कहाँ कहाँ मिलेन कुराः यी हुन् सत्तारुढ गठबन्धनमा सहमति नजुटेका प्रमुख निर्वाचन क्षेत्र – Janadesh Daily | ePaper

कहाँ कहाँ मिलेन कुराः यी हुन् सत्तारुढ गठबन्धनमा सहमति नजुटेका प्रमुख निर्वाचन क्षेत्र


जनादेश वाच।

सत्ता गठबन्धनमा रहेका पाँच दलले गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको सिट भागबण्डा गर्ने प्रयास थालेको १ महिना भन्दा बढी भैसकेको छ। गत साउन २० गते कार्यदल बनाएर काम थालेका उनीहरूबीच अझै सिट बाँडफाँटको टुंगो लागेको छैन। डडेलधुरा, चितवन–३, रौतहट–१ र सप्तरी–२ कुन पार्टीलाई दिने भन्नेमा कार्यदलमा शुरुदेखि बहस नै भएन। यी क्षेत्रमा क्रमशः कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले रोजेका निर्वाचन क्षेत्र हुन्। शीर्ष नेतादेखि कार्यदलका सदस्यहरुलाई समेत प्रतिनिधिसभाको सिट टुंगो लगाउन सकस परेपछि प्रदेशसभाको सिट भागबण्डा थालेका छन्। प्रतिनिधिसभातर्फ १२ सिट बाँडफाँटमा नेताहरु अत्यन्तै सकसमा परेका छन्। विषेशगरी ०७४ सालको चुनावमा जुन पार्टीले जितेको हो, सो ठाउँ उसैलाई छाडिदिने मोटामोटी सहमति भएको हो।

प्रचण्डको फरक रणनीति
सत्तारुढ घटकमध्येको एक नेकपा माओवादी केन्द्र भने समानुपातिकतर्फका उम्मेदवार टुंगो लागेपछि मात्र सिट बाँडफाँट टुंगो लगाउने रणनीतिमा देखिन्छ। समानुपातिक उम्मेदवार बनाउनुपर्नेहरुको व्यवस्थापन भएपछि सिट बाँडफाँटमा सहज हुने माओवादीको बुझाइ छ। कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिट एकै पटक टुंगो लगाउने पक्षमा थिए। तर, माओवादी अध्यक्ष प्रचण्डले समानुपातिकतर्फका उम्मेदवारहरुको टुंगो लागेपछि सिट बाँडफाँट टुंगो लगाउन सहज हुने बताएछि नेताहरुले ढिलाइ गरेको स्रोतको दाबी छ। माओवादी अध्यक्ष दाहालको प्रस्ताव अनुसार ढिलाइ गर्नका लागि नेताहरुले प्रदेशसभातर्फको सिटको टुंगो लगाउन छलफल थालेका छन्। स्रोतले माओवादी अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै भन्यो, ‘शीर्ष नेताहरुको बैठकमा प्रचण्डले समानुपातिक उम्मेदवार टुंगो लागेपछि क्षेत्रमा प्रतिनिधित्व हुन्छ र केही उम्मेदवारहरुलाई पनि समानुपातिकमा सहभागी गराउन सकिन्छ। त्यसैले प्रतिनिधिसभाको सिट टुंगो लगाउन बाँकी क्षेत्र छोडेर प्रदेशसभाको गृहकार्यमा लागौं।’

