भारतमा आइपुगेको ओमीक्रोनको जोखिम नेपालमा कति? को बढी जोखिममा, के छ रणनीति ! – Janadesh Daily | ePaper

भारतमा आइपुगेको ओमीक्रोनको जोखिम नेपालमा कति? को बढी जोखिममा, के छ रणनीति !


जनादेश वाच ।

छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै नेपालमा जोखिम बढेको छ । यसअघि नेपालमा बेलायतबाट आएका नागरिकहरूले पहिलोपटक नयाँ भेरियन्टको रूपमा अल्फा भेरियन्ट भित्र्याएको भएपनि नेपालमा सबैभन्दा बढी भारतको भेरियन्टले असर गरेको थियो ।

नेपालमा कोभिड–१९ का दुईवटा लहरमा डेल्टा भेरियन्टले सबैभन्दा बढी संक्रमण फैलाएको थियो । जुन भारतबाट भित्रिएको थियो ।

नेपालमा आउला ओमिक्रोन ?
कोभिड–१९ का दुईवटा लहरको अवस्थालाई हेर्दा नेपालमा स्रंक्रमणदर भारतकै दरअनुसार देखिएको थियो । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी भारतमा ४२ प्रतिशतसम्म टेस्ट पोजेटिभिटी दर हुँदा नेपालमा ३५ प्रतिशत पुगेको थियो । भारतमा ओमिक्रोन संक्रमण फैलिएमा नेपालमा पनि केही दिनमा भित्रिनसक्ने सम्भावना रहने बताउँछन् ।

“भारतमा ओमिक्रोनको संक्रमण फैलिएमा नेपालमा आउने निश्चित छ । यदि अहिले दक्षिण अफ्रिकाकै दरमा फैलिने हो भने नेपालमा पहिलेको भन्दा ठुलो लहर नआउला भन्न सकिन्न । तर, यो कति घातक छ भन्ने अनुसन्धानकै विषय भएकाले अहिले नै कति असर गर्छ भन्न चाहीँ सकिँदैन,” डा. सुवेदीले भने ।

को बढी जोखिममा ?
कोभिड–१९ विरुद्धको खोप नलगाएका वर्ग सधैँ संक्रमणको जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन् । ओमिक्रोनले दक्षिण अफ्रिकामा भने युवा वर्गमा धेरै संक्रमण फैलाएको तथ्याङ्क छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन नेपालको हकमा दीर्घरोगी नै ओमिक्रोनको पहिलो जोखिम वर्ग भएको बताउँछन् ।

“संक्रामक भएपनि भेरियन्ट कति घातक छ भन्ने कुराले जोखिम निर्धारण गर्छ । जुन ओमिक्रोनको हकमा अनुसन्धानकै विषय छ । तर, यति भन्न सकिन्छ जोखिमका हिसाबले खोप नलगाउने र दीर्घरोगी कोभिड–१९ का जुनसुकै भेरियन्टको जोखिममा सधैँ हुन्छन्,” उनले भने ।

डा. सुवेदी पनि संक्रमण जुनसुकै उमेर समूहमा भएपनि सिकिस्त हुने हकमा दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू नै पर्ने धारणा राख्छन् ।

ओमिक्रोन भित्रिन नदिन सरकारको तयारी के छ ?
दक्षिण अफ्रिका लगायत विभिन्न देशहरूमा ओम्रिकोन भेरियन्ट देखिएसँगै नेपालले दक्षिण अफ्रिकी नागरिकलाई नेपाल आउन बन्द गरिसकेको छ । ती देशबाट अत्यावश्यक कामका लागि आउने कुटनीतिक तथा सरकारी कर्मचारीलाई पनि १४ दिन अनिवार्य क्वारेन्टिनको व्यवस्था गरिएको छ । त्यस्तै ती देशहरूबाट आउने नेपाली नागरिकका लागि पनि होटेल क्वारेन्टिनको व्यवस्था सरकाले गरेको छ ।

