१.स्वस्थ खाना खानुस्
फलफूल, सागसब्जी, बियाँहरु, अन्नको सम्पूर्ण भागलगायतका विविध खानाहरुको मिश्रण खानुहोस् । हरेक दिन खानाको पाँच भागको एक भाग फलफूल र सागसब्जी खानुपर्छ । स्न्याक्सका रुपमा फलफूल र सागसब्जीलाई प्रयोग गर्न सकिन्छ । हरेक दिनको खानामा विविधता हुनुपर्छ । हरेक दिन स्वस्थ खाना खानाले कुपोषण र नसर्ने खालका रोगहरु जस्तो– डायबिटिज, मुटुरोग, मस्तिष्क घात, क्यान्सर आदिबाट बच्न सहयोग पुग्छ ।
२.नुन र चिनी कम खानुस्
नुनको मात्रा बढी खानाले उच्च रक्तचापको जोखिम बढाउँछ । यसका कारण मुटुसम्बन्धी विभिन्न रोग र मस्तिष्क घात हुनसक्छ । नुनमा सोडियम हुन्छ । सोडियमको बढी मात्राले यी समस्या गराउँछ । त्यसकारण प्रतिदिन पाँच ग्रामभन्दा बढी नुनको मात्रा नखानु उचित हुन्छ । यो भनेको एक चिया चम्चा बराबर हो । ससेसहरु, दालमोठलगायतका जंकफुडहरुमा नुनको मात्रा धेरै हुन्छ । सकेसम्म नुन कम भएका खानामा जोड दिनुपर्छ ।
यस्तै चिनीको मात्रा बढी खानाले दन्तरोगहरु लाग्ने, तौल बढ्ने, डायबिटिज हुने खतरा बढ्छ । त्यसकारण चिनीयुक्त खानाको मात्रा घटाउनुपर्छ । शरीरमा मोटोपन बढ्दा विविध किसिमका स्वास्थ्य समस्या देखिने भएकोले घरमा बनाइने गुलिया खाद्यवस्तुका साथै आइसक्रिम, मिठाई, चकलेट, बिस्कुट, कुकिज, केक, गुलियो बढी भएका इनर्जी ड्रिंक, कोक, पेप्सी, डेउ, फेन्टा आदि पेयपदार्थ नखाने वा कम मात्र खाने गर्नुपर्छ ।
३.बोसोयुक्त खानाको मात्रा घटाउनुस्
शक्तिका स्रोतमध्ये बोसो तथा चिल्लोको मात्रा ३० प्रतिशतभन्दा कम हुनुपर्छ । यसो गर्दा अनावश्यक तौल बढ्ने र नसर्ने रोगहरुको वृद्धि हुनबाट धेरै हदसम्म बचाउँछ । यसमा पनि माछा, एभोकाडो, विभिन्न बियाँहरु, सनफ्लावर तेल, भटमासको तेल (सोयाबिन) र ओलिभ ओयल अनस्याचुरेटेड हुने भएकाले यी चिल्लो पदार्थहरु लाभदायक हुन्छन् । स्याचुरेटेड र ट्रान्सफ्याटभन्दा अनस्याचुरेटेड फ्याट राम्रो मानिन्छ ।
स्याचुरेटेड फ्याट बोसोयुक्त मासु, बटर, पाम र नरिवलको तेल, क्रिम, घिउ, चीज आदिमा पाइन्छ । ट्रान्सफ्याटचाहिँ तेलमा तारेका, भुटेका, पाकेट बन्द चिल्ला खानाहरु जस्तो– फ्रोजन पिज्जा, कुकिज, बिस्कुट आदिमा पाइन्छ, जुन स्वास्थ्यका लागि राम्रो मानिदैन ।
४. मदिराको हानिकारक प्रयोग
मदिरापान स्वास्थ्यका लागि सुरक्षित मानिदैन । मदिरापानले मानसिक तथा बानी–व्यहोरासम्बन्धी असन्तुलन ल्याउँछ । साथै मदिरापान गर्दा यसको लत लाग्ने र मदिराविना जिउन नसक्ने हुनसक्छ । मदिरापानले लिभर सिरोसिस हुने, मुटुसम्बन्धी रोग लाग्ने, केही प्रकारका क्यान्सर हुने, हिंसा र सडक दुर्घटनाका कारण चोटपटक लाग्ने खतरा पनि हुन्छ ।
५.धूमपान नगर्नुस्