गगनको भूमिकाले बढाएको शंका
सिट बाँडफाँटका लागि सहमतिको मस्यौदा तयार पार्न गठन गरिएको ११ सदस्यीय कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि छन्। उनी हरेक बैठकमा सहभागी हुने गरेका थिए। थापा शीर्ष नेताको बैठकमा समेत प्रवेश पाउँथे। तर, गठबन्धन र कार्यदलको पछिल्ला तीनवटा बैठकमा गगन उपस्थित भएका छैनन्। उनको अनुपस्थितिले गठबन्धनका चार दललाई भने झस्काएको छ। गगन कांग्रेसले निर्वाचन क्षेत्र लिनुपर्दा १०० बाट घट्न नहुने अडानमा छन्। केही दिन उनी अनुपस्थित हुनुको कारण कांग्रेसलाई मनोवैज्ञानिक दबाब दिन खोजेको र धेरै लचक नहुन भनेको हुन सक्ने सन्देश दिने खोजेको रुपमा अन्य दलले लिएका छन्। कार्यदलका एक सदस्यले भने, ‘कांग्रेसभित्र आन्तरिक दबाब होला, शेखर समूहले भनेका कुरा बाहिर सार्वजनिक भएकै छन्। समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने समयसम्म लचक देखिएको कांग्रेस समानुपातिक सूची बुझाएछि अलि बढी अडानमा देखिएको छ। गगन पनि उपस्थित छैनन्। यसले अरु दलहरुलाई झस्काएको छ।’ अर्कोतर्फ गठबन्धनमा रहेका अन्य दलहरु कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको प्रारम्भिक सूचीलाई लिएर शेखर समूहमा बढेको असन्तुष्टिले पनि झस्किएका छन्। शेखर समूहले गरेको अलग्गै भेला र आन्तरिक छलफलले गठबन्धनको बैठकमा चर्चा भएको थियो। बैठकमा कतिपय नेताले खेलाँची गर्दागर्दै विद्रोह हुन सक्ने र त्यसले गठबन्धनलाई नै धक्का लाग्न सक्ने भन्दै समयमै सचेत हुन देउवालाई सुझाव दिएका थिए।

यी हुन् भागबण्डामा सकस भएका क्षेत्र

धनकुटा
एउटा निर्वाचन क्षेत्र रहेको धनकुटामा कांग्रेस, माओवादी र जनता समाजवादीको दाबी छ। यहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा उम्मेदवार बन्ने निश्चित छ। यस्तै, माओवादीबाट पोलिटब्युरो सदस्य हेमराज भण्डारीको दाबी थियो। तर भण्डारीले आइतबार माओवादी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। जनता समाजवादीका रकम चेम्जोङ उम्मेदवार बन्ने निश्चित छ। माओवादीका भण्डारीले पार्टी छोडेपछि अब यहाँ कांग्रेस र नेकपा एकीकृत समाजवादीको दाबी कायम रहेको देखिन्छ। चेम्जोङ सिट बाँडफाँट कार्यदलका सदस्य समेत हुन्। चेम्जोङ सुनिल थापालाई कुनै पनि हालतमा क्षेत्र नछाड्ने अडानमा छन्। कार्यदलका एक सदस्यका अनुसार कार्यदलमा नै रहेका चेम्जोङले दाबी नछोड्दा यो क्षेत्रका बारेमा निर्णय गर्न समस्या भएको हो। २०७४ को चुनावमा धनकुटाबाट नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी भएका थिए। यसपाली पनि उनी नै चुनावी मैदानमा उत्रँदैछन्।

काठमाडौं–२
काठमाडौं–२ मा २०७४ सालमा एमाले उम्मेदवार भएर माधवकुमार नेपालले जित निकालेका थिए। यो क्षेत्रमा माधव नेपालले छोडेपछि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको दाबी थियो। तर नेकपा एकीकृत समाजवादीका तर्फबाट यो क्षेत्रमा दाबी गरेको उपाध्यक्ष प्रमेश हमाललाई समानुपातिकतर्फ उम्मेदवार बनाएपछि दाबी छोडेको देखिन्छ। नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष हमाललाई समानुपातिकको बन्दूचीमा समावेश गरेर यो क्षेत्रमा माओवादीको पक्षमा उभिने सहमति दुई पार्टीका बीचमा भएको कार्यदलका एक सदस्यले बताए। कांग्रेस यो क्षेत्र माधव नेपाल बाहेक अरु कसैलाई नछोड्ने अडानमा देखिन्छ। माओवादीलाई एकीकृत समाजवादीसँग सहमति गरेर नै पूर्वसभामुख ओनसरी घर्तीको नाम यो क्षेत्रबाट सिफारिस गरिएको अनुमान पनि कार्यदलका ती सदस्यले बताए। कांग्रेसबाट यो क्षेत्रमा संविधानसभा सदस्य दीपक कुइँकेल र पुराना नेता लोकेश ढकालको दाबी सशक्त देखिन्छ।

