेर कैदीबन्दीको आफन्तले ल्याउने कोसेली कारागारका कर्मचारीले पु¥याउने काम बन्द गरिएको छ ।

कारागारमा कोरोना सङ्क्रमित भेटिएपछि अन्य कैदीबन्दीलाई सङ्क्रमण नपरोस् भनेर कारागार प्रशासनले कारागार सिल तथा भेटघाट बन्द गरिएको छ । रासस

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्