चिसो चुनौतिः काठमाडौंसहितका स्थानमा वर्षा-हिमपात, जाडो झन् बढ्ने भन्दै सतर्कता सूचना – Janadesh Daily | ePaper

चिसो चुनौतिः काठमाडौंसहितका स्थानमा वर्षा-हिमपात, जाडो झन् बढ्ने भन्दै सतर्कता सूचना


जनादेश वेदर वाच।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली छ भने देशका धेरैजसो स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ।

महाशाखाले आज (बुधबार) बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसैगरी उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

देशभर चिसो बढ्यो
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुँदा देशभर चिसो बढेको छ । पश्चिमतर्फबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले देशभर फैलिएको छ । उक्त प्रणालीको कारणले उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनुका साथै पहाड र तराई-मधेसका धेरै स्थानहरुमा वर्षा गराउने छ।

उपत्यका नजिकै हिउँ 
महाशाखाका मौसमविद गंगा नगरकोटीले काठमाडौं उपत्यका वरपरका अग्ला स्थानमा पनि हिउँ पर्ने बताइन् । मौसमविद नगरकोटीले भनिन्, ‘काठमाडौं उपत्यका र उपत्यका वरपर मंगलबार रातिदेखि नै वर्षासँगै हिउँ पनि पर्ने छ ।’

अर्का मौसमविद वरुण पौडेलले पनि ‘हल्का हिउँ पर्ने’ पूर्वानुमान गरिएको बताए । ‘मनाङ, डोल्पा, हुम्लातिर हिमपात भइराख्या छ । पहाडी भूभागमा हल्का वर्षा छ । तराईतिर बादल र हुस्सु कुहिरोको अवस्था छ,’ मौसमविद पौडेलले भने, ‘काठमाडौं उपत्यकाको हकमा डाँडाकाँडातिर हल्का वर्षा हुने र हिउँ पर्ने सम्भावना छ ।’ काठमाडौं उपत्यकाका चन्द्रागिरि, फूलचोकीका साथै दोलखाको कालिञ्चोक, जिरीलगायतका क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पौडेल बताउँछन् ।

जाडो झन् बढ्ने
मौसमविदका अनुसार बादल लागेको बेला अधिकतम तापक्रम र घाम लागेको बेला न्यूनतम तापक्रम घट्ने हुँदा जाडो बढ्छ । रातिदेखि जाडो झन् बढ्ने पूर्वानुमान मौसमविद पौडेलले गरे । ‘दुई दिनसम्म राम्रोसँग घाम नलागेकाले चिसो बढेको छ, तापक्रम अझै घट्ने क्रममा छ,’ पौडेलले भने, ‘अहिलेको प्रणालीले वर्षाको जस्तो ठूलो झरी त गराउँदैन तर चिसो हुन्छ, जाडो झन् बढाउँछ ।’

बिहीबारदेखि क्रमिक सुधार
पश्चिमी न्यून चापीय प्रणाली नेपालको पश्चिम क्षेत्रबाट सोमबार (पुस १२ गते) प्रवेश गरेको थियो । यो प्रणालीको प्रभाव मध्य क्षेत्र हुँदै क्रमशः देशको पूर्वी भूभागसम्म फैलिएको छ । यसैको कारण अहिले देशभर बादल लागेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागहरुमा हल्का वर्षासँगै हिमपात भइरहेको छ ।

यस्तो अवस्था बिहीबारबाट क्रमशः कम हुँदै जाने अनुमान मौसमविदले गरेका छन् । मौसमविद नगरकोटीले आजको जस्तै अवस्था भोलि पनि रहने बताउँदै भनिन्, ‘पर्सिबाट भने मौसममा क्रमशः सुधार आउने देखिन्छ ।’

अर्का मौसमविद पौडेलले पश्चिम नेपालमा बिहीबारबाट मौसममा सुधार हुने र शुक्रबारबाट अन्य प्रदेशहरुमा पनि क्रमिक रुपमा सुधार हुने बताए । ‘सुदूरपश्चिम क्षेत्रबाट मौसम खुल्दै जान्छ । बुधबारको भन्दा बिहीबार धेरै नै सुधार हुन्छ,’ मौसमविद पौडेलले भने, ‘शुक्रबारबाट त झन् धेरै सुधार हुन्छ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्