एमसिसी अनुमोदनमा ढिलाइ गरिएकोप्रति मुख्यालयको घुमाउरो असन्तुष्टि – Janadesh Daily | ePaper

एमसिसी अनुमोदनमा ढिलाइ गरिएकोप्रति मुख्यालयको घुमाउरो असन्तुष्टि


जनादेश अपडेट ।

अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी)ले नेपालमा सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेको छ।

संसद्‍बाट अनुमोदन गरी कार्यान्वयन गर्नुपर्ने एमसीसी सम्झौता अनुमोदन नगरी संसद्‍ अधिवेशन अन्त्य भएपछि वासिङ्टन डीसीस्थित एमसीसीको मुख्यालयले चासो व्यक्त गरेको हो।

एमसीसीले शुक्रबार विज्ञप्ति जारी गर्दै सम्झौतालाई अगाडि बढाउने/नबढाउने निर्णय अब नेपालको हातमा रहेको जनाएको छ।

सन् २०१७ मा नेपाल सरकार र एमसीसीबीच ५० करोड अमेरिकी डलर बराबरको परियोजना कार्यान्वयनका लागि सम्झौता भएको थियो। यसअन्तर्गत सडक र विद्युत् प्रसारणलाइनका परियोजना रहेका छन्।

तर, एमसीसीका केही बुँदालाई लिएर राजनीनितिक दलहरु विभाजित हुँदा उक्त सम्झौता संसद्‍बाट अनुमोदन गरेर कार्यान्वयनमा लैजान सकेको छैन। संसद्‍बाट अनुमोदन गराउन नसक्दा उक्त परियोजना कार्यान्वयन हुने सम्भावना न्यून हुँदै गएको छ।

अमेरिकाले भने उक्त सम्झौता कार्यान्वयनका लागि दबाब दिँदै आएको छ। त्यही क्रममा गत भदौमा एमसीसीको कम्प्याक्ट सञ्चालन विभागकी उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा आएकी थिइन्, जुन कुरा एमसीसी मुख्यालयले जारी गरेको विज्ञप्तिमासमेत उल्लेख गरिएको छ। विज्ञप्तिमा सुमारको भ्रमणले सम्झौता कार्यान्वयनको वातावरण बनेको अपेक्षा गरिएको उल्लेख छ।

यद्यपि, एमसीसी कम्प्याक्ट अनुमोदन नगरी संसद् अधिवेशन अन्त्य गरिएकोले दुई करोड ३० लाख नेपालीले भरपर्दो विद्युत् र सुरक्षित सडक सेवा प्राप्त गर्ने अवसर गुम्ने आशङ्‍का बढेको संकेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्