काठमाडौं ।
कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको खेलको लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरुको कोरोना परिक्षण सोमबार र मंगलबार हुने भएको छ ।
एक महिनाको योजनामा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्नुअघि बन्द प्रशिक्षणमा रहेका सबै खेलाडी, कोचिङ स्टाफ, टिम अफिसियल, होस्टेल स्टाफको कोरोना परिक्षण गर्न लागेको एन्फाले जनाएको छ । सबैको परिक्षण पाटन अस्पताल लगनखेलमा हुनेछ । दुईदिनमा सबैको कोरोना परिक्षण सकिने एन्फाले जनाएको छ ।
एन्फाले प्रशिक्षणका लागि १७ बुदे प्रोटोकल तयार पारिसकेको छ । नेपाली टोलीले १ भदौबाट प्रशिक्षण थाल्ने तयारी गरेको छ । सुन्दर ढोका साथी सेवाको समन्वयमा एन्फाले बिहीबार एन्फा होस्टेल र एन्फा कार्यालय डिसइन्फेक्सन गरिसकेको छ । परिक्षणको रिपोर्ट आएपछि खेलाडीलाई एन्फा होस्टेलमा राखिनेछ । प्रशिक्षण अवधिभर खेलाडीले होस्टेल छाड्न पाउनेछैन ।
बन्द प्रक्षिणमा ३४ खेलाडीलाई डाकिएको छ । मुख्य प्रशिक्षक योहान कालिन नरहेको अवस्थामा सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीलाई प्रशिक्षण दिने छ । गोलकिपिङ प्रशिक्षकमा एन्फाले राष्ट्रिय टोलीका पुर्वगोलरक्षक विकास मल्ललाई नियुक्त गरिसकेको छ । एन्फाले १० देखि १२ जना सम्मको समूहमा राखेर खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने तयारी गरेको छ ।
नेपालले घरेलु मैदान दशरथ रंगशालामा ८ अक्टोबरमा चाइनिज ताइपेइ, १३ अक्टोबरमा अष्ट्रेलिया तथा १३ नोभेम्बरमा जोर्डनसँग खेल्ने तालिका छ ।