
डा.सुनील मास्के
(प्रस्तुत लेख कोरियाका प्रख्यात मनोरोग चिकित्सक Hyun-soo Jeon, MBBS, PhD द्वारा कोरियाको Buddhist Broadcasting System (BBS) मा दिईएको लेक्चर “How to Heal Mind with Mental Practice” को आधारमा तयार पारेको लेख हो। वाहाँ सन् १९८५ देखि बुद्ध दर्शनप्रति आकर्शित भएको र बुद्ध दर्शन, विपश्यना पद्धतीबाट मानसिक रोगका विरामिहरुलाई प्रभाकारी सेवा प्रदान गर्दै आउनु भएकोछ। वाहाँले आफ्नो अस्पताल झण्डै दुई वर्षको लागि बन्द गरेर म्यानमारमा गई समाधिसम्मको भावना सफलताका पुरा गर्नु भएको छ।)
मानिस शरीर(तन) र मनले बनेको छ। यसलाई नै हामीहरु प्रत्येकले “म” भनेर भन्ने गर्दछौँ। त्यसकारण यहि “म” भनिने हामी मानिसको जीवनमा तन र मनको प्रभाव परिरहेको हुन्छ। मानिसको जीवनमा तन र मनले अहम भूमिका खेलेको हुन्छ। तन र मनको मिनेट मिनेट, सेकेण्ड सेकेण्डको क्रियाकलापको प्रभावले हामीहरुलाई कहिले क्षणिक सुख खुशिको अनुभुति दिलाउँछ त कहिले दुःखको। यो नै हाम्रो जीवन चर्या भएको छ, यो नै हाम्रो जिन्दगी हो, यो नै हाम्रो संसार हो। तथापि हामीहरुले तन र मनलाई राम्रोसँग अवलोकन अध्ययन नगर्ने गरेको कारणले तन र मनको प्रकृती र यसका के कस्ता विशेषताहरु रहेका हुन्छन् त्यस बारेमा हामीलाई ज्ञान छैन।
अज्ञानताकै कारण हामीमा कहिल्यै उत्सुकता पनि भएन। हामीहरु केवल किताबमा भएका विषयवस्तुहरु, कसैले गरेको कुरा र आफूले सोचेका कुराहरु जस्तालाई मात्र हामी तन र मन भनि सोच्ने वा लिने गर्छौँ। वैज्ञानिकहरुले विज्ञानको क्षेत्रमा उत्सुकता कै कारण विज्ञानका नियमहरुलाई राम्रोसँग अवलोकन अध्ययन गरेकोले उनिहरुलाई विज्ञानको नियमहरुको बारेमा राम्रोसंग ज्ञान भएको हो। त्यसरी प्राप्त ज्ञानको आधारमा मानव समाजलाई भौतिकरुपमा सुख सुविधा दिन सफल पनि भएका छन्। संसारका सबै घटनाहरु (Phenomena) भित्र आ-आफ्नो विशिष्ट विशेषताहरु रहेका हुन्छन् जसलाई हामीहरुले देख्न नसकेको मात्र हो। यदि हामीले हाम्रो तन र मनको प्रकृती विशेषताहरुको बारेमा पनि उत्सुकतापूर्वक अवलोकन गरेको खण्डमा आफ्नो मनलाई देख्न सक्ने गरी आफूलाई रुपान्तरण गर्यौँ भने हामीहरुले पनि हाम्रो तन र मनको विशेषताहरुलाई जति पनि देख्न सक्ने हुन्छौँ।
