एजेन्सी ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्धको क्वाटरफाइनल खेलका लागि चोटसँग संघर्षरत युवा स्टार केलियन एमबाप्पेलाई टोलीमा समेटेको छ ।
एमबाप्पेले २५ जुलाईमा सेन्ट इटिनेविरुद्धको फ्रेन्च कप फाइनल दौरान चोट बोकेका थिए । उनी पुुर्णरुपमा फिट हुन कम्तीमा तीन साता लाग्ने बताइएपनि पीएसजीले आफ्ना स्टार फरवार्डलाई टोलीमा समेटेको हो । सेन्ट इटिनेका डिफेन्डर लोइच पेरिनले घातक फल गरेपछि एमबाप्पे खेलको ३१औं मिनेटमा नै मैदान छोड्न बाध्य भएका थिए । पीएसजीले १–० ले उपाधि जितेपछि उनले बैशाखीकै साहारामा टिमसँग खुशियाली मनाएका थिए ।
पीएसजीले एटलान्टासँग १३ अगष्टमा पोर्चुगलको लिस्वनमा खेल्नेछ । पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई समग्रमा ३–२ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो । ‘समय निकै कम छ । हामी टोलीको डाक्टरसँग नियमित छलफलमा छौं । फेरि अर्कोपटक यस विषयमा छलफल हुनेछ । एमबाप्पे एटलान्टासँगको खेल सम्ममा ठीक हुनेमा हामी आशावादी छौ । तर उनी खेल्न नसक्ने भएको खण्डमा बेञ्चमा नै बस्ने छन्,’ पीएसजीका प्रशिक्षक थोमस टुचेलले भने । पीएसजी सेमिफाइनल पुगेको अवस्थामा एमबाप्पेले खेल्न सक्ने प्रशिक्षक टुचेलको विश्वास छ ।
पीएसजीको २८ सदस्यीय टोलीमा नेयमार, एन्जल डी मारिया, थियागो सिल्भा, माउरो इकार्डी, लेभिन कुर्जावा, केलर नाभास, पाब्लो साराविया लगायतका खेलाडी छन् । पीएसजी एटलान्टालाई पराजित गर्दै १९९४–९५ को सिजनपछि पहिलोपटक सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । सेमिफाइनलमा पुगेको खण्डमा पीएसजीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन आरबी लाइप्जिग बीचको विजेतासँग खेल्नेछ ।