काठमाडौं–७
काठमाडौं–७ पटक पटक छोडेको भन्दै कांग्रेसमा व्यापक असन्तुष्टि बढेकाले यो क्षेत्र कांग्रेस यो पटक कुनै पनि हालतमा छोड्ने पक्षमा देखिँदैन। तर यो क्षेत्रमा जसपाको सशक्त दाबी रहेको छ। काठमाडौंमा माओवादी र नेकपा एकीकृतले एक–एक क्षेत्र पाउँदा आफ्नो पार्टीले पनि काठमाडौंमा एउटा क्षेत्र नछोड्ने अडानमा जसपाका नेताहरु देखिन्छन्। जसपाले यो क्षेत्रमा संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

प्युठान
गठबन्धनमा राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ। तीमध्ये बाग्लुङको एउटा निर्वाचन क्षेत्र चित्रबहादुर केसीलाई दिने कुरामा सत्ता गठबन्धनभित्र सहमति देखिए पनि प्युठानमा जित्ने उम्मेदवार चाहिन्छ भन्दै कांग्रेसले पनि दाबी गरिरहेको छ। माओवादीले पनि प्युठानबाट वामदेव गौतमलाई चुनाव लडाउने प्रस्ताव गरेको छ। तर, जनमोर्चाले दाबी छाडेको छैन। जनमोर्चाले प्युठानबाट निवर्तमान सांसद दुर्गा पौडेलको नाम सिफारिस गरेको छ। यो क्षेत्रमा कांग्रेस, जनमोर्चा र माओवादीको दाबी देखिन्छ। प्युठान राष्ट्रिय जनमोर्चालाई दिने कुरामा गठबन्धनबीच सहमति जुटेको नेताहरुले दाबी गरे पनि माओवादीको चिन्ह लिएर चुनाव लड्न तयार भएका वामदेव गौतमले पनि प्युठान नै मागेका कारण कांग्रेसले पनि आफ्नो दाबी कायम राखेको छ। २०७४ को प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाले जितेको एउटा मात्र निर्वाचन क्षेत्र हो प्युठान। त्यसबेला जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले कांग्रेस उम्मेदवार डा. गोविन्दराज पोखरेललाई पराजित गरेर चुनाव जितेकी थिइन्। अहिले पोखरेलले पनि चुनाव लड्न चाहेका छन्। एमालेबाट भने सूर्य थापा लड्ने पक्कापक्की जस्तै छ।

मोरङका दुई क्षेत्र
माओवादीले प्रदेश नम्बर १ का झापामा एउटा र मोरङमा दुईवटा निर्वाचन क्षेत्र दाबी गरेको थियो। झापामा जितेको क्षेत्र नम्बर १ माओवादीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई छोडेर एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा–५ लिएको छ। झापा–५ मा माओवादीले विद्यार्थी नेता रन्जित तामाङलाई उम्मेदवार बनाउने तयारी गरिसकेको छ। माओवादीले जितेका क्षेत्र नम्बर ४ र ५ मा भने सहमति जुट्न सकेको छैन। २०७४ सालमा माओवादीका अमनलाल मोदीले जितेको क्षेत्र नम्बर ४ र शिवकुमार मण्डलले जितेको क्षेत्र नम्बर ५ मध्ये एउटामा कांग्रेसको दाबी छ भने एउटामा जसपाको दाबी छ। माओवादीले दुवै क्षेत्रमा दाबी गरिरहेको छ। तर मोरङ ४ मा कांग्रेसले आफ्नो दाबी छोडेको छैन। यो क्षेत्रमा कांग्रेसका महेश आचार्य र गुरुराज घिमिरेमध्ये एकलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

मोरङ ५ को समस्या पनि यस्तै छ। ०७४ को चुनावमा माओवादीका शिवकुमारले एमालेको समेत साथ पाएर २२ हजार ९४५ मत ल्याएर जित्दा कांग्रेसका अमृत अर्यालले १९ हजार १५३ मत ल्याएका थिए। जबकि यहाँ जसपाको मत कांग्रेसकै हाराहारीमा छ। ०७४ को चुनावमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीबाट राजकुमार यादवले १८ हजार ६४९ मत पाएका थिए। अहिले स्थानीय तहको चुनावमा पनि यो क्षेत्रमा माओवादी भन्दा बलियो रहेका कारण जसपाले पनि यस क्षेत्रबाट आफ्नो दाबी नछाडेको हो। कार्यदलमा रहेका एक सदस्यका अनुसार जसपाले एक्लै जित्ने क्षेत्रका रुपमा मोरङ ५ लाई पनि राखेकाले दाबी नछोड्ने देखिन्छ।

