एजेन्सी ।
क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेगको खेलमा शनिबार इटालियन टोली नेपोलीको सामना गर्दैछ । खेल नेपाली समयानुसार मध्यरातको १२:४५ बजे सुरु हुनेछ ।
पहिलो लेगमा खेल १-१ को बराबरीमा सकिएकोले दोस्रो लेगको खेल निकै प्रतिस्पार्धात्मक हुने अपेक्षा गरिएको छ । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोना जितको लागि दाबेदार मानिएपनि नेपोली सहज टोली पक्कै छैन । पछिल्लो समय कोरोनाभाइरसपछि कोप्पा इटालिया जितेको नेपोलीले लिगमा पनि राम्रो प्रदर्शन गरेको छ । नेपोलीले फाइनलमा युभेन्टसलाई हराउँदै उपाधि जितेको थियो ।
नेपोलीका लागि आजको खेल हर्भीङ लोजानोका लागि भने अन्य खेलाडीभन्दा विशेष महत्त्वको हुनेछ । मेक्सिकन फरवार्ड लोजानो बाल्यकालदेखि नै बार्सिलोनाको समर्थक रहँदै आएका छन् । उनले आफ्नो करिअरमा कुनै समय बार्सिलोनाको जर्सी पहिरिने सपना पनि देखेका छन् ।
लोजानोले अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीलाई आफ्नो आदर्शका रुपमा मान्दै आएका छन् । लोजानोले यसअघि सन् २०१८ मा पनि डच क्लब पीएसभीका लागि खेल्दा बार्सिलोनाको सामना गरिसकेका छन् । अझ बार्सिलोनाले त्यसबेला लोजानोलाई क्लबमा अनुबन्ध गर्ने प्रयास पनि गरेको थियो । तर ट्रान्सफर सफल हुन भने सकेन ।
लोजानो गत सिजन मात्र क्लब कीर्तिमानी ४२ मिलियन युरोमा नेपोली आएका थिए । त्यसबेला युरोपका ठूला क्लबले लोजानोलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । लोजानोले आफ्नो भविष्यका लागि नेपोली नै ठिक हुने भन्दै इटाली आउने निर्णय गरेका थिए ।
लोजानोले पछिल्लो समय नेपोलीको पहिलो रोजाईमा स्थान बनाउन निकै संघर्ष गर्नुपरेको छ । तर आजको खेलमा लोरेंजो इन्सिग्ने चोटका कारण खेल्ने नखेल्ने पक्का रहेको छैन । इन्सिग्ने खेल्न नसकेको अवस्थामा लोजानोले आफैं समर्थन गर्ने क्लबविरुद्ध खेल्ने अवसर पाउनेछन् ।