एजेन्सी ।
साउदी अरेबियाको सार्वभौम धन कोषले इंग्लिस प्रिमियर लिगको न्युक्यासल युनाइटेड खरिद गर्ने प्रक्रियाबाट पछि हटेको छ । साउदीका राजकुमार महमद बिन सलमान प्रमुख रहेको सार्वजनिक लगानी कोष (पीआईएफ) सहित पीसीपी क्यापिटल पार्टनर र रूबेन ब्रदर्श न्युक्यासल खरिद गर्ने प्रक्रियाबाट पछि हटेको हो ।
पीआईएफ, पीसीपी र रूबेन ब्रदर्शले बिहीबार एक विज्ञप्ति जारी गर्दै खरिद प्रकिया फिर्ता लिइएको जानकारी गराएका छन् । ‘न्युक्यासल समुदाय र यस क्लबको महत्वको लागि गहिरो कदर गर्दै न्युक्यासल युनाइटेड खरिद प्रक्रियाबाट हामी फिर्ता हुने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।
टेलिभिजन कम्पनी बिइन स्पोर्ट्स र एम्नेस्टी इन्टरनेसनलले प्रिमियर लिगलाई साउदीको खरिद प्रक्रियालाई स्वीकृति नदिन चेतावनी दिएका थिए । त्यसैले पनि साउदी न्युक्यासल खरिद प्रक्रियाबाट पछि हटेको हुनसक्ने अनुमान गरिएको छ । साउदीलाई पछिल्लो समय ‘स्पोर्ट्सवासिङ’ गरेको आरोप लाग्दै आएको छ ।
स्पोर्ट्सवासिङ भन्नाले कुनैपनि संस्थाले खेलकुदको प्रतियोगिता अथवा टोली खरिद गरेर आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन खोज्नु हो । यद्यपि साउदीका राजकुमार अब्दुलअजिज बिन तुर्की अल फैसलले यस आरोपको खण्डन गरेका थिए ।
साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युक्यासलको स्वामित्व खरिद गर्न क्लबका मालिक माइक एस्लीसँग सम्झौता गरिसकेको सञ्चारमाध्यममा छाएको थियो । साउदीको लगानीसँगै ट्रान्सफर बजारमा न्युक्यासल आक्रामक रुपमा आउने तयारीमा थियो ।