धूमपानले नसर्ने खालका धेरै रोगहरु निम्त्याउँछ । उदाहरणका लागि फोक्सोसम्बन्धी रोगहरु, मुटुसम्बन्धी रोगहरु र मस्तिष्क घातजस्ता घातक स्वास्थ्य समस्या हुनसक्छ । धूमपानले धूमपान गर्ने व्यक्तिलाई मात्र होइन, धूमपान गर्दा उसका वरिपरि बसेका अरु मानिसको स्वास्थ्यमा पनि हानि पुग्छ र अकालमै ज्यान लिन्छ । त्यसैले धूमपान नगर्नु स्वास्थ्यका लागि राम्रो हो । जसले धूमपान गरिरहेको छ, सकेसम्म छोड्नु राम्रो हो । धूमपान गर्ने मानिसले धूमपान गर्न छोड्यो भने केही दिनमै स्वास्थ्यमा धेरै लाभ भएको अनुभूति गर्न सक्नेछ । जसले धूमपान गर्दैन, त्यो धेरै राम्रो कुरा हो । धूमपान कहिल्यै शुरु नगर्नु, बरु चुरोटको धुवाँमुक्त वातावरणमा सास फेर्न पाउने अधिकारका लागि लड्नु राम्रो हो ।
६.सक्रिय बन्नुस्
स्वस्थ रहनका लागि उमेरअनुसार नियमितरुपमा शारीरिक सक्रियता हुनुपर्छ । वयष्क मानिसहरु ९१८–६४ वर्ष० का लागि हप्तामा सामान्यरुपमा १५० मिनेटको सघनरुपमा शारीरिक गतिविधि ९व्यायाम० आवश्यक पर्छ । तर थप स्वास्थ्य जस्तो– तौल घटाउने, डायबिटिज, उच्च रक्तचाप नियन्त्रण आदिका लागि भने हप्तामा ३ सय मिनेटको सघनरुपमा शारीरिक गतिविधि गर्न आवश्यक छ ।
७. नियमित रक्तचाप जाँच्नुहोस्
उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ । किनभने धेरै मानिस आफूलाई उच्च रक्तचाप भइरहेको वारे जानकार हुँदैनन् । धेरैलाई उच्च रक्तचाप भएको लक्षण नै नदेखिन सक्छ । यदि उच्च रक्तचाप बढिरह्यो भने मुटु, मस्तिष्क, मिर्गौला र अरु घातक रोगहरु हुन सक्छन् । त्यसकारण नियमितरुपमा रक्तचाप जाँच्ने गर्नुपर्छ । यदि उच्च रक्तचाप छ भने चिकित्सकको सल्लाह लिनुपर्छ । उच्च रक्तचापबाट बच्ने र उच्च रक्तचाप भएमा नियन्त्रण गर्ने यो एउटा राम्रो उपाय हो ।
८. स्वास्थ्य स्थिति जाँच गर्नुस्
नियमितरुपमा स्वास्थ्य जाँच गर्नु स्वस्थ रहनका लागि राम्रो हो । त्यसमा पनि संक्रामक रोगहरु एचआईभीलगायत अन्य यौन प्रसारित रोगहरु, हेपाटाइटिस बी, क्षयरोग आदिको पनि परीक्षण गरी ढुक्क भएर बस्नुपर्छ । यस्ता रोगहरु लागेको छ र उपचार गरिएको छैन भने यसले गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्न सक्छ । साथै मृत्यु नै पनि हुनसक्छ । साथै अन्य सर्ने र नसर्ने खालका रोगहरुको स्थिति थाहा पाइराख्नका लागि पनि बेला–बेलामा अस्पताल गएर स्वास्थ्य जाँच गराउनु आवश्यक छ ।
९. खोप लगाउनुस्
रोगहरुबाट बच्नका लागि खोप लगाउनु ज्यादै प्रभावकारी तरिका हो । खोपले शरीरमा प्राकृतिक तरिकाले रोगसँग लड्ने क्षमताको वृद्धि एवं विकास गर्छ । खोपहरुबाट पाठेघरको मुखको क्यान्सर, कलेरा, डिप्थेरिया, हेपाटाइटिस बी, इन्फ्लुएन्जा, दादुरा, निमोनिया, पोलियो, रुबेला, रुबिस, टिटानस, टाइफाइड, एलो फिवरजस्ता रोगहरुबाट बच्न मद्दत गर्छ । कतिपय खोपहरु बाल्यकालमा नै लगाउने गरिन्छ । त्यसकारण खोपका लागि अभिभावकले बालबालिकालाई स्वास्थ्य संस्थामा लैजाने र आफ्नो लागि पनि स्वास्थ्य संस्थामा परामर्श गर्नु जरुरी छ ।