मानव शरीरमा दुई खालको विशेषता रहेको हुन्छ – एउटा पूर्णरुपले जीवनको गतिविधि संचालन गर्ने विशेषता जुन कार्य-कारणको नियममा आधारित छ र अवस्था अनुसार निरन्तर चलिरहेको हुन्छ। यो जीवनको गतिविधि तटस्थता (neutrality) को आधारबाट चलेको हुन्छ। शरीरको अर्को विशेषता भनेको कुचो जस्तै बिना हलचल स्थिर रहि रहने हुन्छ। हामीहरुले हाम्रो शरीर हिंडेर यताउता गरेको देख्छौँ तर वास्तबमा बिल्कुल त्यसतो होईन। जसरी कुनै एक ठाउँमा राखेको कुचो जबसम्म कसैले उठाएर यताउता सार्दैन तबसम्म राखेको ठाउँमै रहि रहन्छ। कुचो आफै यता उता सर्न सक्तैन। हाम्रो शरीर(तन) पनि ठीक त्यसतै हो, कसैले चलाए पछि मात्र चल्छ नत्र एकै ठाउँमा रहि रहन्छ। हामीले हाम्रो शरीरलाई गहिरोसँग अवलोकन गरी हेर्न सक्यौँ भने शरीरले गर्नु पर्ने जीवनको गतिविधि पूर्णरुपले गर्दै त्यतिकै स्थिररुपमा रहि रहेको पाउने हुन्छौँ।
त्यतिकै स्थिर रहेको तनले नराम्रो खराब क्रियाकलाप गर्न सक्छ त? अवश्य सक्दैन, हत्या, हिंसा, चोरी लगायत कुनै प्रकारको खराब काम गर्न सक्दैन। त्यसकारण शरीरको प्रकृतिको आधारमा विश्लेषण गर्ने हो भने शरीरको कुनै अपराध वा पाप छैन त्यतिकै चुपचाप रहि रहने हो। तर उल्लेखित शरीरको दुई प्रकारको विशेषता पुरा हुन मनले भूमिका खेलेको हुन्छ। पहिलो भूमिका हो- जीवनको गतिविधि संचालन गर्न प्रतिक्रिया गर्छ। उदाहरणको लागि कसैको मुटु ढुक ढुक गर्दै हल्लिन्छ नि त्यतिखेर कोहि मानिसले ओहो वर्वाद भयो, अव म मर्ने मर्ने भो, म मरेँ, मुर्छा परेर यहि ढल्ने भो भनि प्रतिक्रिया गर्न सक्छ। त कोहि मानिसले भने अँ मुटु ढुक ढुक गर्दै हल्लियो, कहिले काँहि यस्तो पनि त हुन सक्छ, यसको कुनै कारण होला आज एक दिन हेरौँ, केहि सुधार भएन भने भोलि एक चोटि डाक्टरलाई देखाउनु पर्ला भनेर पनि प्रतिक्रिया गर्न सक्छ। यसरी गरिने प्रतिक्रियाको आधारमा माथि भनिएको तटस्थता गतिविधि मनको प्रतिक्रियाको आधारमा सकारात्मक पनि हुन सक्छ र नकारात्मक पनि हुन सक्छ।
यसरी मानिसको शरीर स्थिति अवस्था अनुसार चल्ने गर्छ। हाम्रो प्रतिक्रियाको आधारमा राम्रो पनि गर्न सक्छ र नराम्रो पनि गर्न सक्छ। कतिपय मानिसहरु भोक लाग्न साथ चिडचिडाहट गर्न शुरु गर्छन्। उनीहरु भोक लागे पछि चिडचिडाहट गर्नु स्वभाविक हो भनि ठान्छन्। तर कतिपय मानिसहरुले भने भोक लाग्दा चिडचिडाहट गर्दैनन्। उनिहरु भोक लाग्नु भन्दा अघिदेखि नै पेटमा त्यसको प्रक्रिया शुरु भई सकेको थियो भन्ने फरक दृष्टिकोणले हेर्छन। हामीले हाम्रो शरीरको कुनै पनि घटनाको बारेमा प्रतिक्रिया जनाउँदा हाम्रो शरीर भित्र केहि समय अघिदेखि त्यससंग सम्बन्धित प्रक्रिया शुरु हुँदै आएको हुन्छ। त्यस्तो कुराहरुलाई ज्ञानपूर्वक बुझेर आफूलाई परिवर्तन गर्न सकेको खण्डमा अरु घटनाहरुलाई पनि सजिलै परिवर्तन गर्न सम्भव हुन्छ।
