चाडपर्व भित्र्याउने साउन महिना – Janadesh Daily | ePaper

चाडपर्व भित्र्याउने साउन महिना


# डा. पदमराज कलौनी ।

साउने सङ्क्रान्ति र कर्कट सङ्क्रान्ति रहर्‍यालो पर्वरहरेलो पर्वरराँके पर्व (कर्णाली) र कालो महिनारखीर खाने महिनारलुतो फाल्ने सङ्क्रान्ति र शिवको महिना र दक्षिणायन आरम्भ र थारु गुरिया पर्व वा झुला पर्व र वर्षा ऋतु र बातो बाल्ने महिना र सात्त्विक महिना र पर्व भित्र्याउने महिना आदि ।

हाम्रो देश विविधताले भरिएको छ । भौगोलिकता अनुसार वर्षभर विभिन्न चाडपर्वहरू भव्यताका साथ मनाइन्छन् । चाडपर्वले मानिसको जीवनमा परिवर्तन र आनन्द ल्याउँछ । चाडपर्व सामाजिक विश्वास, परम्परा र विगतका संस्कारमा आधारित हुन्छन् । प्रत्येक भूगोल, समुदाय, जाति र धर्मका आ(आफ्ना आस्था अनुसार चाडपर्व फरक(फरक तरिकाले मनाइन्छन् । चाडपर्वका आ(आफ्नै परम्परा हुन्छन् । चाडपर्वले जातजातिको एकता कायम राख्न्छन् । मानव जीवनमा चाडपर्वको ठूलो महत्व छ । मानिसहरु चाडपर्वको आगमनमा खुसी भएर पूर्ण उत्साहका साथ सहभागी हुन्छन् । चाडपर्वले मानिसमा भएको हीनतालाई हटाउँदै सत्यता, इमानदारी र आत्मविश्वासको उच्च भावनालाई जन्म दिन्छ । श्रावण महिना खगोलशास्त्र, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । साउने सङ्क्रान्तिका दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धमा प्रवेश गर्दछ । सोही दिनबाट दिन छोटो र रात ठूलो हुन्छ भन्ने जनविश्वास छ । श्रावण र भाद्र महिना वर्षा ऋतुका द्योतक हुन् । पर्वहरु ऋतु आगमनमा सूचक पनि हुन् । वर्षाको सम्बन्ध समग्र जीवजन्तुको जीवनचक्र सञ्चालनका लागि महत्वपूर्ण छ । मानसखण्डमा साउने संक्रान्तिलाई चाडपर्व भित्र्याउने संक्रान्तिको रुपमा लिइन्छ । साउन महिनालाई धार्मिक हिसावले सात्त्विक मानिन्छ । साउन महिनालाई खीर खाने, कालो महिना, बातो बाल्ने महिना, शिव महिना आदिका रुपमा प्रख्यात छ ।

श्रावण महिनालाई कालो महिना भनिने हुँदा साँझपख घरआँगनमा बातो (बत्ती) बाल्ने गरिन्छ । महिनाभर शिवका मठमन्दिरमा पूजाआजा गरिन्छ । मानसखण्डमा श्रावण महिनालाई कालो महिनाको अर्को प्रसङ्ग छ । कालो महिनामा कपाल काट्नु हुन्न मान्यता पनि छ । कालोमहिनाका बारेमा बैतडीमा एउटा प्रख्यात लोकोक्ति छ( “माल झिरझिर काँणी कइ बाटा झौ, ठुलठुला गडाखेत नाननाना खाउ ।” यसको भावार्थ श्रावण महिनामा विष्णु (हरि) योगनिद्रामा जान्छन् । शिव कैलासमा बिराजमान हुन्छन् । सोही मौका छोपेर भूतपिचासले मानिस माथि आक्रमण गर्दछन् । घरका वयस्क र बुढाबुढी खेतगह्रामा काममा ब्यस्त भएको अवसर छोपी बालबालिका माथि आक्रमण गर्न आउछन् भन्ने मान्यता छ । भूतपिसाचको आक्रमणबाट बच्न घरको मूलढोकाको माथि झिरझिरकाँडी (कुरिलो)को हाङ्गा काटेर राख्ने प्रचलन छ । जसको प्रभावले भूतपिसाच भित्र पस्न सक्दैनन् भन्ने लोकविश्वास छ ।

