एजेन्सी ।
बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीका लागि यो सिजन निकै सुखद बितिरहेको छ । शनिबार च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध २ गोल र २ असिस्टसाथ बायर्नलाई ४-१ को जित दिलाएसँगै टोलीले क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।
पोल्यान्डका ३१ वर्षीय फरवार्डले चेल्सीविरुद्ध पहिलो लेगमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । चेल्सीविरुद्ध दुवै लेगमा बायर्नले ७ गोल गर्दा लेवान्डोस्कीले ३ गोल गर्नुका साथै ४ असिस्ट प्रदान गरेका थिए । यससँगै उनले च्याम्पियन्स लिगका ७ खेलमा १३ गोल पुर्याएका छन् । यो संख्या रोनाल्डोले सन् २०१३-१४ सिजनमा गरेको भन्दा ४ गोल कम हो ।
यदि बायर्नले लिस्बनमा हुने फाइनलमा स्थान बनाउन सक्यो भने लेवान्डोस्कीलाई उक्त कीर्तिमान तोड्न ३ खेल उपलब्ध हुनेछ । लेवान्डोस्की आफू भने उक्त कीर्तिमान रच्ने आफ्नो कुनै लक्ष्य नरहेको बताउँछन् ।
‘मेरो लक्ष्य कीर्तिमान तोड्नु छैन । हामीले अझै नकआउट चरणमा केहि खेल खेल्नुछ । मलाई टोलीको जितमा गोल गर्ने मात्र होइन, गोलको अवसर सिर्जना गर्न पाउनुमा उत्तिकै खुसी मिल्छ,’ लेवान्डोस्कीले भने ।
लेवान्डोस्की रोनाल्डोको एकै सिजनमा सर्वाधिक गोलको कीर्तिमान नजिक पुगेका छन् । तर समग्रमा भने रोनाल्डो निकै अगाडि रहेका छन् । लेवान्डोस्कीले चेल्सीविरुद्ध शनिबार दुई गोल गर्दै समग्रमा च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने सुचीको चौथो स्थानमा उक्लिए । उनले हालसम्म कुल ६६ गोल गरेका छन् ।
च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने सुचीको शीर्षस्थानमा रहेको रोनाल्डोको १ सय ३० गोल छ । दोस्रो स्थानमा बार्सिलोनाका कप्तान लिओनेल मेस्सी १ सय १५ गोलसहित छन् । तेस्रो स्थानमा रियल म्याड्रिडका दिग्गज राउल ७१ गोलमा छन् भने पाँचौ स्थानमा करीम बेन्जेमाले ६५ गोल गरेका छन् ।
जारी सिजन लेवान्डोस्कीले सबै प्रतियोगितामा ५३ गोल गरिसकेका छन् । यसका लागि उनले ४४ खेल मात्र खेलेका छन् । लेवान्डोस्कीले च्याम्पियन्स लिगको समूह चरणमा रेड स्टार बेलग्रेडविरुद्ध एकै खेलमा ४ गोल गरेका थिए । उनले जर्मन बुन्डेसलिगामा साल्केविरुद्ध र युरो छनोटमा लात्भियाविरुद्ध पनि ह्याट्रिक गरेका थिए ।