काठमाडौंमा एमालेको फ्युजनः अस्थिर र गफाडी तर सपना देख्ने मेयर, नयाँ पुस्ताकी सुन्दरी उपमेयर – Janadesh Daily | ePaper

काठमाडौंमा एमालेको फ्युजनः अस्थिर र गफाडी तर सपना देख्ने मेयर, नयाँ पुस्ताकी सुन्दरी उपमेयर


जनादेश वाच।

नेकपा एमालेले काठमाडौंमा मेयर र उपमेयरमा रोचक फ्युजन उम्मेमद्वार खडा गरेको छ। अस्थिर र गफाडी तर सपना देख्ने मेयर, नयाँ पुस्ताकी सुन्दरी उपमेयर चयन गरेर एमालेले अरूलाई बलियो चुनौति दिएको छ।

काठमाडौं महानगरका एक चर्चित एवं सफल मेयरको सूचीमा पर्छन्, केशव स्थापित । बितेका २५ वर्षमा उनी परिचय बदलिएर सपना देख्ने तर अस्थीर पात्र बन्न पुगे । राजनीतिबाट झण्डै बरालिइसकेका स्थापितलाई २०७४ सालमा प्रदेशसभा सदस्य तथा मन्त्री र अहिले काठमाडौं महानगरको मेयर उम्मेदवार बनाएर एमाले अध्यक्ष केपी ओलीले पुनर्स्थापित गर्न खोजेका छन् ।

२५ वर्षपछि काठमाडौंको मेयरमा दोहोरिने आकांक्षा राख्दा केशव स्थापितलाई एक महिनाअघि एमाले अध्यक्ष केपी ओलीले बालकोट बोलाएर भनेका थिए, ‘अहिले उम्मेदवारी घोषणा गर्दै हिँड्ने बेला हैन, जनताबीच गएर पार्टीको माहोल बनाउने बेला हो ।’

त्यसलाई स्थापितले ‘ग्रिन सिग्नल’ बुझेर घरदैलो सुरु गरे । चैतभरि उनी काठमाडौंका टोलबस्ती घुमेरै बिताए । ‘सबेरै उठेर केही बेर ध्यान गर्छु । चार चम्चा मह खायो, मुखमा घ्यू दल्यो, टाउकोमा बरफ हालेर टोलबस्तीमा पुगिरहेको छु,’ स्थापितले केहीअघि एक सञ्चार माध्यममा भनेका थिए ।

पार्टीले उम्मेदवारी दिएपछि स्थापित उत्साहित छन् । ‘मसँग महानगरको भिजन छ । मसँग सपना छ । विगतका कमजोरीबाट पाठ सिकेर अघि बढिन्छ’, उनले भने, ‘म टेष्टेड मेयर हुँ । नगरबासीले मेरो काम देखेका छन् । त्यसैले गठबन्धन दलकै कार्यकर्ताहरूले पनि मलाई भोट दिनुहुन्छ भन्ने विश्वास छ ।’

एमाले अध्यक्ष ओलीसँग स्थापितको लामो संगत छ । २०४७ सालमा एमालेले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ स्थापना गर्दा ओली अध्यक्ष थिए भने स्थापित महासचिव । युवा परिचालन गर्नसक्ने र आँटेको कुरा गरिहाल्ने स्थापितको स्वभावबाट ओली त्यहींबाट प्रभावित भएका थिए । २०४९ को स्थानीय चुनावमा उनी महानगरको उपमेयरमा उठे । त्यतिबेला नवीन्द्रराज जोशीसँग झिनो मतान्तरले हारेका स्थापित पाँच वर्षपछि भने लोकप्रिय मतसहित महानगरको मेयरमा निर्वाचित भएका थिए ।

स्थापित आँटिला र सपना देख्ने नेता हुन् । संगसँगै अस्थीर र उटपट्याङ पनि उनी गरिरहन्छन् । २०५४ सालमा एमाले विभाजन हुँदा उनी वामदेव गौतम नेतृत्वको मालेतर्फ लागेका थिए । तत्कालीन उपमेयर विदुर मैनाली भने एमालेमै रहे । स्थापित र मैनालीबीचको कलह बिर्सनलायक थियो । उनको हर्कत कतिसम्म थियो भने आफू विदेश जाँदा कार्यवहाक दिनुपर्छ भनेर उपमेयर मैनालीलाई कास्कीको लेखनाथ नगरपालिकामा काज पठाउने पत्र थमाउनसम्म भ्याए ।

सुन्दरी सुनिता
दशकअघि मिस नेवा:को ताज पहिरिएकी सुनिता डंगोल राजनीतिमा नयाँ अनुहार हुन्। स्वतन्त्र रुपमा मेयरमै दाबेदारी गरिरहेकी उनलाई एमालेले उपमेयरको टिकट दिएको हो। सामाजिक विज्ञानमा स्नातकोत्तर उनी विभिन्न सामाजिक कार्यक्रम र क्यालिग्राफी प्रवर्द्धनमा व्यस्त थिइन।

रञ्जना लिपी चिनाउन उनले विशेष भूमिका खेलेकी थिइन। देश विदेशका विभिन्न ठाउँमा गएर उनले कार्यशाला गोष्ठी गरेकी छन्। सांस्कृतिक अभियन्ताका रुपमा नेपाल चिनाउन जुटेकी उनले शहरी योजना आयोगमा सहायक विज्ञका रुपमा काम गरेकी छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्