डिजिटल प्रविधि क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने    – Janadesh Daily | ePaper

डिजिटल प्रविधि क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने   


काठमाडौँ,

देश विकासका लागि उद्यमशीलताको विकास र डिजिटल प्रविधिको प्रवद्र्धनमा सरकारले लगानी गर्नुपर्ने आवश्यकता औँल्याइको छ । डिजिटल संवाद नामक आज यहाँ आयोजित भर्चुअल डिजिटल संवाद कार्यक्रममा वक्ताहरूले पछिल्लो समय सरकारले विभिन्न योजना र नीति निर्माण गर्दै उद्यमशीलतालाई केन्द्रदेखि स्थानीय निकायसम्म जोड्नुपर्नेमा जोड दिनुभयो ।

सिर्जनादेखि उद्यमीसम्मको यात्रामा आउने थुप्रै समस्या र चुनौतीका बाबजुद नेपालमा केहीले उदाहरणीय सफलता पनि हासिल गरेको उहाँहरुको भनाइ छ । पूर्वमन्त्री गणेश शाहले डिजिटल स्टार्टअपको आवश्यकता र यसको प्रवद्र्धनमा सरकारले काम गर्न सके मात्र विकास दिगो हुनसक्ने बताउनुभयो ।

उहाँले लगानीको मुख्य समस्या रहेको भन्दै बैंक पनि स्टार्टअपमैत्री नभएको गुनासो व्यक्त गर्नुभयो । त्यसैगरी पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारले नवप्रवर्तन र प्रविधिलाई अझै बुझ्न नसकेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले १५औँ आवधिक योजनादेखि १९औँ आवधिक योजनासम्म विभिन्न कार्यक्रम र रणनीतिमार्फत देशमा उद्यमशीलताको विकास गरेर समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गरिने बताउनुभयो । उद्योग विभागका निर्देशक प्रेमप्रसाद लुइँटेलले स्टार्टअपका लागि रु ५० करोड तत्काल लगानी गर्ने र रु पाँच अर्बको कोष बनाएर बृहत्रूपमा उद्यमशीलताको विकासमा लाग्ने गरी काम भइरहेको बताउनुभयो ।

डिजिटल स्टार्टअपका लागि शिक्षादेखि लगानीसम्म त्यत्तिकै महत्वपूर्ण रहेको भन्दै नेपाल आन्टरप्रेनर्स हबका सहसंस्थापक सुमन शाक्यले इन्टरप्रेनर्स इकोसिस्टमको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्