कांग्रेसको बूढानिलकण्ठ बैठक : लामो विवादपछि गुटगत समझदारी – Janadesh Daily | ePaper

कांग्रेसको बूढानिलकण्ठ बैठक : लामो विवादपछि गुटगत समझदारी


जनादेश दैनिक :

पार्टीको १४ औं महाधिवेशनको मुखैमा आएर बल्झिएको नेपाली कांग्रेसको आन्तरिक विवाद सञ्चारमाध्यममा निकै पोखिने गरेका छन् । विवादको उत्कर्षमा रहेका बेला पार्टी सभापति शेरबहादुर देउवाले विहीवार पदाधिकारी तथा पूर्वपदाधिकारीका माझ आसन्न १४ औं महाधिवेशनलाई लिएर शुभेच्छुक संस्थाको सहभागिताबारे विषद् छलफल चलाएका छन् ।

बूढानीलकण्ठस्थित देउवा निवासमा बिहान १०.०० बजेदेखि दिउँसो २.०० बजेसम्म बसेको बैठकले आठनौवटा एजेण्डामा छलफल गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेसभित्रको विवाद सार्वजनिक रुपमा छरपष्ट हुन थालेपछि शीर्ष नेताबीच यो बैठक बोलाइएको हो ।

यही फागुनभित्र हुने अधिवेशनलाई लक्षित गरी सभापति देउवाले मनोमानी र एकलौटी तरिकाले पार्टीका विभिन्न तह र शुभेच्छुक संस्थाहरुमा भटाभट मनोनयन र नियुक्ति गर्न थालेपछि वरिष्ठ नेता पौडेल पक्ष आगो हुँदै आएको थियो ।

केही गरी नथामिए पछि पौडेल पक्षले कामचलाउ रुपमा रहेका सभापति देउवाले लिएका सबै निर्णहरुको खारेजीको मागगर्दै पार्टी निर्वाचन समितिमा पनि उजुरी गरेको थियो । यस अघिका ध्यानाकर्षण पत्र, आपत्ति र पत्रकार सम्मेलनले देउवाको कानमा बतास लागेको थिएन ।

तर विहीवार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकपछि भने पौडेल पक्ष केही शान्त भएको देखिएको छ । वैठकमा देउवा केही बढी नै सकारात्मक भएपछि संवाद र सहमतिको वातावरण बन्न गएको प्रवक्ता शर्मा नै बताउँछन् ।

हाल पार्टीभित्र १४औं अधिवेशनका लागि क्रियाशील सदस्यतालाई फोकस गरिएको छ । तर पनि हरेक काग्रेस महाधिवेशनमा क्रियाशील सदस्यता छानबिन र मनोनयन निकै विवादित र जटिल बन्दै आएको छ ।

यस पटक राप्रपाबाट सुनील थापा प्रवेश गरेपछि त झन् घुँडामाथि पिलो थप हुन गएको छ । हाल थापासहितका नेताहरुको व्यवस्थापन पनि निकै विवादित हुन गएको छ । अन्य दलहरुले जनवर्गीय संगठनको नाम दिने पार्टी मातहतका जनसंगठनहरुलाई नेपाली कांग्रेसले शुभेच्छुक संगठन वा संस्थाहरु नामाकरण गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्