तर, डिसेम्बर १ सम्म ओमिक्रोन २२ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । जसमा पाँचवटा एसियाली राष्ट्रहरू समेत छन् । बिहीबार भारतमा ओमिक्रोन पुष्टि भएसँगै यो संख्या ६ पुगेको छ ।

यी सबै देशहरूबाट आउने व्यक्तिहरूको हकमा के हुने भन्ने सरकारले हालसम्म निर्णय लिन सकेको छैन । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान नेपाली नागरिकलाई पटकपटक आग्रह गरिरहेको छ ।

ओमिक्रोन नेपालमा पत्ता लगाउन सकिन्छ ?
नेपालमा कोभिड–१९ का दुईवटा लहरमा नयाँ भेरियन्ट पत्ता लगाउन संक्रमितका नमुना विश्व स्वास्थ्य संगठनको प्रयोगशाला हङकङ पठाउनुपरेको थियो । तर, पछिल्लो दुई महिनायता नेपालमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नयाँ भेरियन्टको पहिचान गर्दै आएको छ ।

पछिल्लो समय डेल्टापछि कुनैपनि नयाँ भेरियन्ट नेपालमा नदेखिएको प्रयोगशालाकी निर्देशक डा. रुणा झा बताउँछिन् । नयाँ भेरियन्ट पत्ता लगाउन पीसीआर पोजेटिभमा एस जिन नेगेटिभ आएका नमुनाहरूको जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ ।

पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रूपमा जिन सिक्वेन्सिङ परीक्षण गरिरहेको र ओमिक्रोन नेपाल भित्रिए पनि नेपालमा नै परीक्षण र पहिचान गरिने डा. झा को दाबी छ ।

जनुसुकै भेरियन्टको रक्षक जनस्वास्थ्यका मापदण्ड र खोप
कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूमा कोभिड संक्रमण भएपनि सिकिस्त हुने र मृत्यु हुने सम्वना निकै कम भएको तथ्य विभिन्न अध्ययनहरूले देखाइसकेका छन् । जनस्वास्थ्य अनुसन्धानकर्ता डा. समीरमणी दिक्षित ओमिक्रोनबारे पर्याप्त अनुसन्धान भइनसकेको भएपनि यसबाट जोगिन जनस्वास्थ्यका मापदण्ड कडाइँका साथ पालना गर्नु र खोप लगाउनु नै यसबाट जोगिने उपाय भएको बताउँछन् ।

“सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्‍यो । सरकारले बढीभन्दा बढी खोप वितरण गर्नुपर्‍यो जनुसुकै भेरियन्ट आएपनि त्यसबाट जोगिने उपाय यीनै हुन्,” उनले भने । जोखिम वर्गमा परेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई बुस्टर डोज पनि दिएर जोगाउन सकिने डा. दिक्षितको धारणा छ ।

यसअघिका अनुभवलाई हेर्दा भारतमा देखिएको केही समयपछि नै नेपालमा संक्रमण भित्रिने गरेको देखिएकाले सरकारले खोप कार्यक्रमलाई अझै तीव्र बनाउनुपर्नेमा उनको जोड छ । इन्डियन एक्प्रेसकाअनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरूषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको जानकारी दिएको छ ।

६६ र ४६ वर्षीय ती संक्रमितको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

अब दैनिक २ लाख खोप

सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ ।

यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए।

“हामीसँग प्रसस्त्र मात्रामा खोप रहेको छ । अहिले पनि नियमित खोप आइरहेका छन्”, सहप्रवक्ता डा अधिकारीले उनले भने, “खोप लगाउन कोही पनि नछुटुन भनेर जनताको घरदैलोसम्म खोप लगाउने अभियान सञ्चालन गर्नसम्बन्धी जिल्लाका खोप केन्द्रलाई निर्देशन दिइसकेका छौँ ।”

उनले सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पुर्‍याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताए । उनले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइसकेको भन्दै अब स्थानीय तहमा पुगेर नै खोप लगाउन छुटेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । उनका अनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ ।

अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कूल जनसङ्ख्यामध्ये ३३.७ प्रतिशतले पहिलो मात्रा र २८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्