यो वर्ष खपिनसक्नु जाडो हुने पूर्वसंकेतः अधिकतम र न्यूनतम तापक्रम घट्ने, माघ १५ सम्म सकस – Janadesh Daily | ePaper

यो वर्ष खपिनसक्नु जाडो हुने पूर्वसंकेतः अधिकतम र न्यूनतम तापक्रम घट्ने, माघ १५ सम्म सकस


जनादेश वेदर।

केही दिनयता नेपालभरि तापक्रम घट्ने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्कले देखाउँछ। चिसो निरन्तर बढिरहेकाले महाशाखाले त्यसबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सुझाव दिएको छ।

यद्यपि यो हिउँदमा देशका अधिकांश भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी र न्यूनतम तापक्रम सरदर एवं सरदरभन्दा बढी हुने पूर्वानुमान छ। यो साता देशको अधिकांश भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने भएको छ। पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

साताको शुरुमा देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको औँल्याएको छ।

देशको पहाडी भू-भागमा साताको शुरुमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ तथा बागमती प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा र साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा र एक/दुई स्थानमा असिनाको समेत सम्भावना छ।

देशको तराईका भू-भागमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

माघ १५ सम्मै सकस

जल तथा मौसम विज्ञान विभागस्थित हावापानी विश्लेषण शाखाकी प्रमुख वरिष्ठ मौसमविद्‌ डा. इन्दिरा कँडेलका अनुसार सुक्खा हुने आकलन गरिएको यो हिउँदमा वायु प्रदूषणको जोखिम पनि टड्कारो छ।

नेपालमा मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मान्ने गरिएको छ। यो हिउँदमा प्रदेश नं १ र अन्य प्रदेशका तराईका जिल्लाबाहेक अधिकांश भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको कँडेलले बताइन्। प्रदेश नं २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका जिल्लाका धेरैजसो भूभागमा अधिकतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।

कँडेलका अनुसार ३३.३ प्रतिशतक (पर्सेन्टाइल) भन्दा बढी र ६६.६ प्रतिशतकभन्दा कमलाई सरदर तापक्रम भनिन्छ।

अनि ३३.३ प्रतिशतकभन्दा कम भए सरदरभन्दा कम र ६६.६ प्रतिशतकभन्दा बढी भए सरदरभन्दा बढी तापक्रम भएको मानिन्छ।

यो हिउँदमा देशका अधिकांश उच्च पहाडी र तराईका भूभाग तथा सुदूरपश्चिम प्रदेशका धेरैजसो भूभागमा न्यूनतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ। बाँकी भूभागमा तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ प्रतिशतसम्म छ।

मौसमविद्का अनुसार यो वर्ष विगतका तुलनामा बढी चिसो हुनेछ र कठ्याङ्ग्रिने चिसो माघ १५ सम्म रहने छ।

 

 

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्