अब दोस्रो, स्थिर रहेको शरीरलाई यताउता हलचल गराई दिने मनले हो। यो कुरा ध्यान गर्ने मानिसले भने अनुभव गरेको हुन्छ। हामीहरु हिंडदा खेरि त्यत्तिकै हिंडेको जस्तो महशुष भएता पनि हिंडदा एउटा खुट्टा उचालिने, अगाडि बढाउने र भुँईमा टेक्न मनको उद्देश नभएमा हिंडने क्रिया पुरा हुन सक्दैन। यसरी हिंडने क्कामको बारेमा मनको निर्देश वा सङ्केत भएकै कारण हिंडने क्रिया भएको हो। त्यसैगरी दौडदा पनि दौडने काम-कुराको लागि मनले निर्देश वा सङ्केत दिएमा मात्र उक्त कार्य सम्भव हुन्छ। मनको निर्देश वा सङ्केत नभएको खण्डमा दौडने क्रिया हुन सम्भव छैन। त्यसैले सँधै हाम्रो मनले हाम्रो तनलाई आफूले चाहेको ठाउँमा डोर्याएर लगि राखेको हुन्छ। यो वास्तविकतालाई हिंडेर भावना (walking meditation) गर्ने मानिसहरु वा योगीहरुले अझ स्पष्टसंग अनुभव गरेको हुन्छ।
यो त भयो हाम्रो शरीर (तन)को बारेमा अव मनको बारेमा चर्चा गरौँ। हाम्रो मन कसरी चल्छ त? कुन सिद्धान्तबाट चल्छ त? मन चल्ने सिद्धान्तलाई हेर्यौँ भने मन दुई प्रकारको सिद्धान्त अनुसार चलि राखेको हुन्छ। एउटा सिद्धान्त हो- मन जहिले पनि कहिं न कहिं गएर बसेको हुन्छ र त्यो ठाउँबाट सजिलैसित प्रभावित भएको हुन्छ। मन कतै नगएर एकै ठाउँमा बसि रहेको अवस्था हुँदैन। हामीहरुले अवलोकन नगरेको कारण सामान्यतया त्यसरी गएर बसेको मन देख्न वा चाल पाउन सक्दैनौँ। तर हामीले भावना (ध्यान) गरेर अवलोकन गर्यौँ भने त्यसरी कहिं न कहीं गएर बसेको मनलाई देख्न सक्छौँ। भावना (ध्यान) गर्ने योगि, मानिसहरुले यो कुरा सजिलैसंग देखेको हुन्छ।
मन त्यसरी कहिं न कहिं जाँदा एक चोटीमा केवल एक ठाउँमा मात्र जान सक्छ। त्यो भन्दा बढि ठाउँ जान सक्दैन। यसरी जाने क्रममा मनमा त्यो ठाउँको प्रभाव परेको हुन्छ, राम्रो ठाउँमा गएको छ भने राम्रो प्रभाव परेको हुन्छ र नराम्रो ठाउँमा गएको छ भने नराम्रो प्रभाव परेको हुन्छ। वास्तबमा त्यसरी गएको ठाउँ वा वस्तु आफैमा भने राम्रो ठाउँ अथवा नराम्रो ठाउँ नै भन्ने चाँहि हुँदैन। हाम्रो मनले गएको ठाउँलाई हेर्दा खेरी ज्ञानरुपि ध्यानाकर्षण भयो भने त्यो ठाउँ राम्रो हुन्छ र त्यसो नभै ज्ञान बिनाको ध्यानाकर्षण भयो भने त्यो ठाउँ नराम्रो हो। यसर्थ हाम्रो मनलाई जुनसुकै वेला जहाँ गए पनि त्यो ठाउँले प्रभाव पारेकै हुन्छ र मन एक चोटिमा एकै ठाउँमा मात्र जान्छ भनेको हो। हुन त आज भोलिका युवाहरु गीत सुन्दै ध्यान दिएर पढछु भनेर एकै चोटि मन दुई तीन ठाउँ वा धेरै ठाउँ जान्छ भन्छन्। तर वास्तवमा त्यो कुरा सत्य होईन।
