‘सहकारीको संरचनाले ग्रामीण उद्योगको विकास गर्ने आधार तय भएको छ’ – Janadesh Daily | ePaper

‘सहकारीको संरचनाले ग्रामीण उद्योगको विकास गर्ने आधार तय भएको छ’


पाल्पा ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश देशमा शक्तिशाली हुने आधार रहेको बताउनुभएको छ । उहाँले १२ जिल्लामध्ये छ जिल्ला अन्नभण्डारका रूपमा रहेका र अन्य दुई प्रदेशलाई पाल्न सक्ने क्षमता रहेको बताउनुभएको हो ।

बगनासकाली गाउँपालि–८ स्थित बगनासकाली बहुउद्देश्यी सहकारी संस्थाको भवन उद्घाटन गर्दै उहाँले सहकारीको संरचना प्रयोग गरी ग्रामीण उद्योग विकास गर्ने आधार तय भएको बताउनुभयो । उहाँले सहकारीमार्फत ग्रामीण क्षेत्रमा साना उद्योगको स्थापना गर्न सकिने र ग्रामीण क्षेत्रको आर्थिक चलायमान हुने उल्लेख गर्नुभयो ।

सहकारीका माध्यमबाट ग्रामीण क्षेत्रमा सामाजिक एकता कायम गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन ठूलो सहयोग गरेको मुख्यमन्त्री केसीको भनाइ थियो । विदेश तथा सहरी क्षेत्रमा रहेका युवा जन्मभूमि फर्केर सहकारीका माध्यमबाट स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्ने र त्यसका लागि सरकार लगानी गर्न तयार रहेको उहाँले बताउनुभयो ।

उहाँले प्रदेशभित्रका युवालाई रोजगारी तथा स्वरोजगार सिर्जना गर्न पूँजीको अभाव हुनेलाई दुई प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न प्रदेश विकास बैंक स्थापना गर्ने तयारीमा सरकार रहेको जानकारी गराउनुभयो । उहाँले त्यसका लागि रु ५० करोड बजेटको व्यवस्था गरिएकोसमेत बताउनुभयो । उहाँले प्रदेश बंैक स्थापनाले यस क्षेत्रमा साना तथा ठूला उद्योग विस्तार हुने बताउनुभयो ।

कार्यक्रम लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सहकारीका माध्यमबाट गरिबी तथा बेरोजगारको समस्या समाधान गरी ग्रामीण क्षेत्र उत्पादनमुखी क्षेत्रका रूपमा बदलिएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले देशको आर्थिक क्षेत्रलाई गतिशीत बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारीले आर्थिक कारोबारमात्र होइन, नागरिकका आधारभूत आवश्यकता पूरा गर्न पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले सहकारीमा एक हजार ११० शेयर सदस्य रहेको र सदस्यले कृषि तथा पशुपालनका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्