साउने अविरल वर्षाले राती अँध्यारो हुन्छ । दिनमा कामकाज गर्न गाह्रो हुन्छ । राती स्वभावतः झनअँध्यारो हुने हुँदा कालो महिना भनिएको हो । प्रत्येक हिन्दूहरुले आ(आफ्ना घरमा साँझपख दीयोमा बत्ती बालेर घरआँगनको तुलसीमठमा राख्छन् । बत्ती बालेर शिवसँग सौभाग्य, परिवारको सुखशयल, समृद्धि, शान्ति, प्रेम, सदभाव र सुस्वास्थ्यको कामना गर्दछन् । मानसखण्ड शिवको तपस्या स्थल र घर भएकोले साउनमा देवाधिदेव महादेवरशिवको श्रद्धाभक्तिले आराधना गरिन्छ । श्रावण महिना शिवलाई समर्पण गरिन्छ । शिवको आराधना गरिने हुँदा श्रावण महिना शकाहारी महिना मानिन्छ । वर्षा ऋतुको अर्को भाद्र महिनामा मानसखण्डको महान एवं पार्वतीको पूजाआजा गरी मनाइने पर्व गौरा पर्दछ । गौरापर्व पनि शाखाहारी पर्व नै हो ।

हर्‍यालो पर्व हरियालीसँग सम्बन्धित छ । खेतीपाती गरिसकेपछि भूमिलाई भूम्या देवता (भूमिदेवता) स्वीकार गरी हर्‍यालो गाडिन्छ । हर्‍यालोलाई शिवपार्वतीको प्रतीकको रुपमा गाड्ने गरिन्छ । हर्‍यालो मेलको फलेको फलसहितको हाङ्गा र वनमा पाइने तेलपउरो (स्थानीय नाम) बुट्यानको हाङ्गा काटेर खेतको मध्यभागमा गाडिन्छ । हर्‍यालो शिवपार्वतीको विवाहको प्रतीक एवं सम्झना स्वरुप अटल सौभाग्यको कामना गरी गाडिन्छ । कृषिको जीवन चक्र वर्षा सुरु भएपछि हुने भएकोले रोपाइँको महत्व मानव जीवन अत्यन्त महत्वपूर्ण छ । रोपाइँ भन्ने वित्तिकै असार महिना सम्झिने भए पनि असार महिनामा प्रारम्भ भएको रोपाइँ विधिवत समापन साउने सङक्रान्तिमा गरिन्छ । धान मानिसका लागि प्रमुख अन्न बाली हो । धानबालीमा अत्यधिक पानीको आवश्यक्ता पर्ने भएकोले साउन महिनाको विशेष महत्व मानिन्छ । शिवपार्वती कैलासबासी भएकाले पानीको प्रमुख श्रोत पनि कैलास अर्थात् हिमालय मानिन्छ ।

हर्‍यालो र हरेलोको शाब्दिक अर्थ हरियाली हो । हर्‍यालो पर्वको सन्देश प्रकृतिसँग समर्पित रहनु पर्छ भन्ने हो । मानसखण्डमा हर्‍यालो (लोक) पर्व प्रत्येक वर्ष श्रावण महिनाको पहिलो दिन अर्थात् श्रावण १ गते मनाइन्छ । हर्‍यालो रोपाडरधनाड (रोपाइँ गरेको गह्रा), कोदाड (कोदो लगाएको गह्रा), घोगाड (मकै लगाएको गह्रा) आदि खेतको मध्यभागमा गड्ने प्रचलन छ । हर्‍यालो गाड्नुले खेतीपातीको गोडमेल सकिएको मानिन्छ । हर्‍यालो गाड्दा आ(आफ्नो फुर्सदले गाड्ने हुँदा सामूहिकता देखिदैन् । हरेलो गाड्दा खेतीपातीमा प्राकृतिक तथा रोगब्यापीको प्रकोप नहोस र खेतीपाती असल भै सुखसमृद्धि छाओस भन्ने कामना गरिन्छ । किसानले भूम्या (स्थानीय) देवता र शिवपार्वतीसँग प्राथना गर्दछन् । हर्‍यालोमा प्रयोग भएको वस्तुलाई शिवपार्वती संकेत मानिन्छ । हर्‍यालो समग्र मानसखण्ड क्षेत्र (कथित सुदूरपश्चिम र भारतको उत्तराखण्ड) मनाइन्छ ।