१०. सुरक्षित यौनसम्पर्क
सम्पूर्ण स्वास्थ्यलाई ठीक राख्नका लागि यौन स्वास्थ्य पनि ठीक हुनुपर्छ । एचआईभीरएड्स, गनोरिया, सिफलिसजस्ता रोगहरुबाट बच्नका लागि सुरक्षित यौनसम्पर्क राख्ने बानी गर्नुपर्छ । यसका लागि विश्वसनीय जोडीसँग मात्र यौनसम्पर्क गर्नु राम्रो हो । साथै कन्डमको प्रयोगले एचआईभीलगायत अन्य यौन प्रसारित रोगहरुबाट बच्न मद्दत पुग्छ ।
११. खोक्दा र हाच्छ्युँ गर्दा मुख ढाक्नुस्
इन्फ्लुएन्जा, निमोनिया, क्षयरोगजस्ता सरुवा रोग हावाबाट सर्छन् । जब यस्ता रोग संक्रमितले खोक्ने, हाच्छ्युँ गर्ने गर्छन् रोग संक्रमण गर्ने कीटाणु एवं विषाणुहरु हावामार्फत अर्को व्यक्तिमा सर्न सक्छन् । त्यसैले अरुले खोक्दा, हाच्छ्युँ गर्दा आफ्नो मुख रुमाल वा फेस मास्कले छोप्नुपर्छ । त्यस्तै आफूलाई खोकी लाग्दा, हाच्छ्युँ आउँदा पनि मुख छोप्नुपर्छ ।
१२.लामखुट्टेको टोकाइबाट बच्नुस्
लामखुट्टे एउटा मृत्युदायक जीव हो । डेंगु, चिकुनगुनिया, मलेरिया, लिम्फाटिक फाइलेरियासिस जस्ता रोग लामखुट्टेले सार्छ । सामान्य प्रयासले पनि लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट बच्न सकिन्छ । लामखुट्टे भगाउने धुप वा यन्त्र प्रयोग गरेर लामखुट्टे भगाउन सकिन्छ । झुल राखेर सुत्ने गर्दा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । उज्यालो रंगका कपडा लगाउँदा पनि धेरै हदसम्म लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । घरका झ्याल–ढोकामा जाली राख्दा पनि लामखुट्टेको टोकाइबाट धेरै हदसम्म बच्न सकिन्छ । नियमितरुपमा घरवरिपरि जमेको पानी र फोहोर हटाएर लामखुट्टेको वृद्धि विकास नियन्त्रण गर्न सकिन्छ ।
१३. ट्राफिक नियमको पालना गर्नुस्
सडक दुर्घटनाबाट विश्वमा बर्सेनि दश लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ भने लाखौँ घाइते हुन्छन् । सडक ऐन नियमको कडा कार्यान्वयन, सुरक्षित सडक पूर्वाधार, दुरुस्त सवारीसाधन र दुर्घटनापछिको राम्रो उपचारको व्यवस्थाबाट सडक दुर्घटनाका कारण हुने मृत्युलाई नियन्त्रण गर्न सकिन्छ । व्यक्तिले सवारी नियमको पालना गरेर, सिटबेल लगाएर, मोटरसाइकल चलाउँदा हेलमेट लगाएर, मदिरापान गरी सवारी नचलाएर र सवारी चलाउँदा मोबाइल प्रयोग नगरेर सवारी दुर्घटनाबाट धेरै हदसम्म बच्न सकिन्छ ।
१४.सुरक्षित पानी मात्र पिउनुस्
सुरक्षित पानी पिउँदा कलेरा, डायरिया, हेपाटाइटिस ए, टाइफाइड, पोलियोजस्ता पानीजन्य रोगबाट बच्न सकिन्छ । सुरक्षित स्रोतबाट प्राप्त पानी मात्र पिउनुपर्छ । पानी कम्तीमा एक मिनेट उमालेर वा अन्य विधिबाट शुद्धीकरण गरेर मात्र पिउनुपर्छ ।
१५. दुई वर्षसम्मका बालबालिकालाई स्तनपान गराउनुसु्
