पीडितलाई रु नौ करोड – Janadesh Daily | ePaper

पीडितलाई रु नौ करोड


किमाथाङ्क ।

सङ्खुवासभाको मकालु गाउँपालिका–१ मा निर्माणाधीन इसुवाखोला हाइड्रोपावरले आयोजना पीडितलाई रु नौ करोड थप गरेको छ ।

हाइड्रोपावर कम्पनीले कीर्ते कागज बनाएर करोडाँै रकम अनियमितता गरेपछि स्थानीयवासी आन्दोलित भएका थिए । हाइड्रोपावरले कीर्ते कागज बनाएर ठगी गरेकोमा स्थानीयवासीले आपत्ति जनाएका थिए । मकालु गाउँपालिका–१ मा निर्माण गरिरहेको केविएनआर इसुवा हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई प्रतिरोपनी रु तीन लाखका दरले थप गर्ने भएको वडाध्यक्ष वाङ्दीछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

आयोजनाको नाम बेचेर जग्गाको अधिकतम प्रतिरोपनी रु दुई लाख मुआब्जा दिएर आठदेखि १० लाख मूल्य निर्धारण गरेको भेटिएपछि स्थानीयवासीले विरोध जनाएका थिए । आयोजनाले स्थानीयवासीलाई पाखोबारीको प्रतिरोपनी रु एक लाख ५० हजार र बारीको प्रतिरोपनी रु दुई लाख मुआब्जा दिएको थियो ।

इसुवा हाइड्रोपावर कम्पनी, स्थानीयवासी र मकालु–१ का वडाध्यक्ष शेर्पासहित बसेको बैठकले प्रतिरोपनी रु तीन लाख रकम थप गर्ने सहमति भएको हो । गत पुस १३ गते भएको सहमतिबाट प्रतिरोपनी रु तीन लाख थप गर्ने सहमति भएको वडाध्यक्ष शेर्पाको भनाइ छ ।

कम्पनीले स्थानीयवासीका जग्गा प्रतिआना रु एक लाखमा खरिद गरेको तर नक्कली कागजात बनाएर ३७ लाखसम्ममा खरिद गरेको देखाएर कम्पनीका नाममा करोडाँैको मूल्याङ्कन गरेको प्रमाण भेटिएको थियो ।

प्रतिरोपनी थप गरेको रु तीन लाखबाहेक बैठकले परियोजनाका लागि सडक निर्माण गर्दा प्रयोग हुने अन्य जग्गाबापत प्रतिरोपनी रु एक लाख थप गर्ने र यसअघि खरिद गरेको जग्गाको रकममा कट्टा गरेको पाँच प्रतिशत रकमसमेत फिर्ता गर्ने सहमति भएको पीडित कुसाङदोर्ची शेर्पाले बताउनुभयो ।

आयोजनाले पीडितलाई बैक खातामार्फत रकम भुक्तानी दिइने सहमतिमा उल्लेख छ । हाइड्रोपावर आयोजनाले करीब २५२ रोपनी जग्गा खरिद गरेको थियो । मकालु–१ मा ९७.२ मेघावाट क्षमताको विद्युत् उत्पादन गर्न इसुवाखोला हाइड्रोपावर केभिएनआर विराटनगर र बिगवल्र्ड हाइड्रोपावरले निर्माण गरिरहेका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्