नवौं उपाधि जित्दा खस्किएको युभेन्टस – Janadesh Daily | ePaper

नवौं उपाधि जित्दा खस्किएको युभेन्टस


एजेन्सी ।

इटालियन महारथी युभेन्टसले लगातार नवौंपटक इटालियन सिरी ए को उपाधि जित्दै कीर्तिमान रच्यो । माउरिजियो सार्रीले करिअरकै पहिलो शीर्ष लिग उपाधि जित्दा टोलीको तथ्यांक भने विगत ८ उपाधिको तुलनामा केहि कमजोर नै रहयो ।

कोरोना संक्रमणपछि लिग सुरुवात हुँदा सुरुवाती खेलमा राम्रो प्रदर्शन गरेको युभेन्टसलाई उपाधि होडमा रहेका अन्य क्लबको खराब प्रदर्शनले निकै सहयोग पुग्यो । तर लिगको अन्तिमतिर भने युभेन्टसले पनि आफ्नो लय गुमायो । अन्य टोलीले पनि युभेन्टसको गल्तिको फाइदा उठाउन नसक्दा लिग उपाधि टुरिनमै रहन पुगेको थियो । युभेन्टसले लिगका २ खेल बाँकी रहँदा उपाधि पक्का गरेको थियो ।

युभेन्टसले लिगको पछिल्लो ८ खेलमध्य जम्मा २ खेलमा जित हासिल गर्यो । साम्पडोरियाविरुद्ध जुलाई २६ मा २-० को जितसँगै उपाधि पक्का गरेको युभेन्टसले त्यसपछि काग्लियारी र एएस रोमासँग लगातार हार बेहोरेको हो । रोमासँग अन्तिम खेलमा ३-१ को हार बेहोरेपछि प्रशिक्षक माउरिजियो सार्रीले टोलीको मनोबलमा केहि गिरावट आएको स्वीकारे ।

प्रशिक्षक सार्रीले उपाधि होडमा रहेको लाजियोविरुद्ध जितपछि नै टोलीले लिग जित्ने पक्का भएको बताए । ‘अलिअलि डर हुनुपर्ने त थियो । तर लाजियोमाथि जित हासिल गरेपछि लिग जित्नेमा ढुक्क थियौं । मानसिक रुपमा त्यसपछि हामी केहि कमजोर भएका थियौं’,’ सार्रीले भने ।

उपाधि जित्ने क्रममा युभेन्टसले लिगको ३८ खेलमा ८३ अंक जोड्यो । यो पछिल्लो एक दशकमा युभेन्टसले जोडेको सबैभन्दा कम अंक हो । पछिल्लो ८ सिजन उपाधि जित्दा डिफेन्समा बलियो देखिएको युभेन्टसका लागि यसपटक भने ४३ गोल खाँदै सबैभन्दा खराब सिजन रहयो । टोलीको यस सिजनको गोलअन्तर, +३३ पनि सबैभन्दा कम हो ।

यसबाहेक युभेन्टसले लिग अवाधिभर ७ पटक हारको सामना गर्नुपर्यो । विगत ८ वर्षमा युभेन्टसको नतिजा यति खराब रहेको थिएन । उपाधि जित्दा पनि टोलीले आफ्नो निकटतम प्रतिद्वन्द्वीसँग फराकिलो अग्रता कायम गरेको थियो, यस सिजन भने इन्टर मिलान मात्र १ अंक पछाडी रहेर उपविजेता बन्यो ।

युभेन्टसले यस सिजन अग्रता लिएको अवस्थाबाट २१ अंक गुमायो । उपाधि जित्ने टोलीले यस्तो अवस्था भोगेको यो कीर्तिमान पनि हो । यसअघि सन् १९८२-८३ सिजनमा रोमाले उपाधि जित्दा २० अंक अग्रता लिएको अवस्थामा गुमाएको थियो ।

सार्रीको टोली इटालियन सुपर कप र कोप्पा इटालिया दुवै प्रतियोगिताको फाइनलमा पराजित भएको थियो । अब सार्रीले आलोचना बन्द गर्नकै लागि पनि च्याम्पियन्स लिगको उपाधि दिलाउनुपर्ने दबाब रहेको छ । युभेन्टसले सन् १९९६ यता उपाधि जित्न सकेको छैन ।

यस सिजनको प्रि क्वाटरफाइनलमा युभेन्टस पहिलो लेगमा १-० ले पराजित भएको छ । अब घरेलु मैदानमा युभेन्टसले जित हासिल गरेमा उपाधि होडमा फर्कनेछ । युभेन्टसले लियोनमाथि जित हासिल गरे क्वाटरफाइनलमा रियल म्याड्रिड र म्यान्चेस्टर सिटीबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्