दशवुँदेवालाको विजोग हुँदा एमालेमा के छ पूर्वमाओवादीको स्थितिः बादलले प्रचण्डलाई आँटेनन् – Janadesh Daily | ePaper

दशवुँदेवालाको विजोग हुँदा एमालेमा के छ पूर्वमाओवादीको स्थितिः बादलले प्रचण्डलाई आँटेनन्


जनादेश वाच।

नेकपा विभाजन हुँदा ओलीतिर लागेका भगौडा माओवादीका केही लोभी नेता र नेकपा एमाले विभाजन गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेकै बेला एमालेका दोस्रो तथा तेस्रो पुस्ताका १० नेता खुबै चर्चामा थिए। केपी ओलीले १० बुँदे सहमति गरेर एमालेमै फर्किएका दोस्रो तथा तेस्रो पुस्ताका १० नेता र माओवादीका पद लोलुप भगौडाहरू यतिबेला पाखा परेका छन्। एमालेमा बसे पनि उनीहरू अध्यक्ष ओली भने अझै दाहिना भएका छैनन्।

चुनावका लागि पनि उनीहरूलाई सजिलो देखिँदैन। ओलीले ४ मंसिरको चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रामबहादुर थापा ‘बादल’ लाई भिडाउन चाहेका छन् । चितवन-३ मा प्रचण्डकै सहकर्मी बादललाई भिडाउने ओलीको चाहना भने पूरा नहुने लक्षण देखिएको छ । बादलले प्रत्यक्षतर्फ प्रतिनिधिसभाको चुनाव लड्न अनिच्छा देखाइरहेका छन् । बादलले आफू निकटका नेताहरूसँग आगामी चुनावबारे खासै छलफल गरेका छैनन् । बरु, चुनाव नै नलड्ने मनस्थितिमा रहेको बताउने गरेका छन् ।

नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमालेमा रहेका बादल बरु समानुपातिकमा बस्ने मनस्थितिमा पुगेको बादल जस्तै माओवादी केन्द्र छाडेर एमालेमा रहेका मणि थापा बताउँछन् । एमाले स्थायी कमिटी सदस्य मणि थापाले बादलको चुनाव लड्ने चाहना नरहेको बताए । ‘उहाँ (बादल) ले अहिलेसम्म निर्वाचनमा उठ्ने विषयमा केही कुरा गर्नुभएको छैन । सायद उहाँ सकेसम्म समानुपातिकमा बस्ने नभए राष्ट्रियसभामा जान चाहनुभएको जस्तो बुझेको छु,’ मणिले भने, ‘टिकट पाउन भने समस्या छैन । उहाँले सहज रूपमा पाउनुहुन्छ ।’

बादलको गृहजिल्ला चितवन हो । एमालेले प्रचण्डसँग बादललाई भिडाएर त्यसको सेन्टिमेन्ट क्यास गर्ने योजना बनाएपनि बादलको अनिच्छाले त्यो पूरा नहुने देखिएको हो । थपा चितवन- २ का मतदाता हुन् । एमालेको चितवन महाधिवेशनपछि बादल मौनजस्तै देखिएका छन् । पहिला ओलीसँग हरेक कार्यक्रममा देखिने उनी अचेल गुमनाजस्तै छन् ।

यो त भयो बादलको कुरा । नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमालेमा रहेका पूर्वमाओवादी नेताहरू कस-कसले टिकट पाउलान् भन्ने विषय चासोका साथ हेरिएको छ । एमालेका पूर्वमाओवादी नेताहरूमध्ये दर्जनभन्दा बढी टिकटका आकांक्षी छन् । माओवादीले पार्टी छाडेपछि कारबाही गरी उनीहरूलाई सांसद पदबाटै हटाएकाले स्वतः टिकट पाउन सक्ने चर्चा एमालेभित्रै भइरहेको छ ।

त्यसमध्येमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी प्रतिनिधिसभाका सांसद थिए । रामबहादुर थापा भने राष्ट्रियसभाका सांसद थिए । माओवादी केन्द्रमा स्थायी कमिटी सदस्यसमेत भइसकेका मणि थापा भने सांसद थिएनन् । माओवादी छोड्दा थापा गृहमन्त्री, भट्ट उद्योगमन्त्री, रायमाझी उर्जा ,जलस्रोत तथा सिँचाइमन्त्री, चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रभु साह शहरी विकासमन्त्री थिए । सिन्धुपाल्चोक- २ ख बाट प्रदेशसभामा पराजित भएका दावा लामालाई पनि ओलीले युवा तथा खेलकुदमन्त्री बनाएका थिए ।