हर्‍यालो पर्वलाई महिलाले सौभाग्यको रुपमा मनाउछन् । तिथिले फरक नपरेमा तीजपर्व श्रावण महिनामा पर्दछ । महिलाहरु सौभाग्यको प्रतीकको रुपमा हरियो चुरा, हरियो साडी र ब्लाउज, हरियो पोते, मेहन्दी आदि लगाउने गर्दछन् । तीजले प्रकृतिपूजक, कामभावना, पतिपत्नी बीचको आकर्षण आदिलाई जनाउछ । पार्वतीले रुखका हरिया पात र बोक्रा धारण गरी शिवजीको आराधना गरेको प्रसङ्गले महिलाहरु हरियो वस्त्र र गरगहना लगाउने गर्दछन् । हरियो रङलाई प्रज्ञा, धन, आरोग्य, सन्तान, सुख एवं समृद्धिको प्रतीक मानिन्छ ।

मानिसको तन(मनमा हरियालीले प्रफुल्लताको भाव सञ्चारित गर्दछ । पर्वले लोकविज्ञान र जैविक विविधतालाई जोड्दछ । साउने सङ्क्रन्तिले सामाजिक सदभाव, अखण्ड प्रेम र प्रकृतिसँग प्रगाढ प्रेमलाई दर्शाउछ । खेतखलियानदेखि प्रकृति हराभरा र यौवना अवस्थामा हुन्छ । बर्खाको मौसम निरन्तर वर्षा, बाढी पहिरो, बाटोघाटो बन्द, यातायातमा कठिनाइ, सर्प लगायतका विषालु कीरा(फटेङ्ग्राको प्रकोप हुने भए पनि जीवजन्तुको प्रजनन प्रक्रियाले समग्र जीवजन्तुको जीवन सञ्चालन भइरहेको हुन्छ । साउनलाई प्रकृतिको यौवन महिना मानिन्छ । वर्षभर सुख्खा रहने वृक्षहरु पनि बर्खा लागेपछि हरिया हुन्छन् । वनपाखा, खेतबारी, लेकवेशी चारैतिर हरियाली हुन्छ । बर्खामा लगाएका वृक्षहरु सजिलैसँग सर्ने हुँदा मानिसहरु सार्वजनिक स्थल स्कुल, मठमन्दिर, कलेज आदि सार्वजनिक क्षेत्रमा बिरुवा रोपण (वृक्षारोपण र) गर्दछन् ।

साउन महिनामा नागपञ्चमी, रक्षबन्धनरराखी, जनैपूर्णिमा, तुलसी रोपण र हरिशयनी एकादशी, तीज आदि प्रमुख पर्व पर्दछन् । हरिशयनी एकादशीका दिनदेखि भगवान् विष्णु योगनिद्रामा शयन गर्ने हुँदा भगवान् शङ्करले नै सृष्टिको पालन गर्ने भूमिका निर्वाह गर्छन् भन्ने पौराणिक मान्यता छ । कथनअनुसार दक्षप्रजापतिका घरमा आयोजना भएको यज्ञमा तिरस्कृत सतीदेवीले यज्ञकुण्डमा प्रवेश गरी देहत्याग गर्दै अर्को जन्ममा पनि शिवजीलाई नै पति पाउँ भन्ने कामना गरेकी हुनाले उनी हिमालय र मेनकाकी छोरी पार्वती भएर जन्मेकी हुन् भन्ने पौराणिक कथा छ । पार्वतीले शिवजीलाई पति पाउन श्रावण महिनाभर निराहार रही कठोर तपस्या गरेपछि मात्र शिवजीलाई पतिका रूपमा प्राप्त गरेको सम्झनामा मानसखण्डका महिलाहरु श्रावण महिनाभर शिवजीको आराधना गर्दछन् । शिवलाई खुशी पार्न पूरुषहरु जोगीको भेषमा बोलबम यात्रामा जाने प्रचलन छ ।

बर्खेबाली सकेर किसानहरु फुर्सदमा हुन्छन् । किसानीकर्मको चटारोले मानिसले आफ्नो शारीरिक सरसफाईमा ध्यान दिन सकेको हुँदैन् । दैनिकजसो खेतबारीमा रोपाइँ, खनजोत, गोडमेल, सिंचाई गर्नु पर्ने भएकोले मानिसको दिनचर्या फोहरमय हुन्छ । फोहरमैलोबाट मुक्ति पाउने भएकाले साउने सङ्क्रान्तिलाई लुतो फाल्ने सङ्क्रान्तिको रुपमा पनि मनाइन्छ । चौमासको घामपानीमा किसान थकित र गलित हुन्छन् । घामपानीले शरीर कमजोर भै रोगब्याधीको संक्रमण हुने भय हुन्छ । सङ्क्रान्तिको बहानामा बुढाबुढीदेखि बालबालिकाले अनिवार्य नुहाउने प्रचलन छ । कृषिकर्ममा प्रयोग भएका हलो, कुटो, कोदालो, गोरु आदिको सरसफाइ गरिन्छ । कृषि औजार सफा र सुख्खा गरी यथोस्थानमा थन्क्याउछन् ।

