काठमाडौँ,
नियात्राशिल्पी सरस्वती अर्यालको पहिलो नियात्रा कृति ‘हिमाल हेर्ने पाइलाहरु’ विमोचन भएको छ ।
नियात्रा समाज नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा अर्यालको पहिलो नियात्रा कृति विमोचन भएको हो । रसुवाको लाङटाङ हिमाल तथा मनाङ, मुस्ताङसम्म जाँदाका यात्रा अनूभूतिलाई समेटिएर लेखिएको उक्त कृति विमोचन गरिएको हो ।
कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले महिलाले हिमाली क्षेत्रमा भ्रमण गर्नु साहसिक कार्य भएको बताउँदै उक्त भ्रमणलाई पुस्तकमा उतार्नु झन् चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्नुभयो । लेखक अर्यालले आफ्ना यात्रा अनुभवलाई कृतिमार्फत पाठकमाझ ल्याउन पाउँदा गौरवको महसुस भएको बताउनुभयो ।
नियात्रा समाजका कोषाध्यक्ष गीता रेग्मीले अर्यालको नियात्रासँगै नेपालको नियात्रा क्षेत्रमा थप इँटा थपिएको उल्लेख गर्नुभयो । कार्यक्रममा साहित्यकार महेश पौड्याल, प्रतीक ढकाल, प्रभा बराल, भवानी खतिवडालगायतले महिलालाई यात्रामा निस्कन अनेक समस्या भए पनि पुस्तक तयार गरेर आम पाठकमाझ ल्याउनु प्रशंसनीय भएको बताउनुभएको थियो । रासस
पुस्तक मकालु प्रकाशनले बजारमा ल्याएको हो ।