यस्ता हुन्छन् ओमिक्रोन भेरियन्टका लक्षणः सरकारले दिने भनेको बुष्टर डोज खोप कस्ले पाउँछ ! – Janadesh Daily | ePaper

यस्ता हुन्छन् ओमिक्रोन भेरियन्टका लक्षणः सरकारले दिने भनेको बुष्टर डोज खोप कस्ले पाउँछ !


जनादेश हेल्थ डेस्क ।

सरकारले कोभिड-१९ को ओमीक्रोन भेरियन्ट परीक्षणको लागि जिन सिक्वेन्सिङ परीक्षण गर्न थालेको छ । दक्षिण अफ्रिकामा केही दिनअघि देखिएको ओमीक्रोन ३० भन्दा बढी मुलुकमा देखिइसकेको छ ।

हालसम्म नेपालमा ओमीक्रोन देखिएको छैन । सातै प्रदेशबाट स्याम्पल संकलन गरी परीक्षण गरिरहेको राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्रका सूचना अधिकारी राजेश गुप्‍ताले जानकारी दिए ।

मुलुकमै एक महिनादेखि जिन सिक्वेन्सिङ सुरु भइसकेको छ । ‘शंकास्पद व्यक्ति र विदेशबाट आएकाहरूको परीक्षण भइरहेको छ,’ गुप्‍ताले भने । एक सातामा सम्पूर्ण स्याम्पलको परीक्षणको रिजल्ट आउने उनले जानकारी दिए ।

परीक्षण गरिसकेपछि त्यसको रिजल्ट स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउने प्रयोगशालाले जनाएको छ । नेपालमा अल्फा र डेल्टा भेरियन्ट देखिइसकेको छ । स्वास्थ्य मन्त्रालयले पनि हाल सक्रिय रहेका डेल्टा, बीटा, अल्फा र गामा भेरिअन्टबाट ठूलो जोखिम नरहे पनि नयाँ भेरियन्ट आएको अवस्थामा जोखिम हुने सक्ने बताएको छ ।

के हो यसको लक्षण
भारतको केन्द्रीय राजधानी दिल्लीमा ओमिक्रोन संक्रमित भेटिएका छन्। भारतीय अधिकारीहरुका अनुसार संक्रमित व्यक्ति अफ्रिकी मुलुक तान्जानियाबाट फर्किएका थिए। उनी भारत आउनेवितिकै घाँटी दुख्ने, ज्वरो आउने र शरीर दुख्ने लक्षणबाट पीडित भएको बताइएको छ।

एलएनजीपी अस्पतालका डाक्टर सुरेश कुमारका अनुसार संक्रमितको स्वास्थ्य स्थिति स्थिर रहेको छ। ती व्यक्तिमा सुरुवाती लक्षण घाँटी दुख्ने भएको बताइएको छ। त्यसपछि ज्वरो आउने, शरीर दुख्ने र लगत्तै उनको अक्सिजन लेभल घटेको डाक्टर सुरेशको भनाइ छ। ती संक्रमित २४ घन्टा डाक्टरको निगरानीमा रहेका छन्। सरकार पनि सम्भावित घटना हुन नदिन पूर्वतयारी गरेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्।

नेपालमा पनि बुष्टर डोजको तयारी, कसले पाउँछ
सरकारले बुस्टर डोज दिने तयारी गरेसँगै प्राथमिकतासमेत निर्धारण गरेको छ। राष्ट्रिय खोप सल्लाहकार समितिले बुस्टर डोज दिन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लाल अनुसार दुई मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई ‘बुस्टर’ डोज दिइने छ। त्यस्तै दीर्घरोगी पनि प्राथमिकतामा पर्नेछन्।

सरकारले बुस्टर डोज उपलब्ध गराउन सूची तयारी गर्दैछ। सोहीअनुरुप खोप अभियान खघि बढ्ने स्वास्थ्य मन्त्री विरोध खतीवडाले बताए। ‘प्रधानमन्त्रीज्युले बुस्टर डोज उपलब्ध गराउने निर्देशन दिइसक्नुभएको छ। अब प्रक्रिया अघि बढाउँछौं,’ संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले भने। सरकारले हालसम्म करिब ५० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसकेको बताएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्