जहाँ आवाज आउँछ आवाजतिर कान गएकै हुन्छ, यो कानको प्रकृती हो। त्यसैगरी आँखाले केहि देख्यो भने त्यतै जान्छ, शरीरले केहि स्पर्श गर्यो भने त्यतै जान्छ, नाकले कुनै वास्नाको चाल पायो भने उतै जान्छ। पढिराखेको होस् वा अरु कुनै काम गरी रहेको होस्। ज्ञानेन्द्रियहरुलाई त्यसको कुनै मतलव नै हुँदैन। त्यस्तै प्रकृती हुने गरी नै बनिएको हुन्छ हाम्रा ज्ञानेन्द्रियहरु। तर यदि हामीले साँच्चिकै भावना (ध्यान) गरेर मनलाई एकाग्रतामा बाँध्न सफल भयौँ र ज्ञानेन्द्रियहरुलाई रोक्न चाह्यौँ भने सम्भव छ।
अव दोश्रो सिद्धान्त अनुसार मन कुनै वस्तु तर्फ निरन्तर गई रहँदा त्याहाँ एक प्रकारको घटना विकास हुन्छ। हाम्रो मन वारम्बार एक तर्फ जाने गर्दा त्याँहा बाटो नै निर्माण हुन थाल्छ। बाटो बन्न थाल्छ भन्नुको मतलब हो चुपचाप बस्नसाथ मन वारम्बार त्यतै तिर आकर्षित हुन्छ र त्यतै यात्रा गर्छ। हामीहरु राम्रोसँग सुखपूर्वक बाँच्नको लागि बिगतको कुराहरु सम्झने गर्छौँ र भविष्यको बारेमा पनि सोच्ने गर्दछौ। तर यो क्रियाकलापको साथ साथै एउटा नतिजा देखा पर्न थाल्छ।
हामीबाट हुने जस्तोसुकै खालको क्रियाकलाप होस्, चाहे त्यो शारीरिक क्रियाकलाप होस् वा मानसिक क्रियाकलाप, सबै क्रियाकलापले कुनै न कुनै प्रकारको परिणाम छोडदछ। किनभने यो सबैले कार्य-कारण (प्रतीत्यसमुत्पाद) को सिद्धान्त पछ्याएको हुन्छ। कार्य-कारणको नियम अनुसार नै चलेको हुन्छ। कार्य-कारणको नियमलाई नपछ्याउने, यो नियम अनुसार नचलेको केहि पनि हुँदैन। कोहि पनि हुँदैन। प्रतीत्यसमुत्पाद सिद्धान्त आज भन्दा २५६० वर्ष अगाडि भगवान गौतम बुद्धले प्रतिपादन गर्नु भएको बुद्ध दर्शनको आधारशिला हो। प्रतीत्यसमुत्पाद बुद्धका उपदेशहरूको केन्द्रीय विषय हो |
यो द्वीतीय र तृतीय आर्यसत्य अन्तर्गत पर्छ |संसार यहि सिद्धान्त अनुरुप हिजो चलेको थयो, आज चलि रहेछ र भोलि पनि चलि रहने छ। यस सत्यलाई हृदयङ्गम गरी हाम्रो मनलाई सतिपूर्वक राखेर तनलाई ऊर्जा दियौँ भने अर्थात भावना (विपश्यना ध्यान) गर्यौँ भने निश्चयनै सुखकर जीवन जिउन सक्छौ ।
[प्रस्तुत लेखको विषयमा आफ्नो राय, सुझाव, स्वस्थ्य आलोचना गरी दिनु सबै संग विनम्र अनुरोध छ।]
# सुनील मास्केको फेसबुक वालबाट