एजेन्सी ।
उत्कृष्ट पुनरागमनका साथ आर्सनलले एफए जितेको छ । चेल्सीलाई शनिबार २–१ ले हराउँदै आर्सनलले एफए कप जितेको हो । आर्सनलले एएफ कप जितेको यो १४ औं पटक हो ।
वेम्ब्लीमा भएको फाइनलमा चेल्सीले खेलको सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा उपाधिबाट विमुख हुनु परेको थियो । क्रिस्टियन पुलिसिकको गोलमा चेल्सीले पाँचौं मिनेटमै अग्रता लिएको थियो । तर आर्सनलले २८ औं मिनेटमै बराबरी गोल फर्काएको थियो । पिइरी इम्रिक अबामेयाङले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए ।
६८ औं मिनेटमा अबामेयाङले अर्को गोल गर्दै जितको आधार तयार पारेका थिए । चेल्सीले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । मेटेउ कोभाचिचले ७३ औं मिनेटमा दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाड्न परेको थियो ।
आर्सनलपछि म्यानचेस्टर युनाइटेडले १२ पटक एफए कप जितेको थियो । एफए कपको खेलेका सबै तीन फाइनल खेलमा आर्सनलले चेल्सीलाई हराएको थियो । आर्सनलले पछिल्ला १० पटक एफए कप फाइनल खेल्दा ९ पटक उपाधि उचालेको छ ।
प्रशिक्षकका रुपमा एफए कप जिते आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा चौथो स्पेनिस हुन् । त्यसअघि राफल बेनिटेज, रोबेर्टो मार्टिनेज र पेप ग्वार्डिओलाले जितेका थिए । आर्सनलको कप्तान र प्रशिक्षकका रुपमा एफए कप जित्ने आर्टेटा पहिलो व्यक्ति हुन् ।