दुई वर्षसम्मका बालबालिकाका लागि स्तनपान सबैभन्दा उत्तम खाना हो । जन्मेको एक घण्टाभित्र स्तनपान गराउनुपर्छ । शिशुको वृद्धि र स्वस्थताका लागि प्रथम ६ महिनासम्म स्तनपान गराउनु ज्यादै महत्वपूर्ण हुन्छ । साथै स्तनपान गराउनु आमाको लागि पनि राम्रो मानिएको छ । किनकि यसले स्तन र गर्भाशयको क्यान्सरको जोखिम घटाउनुका साथै टाइप २ डायबिटिज र सुत्केरी अवस्थामा हुने डिप्रेसनको जोखिम पनि कम गर्छ ।
१६. बरोबर हात राम्ररी धुनुस्
हातको स्वस्थता हुनु स्वास्थ्यकर्मीका लागि मात्र होइन, प्रत्येक व्यक्तिलाई नै जरुरी हुन्छ । हात सफा राख्नाले सरुवा रोगबाट बच्न सहयोग गर्छ । त्यसैले साबुन–पानीले राम्ररी हात धुने गर्नुपर्छ ।
१७. खाना सही तरिकाले बनाउनुस्
असुरक्षित खानामा हानिकारक ब्याक्टेरिया, भाइरस, परजीवी र रसायनहरु रहेका हुनसक्छन्, जुन डायरियादेखि क्यान्सरसम्मका २ सयभन्दा बढी किसिमका रोगहरुको कारक हुनसक्छ । बजारमा खानेकुराहरु खरिद गर्दा कम्तीमा लेबल हेरेर खानका लागि उपयुक्त हो कि होइन भन्ने कुरा एकिन गर्न सके पनि धेरै रोग एवं स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । खाना सफा हुनुपर्छ । राम्ररी पाकेको, उपयुक्त तापक्रममा रहेको, सुरक्षित पानी र कच्चा पदार्थ प्रयोग भएको हुनुपर्छ ।
१८. मानसिकरुपमा कमजोर महसुस भएमा विश्वास लाग्ने कसैसँग कुरा गर्नुस्
मानसिक रोग डिप्रेसन विश्वभरि नै आम किसिमको रोग हो । विश्वका करिब २६ करोड मानिसलाई डिप्रेसन भएको अनुमान छ । डिप्रेसनले मानिसलाई नकारात्मक सोचको विकास गराउने र दैनिक जीवनमा असर गर्ने, निरास एवं आशाविहीन गराउने, पीडाको महसुस हुने र यसकै कारण कसै–कसैलाई आत्महत्याको तहसम्म पनि पु¥याउँछ । त्यसकारण यस किसिमको निरासाको महसुस भएमा परिवारका सदस्य, साथीभाइ वा मानसिक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनुपर्छ ।
१९. एन्टिबायोटिकहरु डाक्टरको प्रेसक्रिप्सनको आधारमा मात्र लिनुस्
एन्टिबायोटिकको ब्याक्टेरियासँग लड्ने क्षमता कमजोर हुँदै जानु अहिले ठूलो जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । जब एन्टिबायोटिकको शक्ति कमजोर हुन्छ, ब्याक्टेरियाबाट संक्रमण भएको रोगको उपचार गर्न ज्यादै कठिन हुन्छ । यसले उपचार खर्च बढाउने, बिरामीको अस्पताल बसाइ लम्ब्याउने र मृत्युदर पनि बढाउने हुन्छ । हाल एन्टिबायोटिकहरुको शक्ति कमजोर हुँदै गएको छ । यसको कारण एन्टिबायोटिकको दुरुपयोग अनि मानिस र जनावरहरुमा यसको बढी प्रयोग हुनु हो । त्यसैले दक्ष स्वास्थ्यकर्मीको प्रेसक्रिप्सनको आधारमा मात्र एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ । चिकित्सकको निर्देशनअनुसार पूर्णरुपमा एन्टिबायोटिक सेवन गर्नुपर्छ र एन्टिबायोटिक आफूखुशी अरुलाई दिनुहुँदैन ।
(स्रोत:विश्व स्वास्थ्य संघको सूचनामूलक सामग्रीमा आधारित)