बादल अहिले एमालेका उपाध्यक्ष छन् । रायमाझी र भट्ट सचिव छन् । मणि थापा र प्रभु साह स्थायी कमिटी सदस्य छन् । बालकुष्ण ढुङ्गेल, ज्वाला कुमारी साह पोलिटब्युरो सदस्य छन् । त्यस्तै गौरीशंकर चौधरी, सहदेव बोकटी, झपट बहादुर बोहरा, टेकबहादुर बलम्पाकी, दिनेश पन्थी, दावा लामा, धर्मराज रेग्मी, कुन्दन कुसहवा, उपेन्द्र साह, रिता साह, रामप्रित राय, रामचन्द्र मण्डल, शिला यादव र मोहम्मद समिर केन्द्रीय सदस्य छन् । उनीहरूमध्ये अधिकांश टिकटका दाबेदार छन् ।

अघिल्लो पटक चुनाव जितेकाले यसपटक टिकट पाउने सम्भावना बढी रहेको मणि थापा बताउँछन् । पूर्वमाओवादीबाट प्रत्यक्ष चुनाव जितेकाले टिकट पाउन त्यति असहज नहुने उनको विश्लेषण छ । ‘पार्टीले टिकट वितरणको मापदण्ड बनाउँदा पहिला जितेकाहरूलाई प्राथमिकतामा राखेमा पूर्वमाओवादीका प्रत्यक्ष जितेका नेताहरूले टिकट पाउनेछन्,’ उनले भने ।

टोपबहादुर रायमाझी अर्घाखाचीबाट टिकट पाउने नेतामा पर्छन् । एमालेमा अहिले उनको विकल्मा अर्को नेता नदेखिएको एमाले नेताहरू नै बताउछन् । उनले यसअघि तीन पटक चुनाव जितिसकेका छन् । ०६४, ०७० र ०७४ मा चुनाव जितेर ह्याट्रिक गर्ने नेतामा रायमाझी पर्छन् ।

त्यस्तै एमाले सचिव लेखराज भट्ट पनि कैलाली- ४ बाट टिकटका दाबेदार हुन् । उनले यसअघि सोही क्षेत्रबाट चुनाव जितेका थिए । अघिल्लो चुनावमा माओवादी केन्द्रबाट जितेका भट्ट एमालेको सचिवको हैसियतसहित यो पटक चुनाव लड्ने तयारीमा छन् । भट्टरलाई टिकट पाउन खासै समस्या नदेखिएको एमालेका नेताहरू बताउँछन् ।

यसअघि माओवादीबाट पटक-पटक चुनाव जित्दै आएका स्थायी कमिटी सदस्य प्रभु साह पनि रौतहट- ३ बाट टिकटका दाबेदार हुन् । उनलाई आफ्नो क्षेत्रमा बलियो जनाधार भएको नेताको रूपमा प्रचार गरिँदै आएको छ । साह टिकट पाउनेमा ढुक्क रहेको उनी निकट एक नेताले बताए ।

मणि थापा भने अहिले नै उम्मेदवार हुनेबारेमा सोच नबनाएको बताउँछन् । ‘अहिले नै चुनाव लड्ने/नलड्नेबारेमा केही सोचेको छैन । पार्टीले जुन भूमिकामा राखे पनि मलाई मान्य हुन्छ । मलाई टिकट दिनैपर्छ भन्दिनँ,’ उनले भने ।

त्यस्तै कैलाली- ३ बाट गौरीशंकर चौधरीले टिकटको आकांक्षा राखेका छन् । अघिल्लो पटक उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । चौधरीले आफ्नो क्षेत्रमा सक्रियता बढाउँदै लगेका छन् । उनले भने, ‘सांसद छैन, मन्त्री छैन, काठमाडौं बसेर के गर्नु ? निर्वाचन क्षेत्रमा पार्टीको काममा छु । संगठन बनाउने, भेटघाट गर्ने । आउदो चुनावको तयारी पनि हुन्छ ।’

पार्टीले टिकट दिए प्रतिस्पर्धा गर्न तयार रहेको उनी बताउँछन् । ‘अहिले पनि निर्वाचन क्षेत्रमा नै सक्रिय रूपमा संगठन बनाउन, भेटघाटमा लागेको छु । पार्टीले टिकट वितरणको मापदण्ड बनाउला हेरौँ के हुन्छ,’ उनले भने । त्यस्तै माओवादीबाट निर्वाचित र समानुपातिक प्रदेशसभा सांसदहरू पनि एमालेमा बसेका थिए । जसमा कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी, मधेश प्रदेशबाट कुन्दन कुसहवा, ज्वालाकुमारी साह, रामचन्द्र मण्डल र मोहम्मद समीर रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्