तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु : अर्थमन्त्री – Janadesh Daily | ePaper

तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु : अर्थमन्त्री


सिन्धुपाल्चोक ।

अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा शर्माले यस्तो बताउनुभएको हो ।

मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताउनुभएको हो । ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’, उहाँले भन्नुभयो, ‘बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउनका लागि कडाइसमेत गरिएको छ ।’

यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अरबौँको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व संकलन लक्ष्यअनुरूप हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजस्व वृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिनुभयो । उहाँले चीन सरकारले ठोस रूपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्ने जोड दिनुभयो । ‘यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उहाँले भन्नुभयो, ‘उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् । त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔँ ।’

तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताउनुभयो ।

नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुग्नुभएका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको समेत निरीक्षण गर्नुभएको थियो । कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ । पछिल्लो समय करिब एक दर्जन मालबाहक सवारी नेपाल भित्रिने गरेका छन् । नाकाबाट अधिकांश तयारी कपडा भित्रिने गरेको तातोपानी भन्सारले जानकारी दिएको छ । त्यस्तै स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, ओखरलगायतका मालवस्तु भित्रिने गरेका छन् ।

सोमबार नाका क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि सभामुख अग्नीप्रसाद सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटालगायत तातोपानी नाका पुग्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्