लोकपर्वहरु पूर्वजका बिरासत हुन् । चाडपर्वको सम्बन्ध प्रकृतिसँग जोडिएको हुन्छ । मानिस र प्रकृतिको घनिष्ठ सम्बन्धलाई दर्शाउँछन् । समय(समयमा प्रकृति प्रतिको असीम श्रद्धा र सम्मान व्यक्त गरिन्छ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोको माध्यमले मानवशरीरमा प्रवेश गरेका विभिन्न किसिमका रोगाणु, जीवाणु र एवं परजीवीबाट बच्न लुतो फाल्ने प्रचलन यद्यपी अहिलेसम्म जीवन्त छ । कही कतै कण्डारक नामक राक्षसको पूजाआजा फलफूल, नैवेद्य चढाएर गरिन्छ । कण्डारक राक्षसको पूजा गर्नाले शरीरमा भएको दाद, लुतो, खटिरा, घाउ आदि छालाजन्य रोग निको हुने जनविश्वास छ । विवाहित महिला साउने संक्रान्तिदेखि साउन महिनाभर सौभाग्यको कामना गर्न शिवको पूजाआराधना गर्दछन् ।

साउन महिनाको महत्वका बरेमा अनेकन पौराणिक एवं लोककथन प्रचलित छन् । स्कन्द पुराणमा शिव र सनत्कुमारका बीचमा भएको सम्वाद अनुसार भगवान विष्णु योगनिद्रामा जाने हुँदा पृथ्वीमा भूतपिचासको भय हुन्छ । त्यसपछि शिवले सृष्टिको पालना गर्नु पर्ने दायित्व लिन्छन् । भूतपिचासको भयबाट मुत्ति पाउन मानिसले मन्दिर र घरमा रुद्राभिषेक गर्दछन् । सतीले कठोर तपस्यागरी आशुतोष (शिव)लाई वर प्राप्त गरेको महिनाको रुपमा पनि लिइन्छ । मारकण्डेय (मारकण्ड ऋषि पुत्र) ले दीर्घ आयुका लागि श्रावण महिनामा घोर तप गरी मृत्युका देवता यमराजलाई नममस्तक बनाएर दीर्घायु प्राप्त गरेका थिए । श्रावण महिनामा शिव ससुराली (पृथ्वीमा) आउछन् । श्रावण महिनामा समुद्र मन्थन भएपछि बीष पिएर शिव नीलकण्ठ भएका हुन् आदि अनेकन प्रसङ्ग छन् ।

हर्‍यालो पर्व मनागउदा बर्खे बालीको उत्पादन बढ्छ र मानव जीवनमा सुख, समृद्धि र शान्ति भित्रिन्छ भन्ने मान्यता र विश्वास छ । खेतीपातीमा कुनै किसिमको रोगब्याधी र प्राकृतिक प्रकोपले नोक्सानी गरोस भनेर स्थान विशेषका देवी देवताको स्मरण गर्दै सुरक्षार्थ आव्हान गरिन्छ । हर्‍यालो गाड्नु भनेको स्थानीय भूमि देवताको सूचक पनि हो । हरेलो गाड्दा प्रायः केटाकेटी वा कृषिकर्म गर्ने मानिसले गाड्छन् । हर्‍यालो गाड्दा गाइने परम्परागत गीत( “जी रया, बाची रया, यो दिन बार, भेट्याइ रया, दुबाकी जस्या चौडी झ्या, पात जस्या पजरी झ्या, स्याल झा चतुर होइझ्या, हिमालयमाइ हिँउ छन्ज्या, गंगामाई पानी छन्झ्या, हर्‍यालो त्यार मान्नाइ र्‍या, जी रया बाची रया” भन्ने गरिन्छ । चाडपर्वले देश वा क्षेत्रलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँछन् । चाडपर्वहरूले राष्ट्रिय एकतालाई मजबुत बनाउँछन् । नागरिकको मनमा देशभक्ति र मित्रताको भावना जगाउँछन् । चाडपर्वहरू नेपाली सांस्कृतिक परम्परा र सभ्यताका प्रतीक हुन् । नेपाली संस्कृतिको वास्तविक पहिचान चाडपर्वहरूबाट झल्किन्छ । हर्‍यालो पर्वले मानिसको जीवन एवं प्रकृतिसँग विशेष महत्व र सम्बन्धलाई उजागर गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्