बिमानस्थलमा लफडा गर्ने पर्यटन बोर्डका सिइओको जागिर जाने संकेत, मन्त्रीले सोधे स्ष्टीकरण – Janadesh Daily | ePaper

बिमानस्थलमा लफडा गर्ने पर्यटन बोर्डका सिइओको जागिर जाने संकेत, मन्त्रीले सोधे स्ष्टीकरण


जनादेश वाच ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी (सिइओ) धनञ्जय रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकृतमाथि गरेको हातपातबारे पर्यटनमन्त्री प्रेम आलेले तीनदिने स्पष्टीकरण सोधेका छन्।

उनले सोमबार लन्डनबाट फर्किने क्रममा आफूसँग ६ बोतल रक्सी लिएर आएका थिए।

भन्सार अधिकृतले एक जना व्यक्तिले एक बोतलभन्दा बढी रक्सी ल्याउन नपाउने नियम रहेको बताएपछि प्रमुख कार्यकारी अधिकृतले उनीमाथि हातपात गरेका थिए।

‘विमानस्थलमा के कारणले त्यस्तो घटना भयो भन्नेबारे पर्यटन बोर्डका प्रमुख कार्यकारीसँग स्पष्टीकरण सोधिएको छ,’ पर्यटनमन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले भने, ‘मन्त्रीको निर्देशनमा पर्यटनसचिवले उहाँलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नू भनेर निर्देशन दिनुभएको हो।’

‘स्पष्टीकरण चित्तबुझ्दो नलागे उहाँलाई पदबाट बर्खास्त गरिनेछ भनेर भनिएको छ,’ स्वकीय सचिव रेग्मीले भने।

बोर्डका कार्यकारी अधिकृत रेग्मीसँगै पर्यटनमन्त्री आले पनि सोमबारै लन्डनबाट फर्किएका हुन्।

रेग्मीले भने एयरपोर्टमा भन्सार कर्मचारीसँग सामान्य धकेलाधकेल भएको बताए। उनले आफूले कुटपिट गरेको भन्ने कुरा सत्य नभएको पनि दाबी गरे।

‘हामी ६ जना साथी थियौं, ६ जनाले एक-एकवटा रक्सी ल्याएकै हो तर भन्सार कर्मचारीले असामान्य व्यवहार गरेपछि झोला तानातान भएको हो,’ उनले भने, ‘भन्सार कर्मचारीले विदेशबाट आउने पाहुनालाई सधैं यस्तै खालको व्यवहार गर्ने गरेको छ। दुनियाँलाई हामी नेपाल आऊ भनेर हात जोड्छौं, भन्सार कर्मचारीहरू चाहिँ उनीहरू निरूत्साहित हुने व्यवहार देखाउँछन्। मैले उनीहरूको त्यही व्यवहारको प्रतिवाद गरेको हुँ, मैले त्यहाँका कर्मचारीलाई किन कुटपिट गर्नू?’

बोर्डले पनि विज्ञप्ति जारी गरी कर्मचारीमाथि कुटपिट गरेको भन्नेमा सत्यता नरहेको जनाएको छ। कार्यकारी प्रमुखले मदिरा सेवन गरेको भन्ने विषय पनि गलत र भ्रामक रहेको उसले प्रस्टीकरण दिएको छ। भन्सार कर्मचारीको ढिलासुस्ती र व्यवहारको विषय मात्र रेग्मीले उठाएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्