सिन्धुपाल्चोक–१
शीर्ष नेताहरुलाई टुंगो लगाउन सकस परेको क्षेत्र सिन्धुपाल्चोक–१ पनि हो। यहाँ २०७४ सालामा सभामुख अग्निप्रसाद सापकोटाले जित निकालेका थिए। सापकोटा ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट विजयी भएका हुन्। उनी यसपटक पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। ०७४ बाहेक माओवादीको एक्लो प्रयासले सो क्षेत्र जितेका सापकोटालाई क्षेत्र छोड्न कांग्रेस नेता मोहनबहादुर बस्नेत तयार छैनन्। बस्नेतले पार्टीले क्षेत्र नलिए विद्रोह गर्ने चेतावनी दिइसकेका छन्। स्थानीय तहको निर्वाचनमा समेत यो क्षेत्रमा एमाले र माओवादीका बीचमा तालमेल भएको थियो। कार्यदलका एक सदस्यका अनुसार बस्नेतलाई सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रमा जान सभापाति शेरबहादुर देउवाले आग्रह गर्दा समेत बस्नेतले नमानेका कारण यो क्षेत्रको निर्णय गर्न समस्या भएको हो।

धादिङ–१
धादिङ क्षेत्र–१ मा नेकपा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्र दुवैको दाबी छ। बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल दुवै सो क्षेत्रबाट चुनाव लड्न चाहन्छन्। २०७४ मा पाण्डे र जम्कट्टेल दुवै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। ०७४ मा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले कांग्रेसलाई पराजित गर्दै सो क्षेत्र जितेका थिए। ४९ हजार १ सय २१ मत ल्याएर संघीय सांसद जितेका त्रिपाठीसँग प्रतिस्पर्धा गर्न यसपटक दुवै वामपन्थी दलका पाण्डे र जम्कट्टेल तयारीमा छन्। कार्यदलमा रहेका नेकपा एकीकृत समाजवादीका एक सदस्यका अनुसार काठमाडौं २ मा नेकपा एकीकृतले माओवादीलाई छोडे धादिङ १ मा माओवादीले नेकपा एकीकृत समाजवादीलाई छोड्ने भित्र सहमति भइसकेको छ।

सोलुखुम्बु
सोलुखुम्बुमा माओवादी केन्द्र र कांग्रेस दुवै दलको दाबी छ। यसअघिको चुनावमा जितेकोले माओवादीले आफंैले पाउनुपर्ने अडान लिएको छ। कांग्रेस भने यसपटक गठबन्धनमा भएकोले मिलाउनुपर्ने र सोलुखुम्बु छोड्नुपर्ने अडानमा छ। २०७४ को प्रतिनिधिसभामा कांग्रेसका बलबहादुर केसीलाई हराउँदै माओवादी केन्द्रका हेमकुमार राई विजयी बनेका थिए। राईले २० हजार ७४७ मत ल्याई विजयी हुँदा केसी १७ हजार २९४ मत ल्याई पराजित बनेका थिए। एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बु नछोड्न दबाब दिन केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, अर्थमन्त्री समेत रहेका उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की लगेर भव्य कार्यक्रम गरेका थिए। माओवादीले नछोड्ने र कांग्रेसले पनि दाबी गर्ने भएकोले यसपटक यो क्षेत्रमा पनि सजिलै कुरा मिल्ने देखिँदैन। यो क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्य आङ्गेलु शेर्पाको एकल नाम सिफारिस भएको छ। तर जिल्लाले सिफारिस गर्ने क्रममा अर्का केन्द्रीय सदस्य बलबहादुर केसीको नाम समानुपातिकमा समावेश गरे पनि केसीले प्रत्यक्ष चुनाव लड्ने घोषणा गरिसकेका छन्।

उदयपुर–२
उदयपुर–२ मा एकीकृत समाजवादी र माओवादीको दाबीका कारण सहमति जुट्न नसकेको नेताहरूले बताएका छन्। ०७४ मा यो क्षेत्र माओवादीले जितेको थियो। यो क्षेत्रमा बाम गठबन्धन भएका बेलामा माओवादी उम्मेदवार सुरेशकुमार राईले जित हात पारेका थिए। २०७४ सालमा आफूले माओवादीलाई सहयोग गरेका कारण यो क्षेत्रमा एकीकृत समाजवादीले प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई अहिले उम्मेदवार बनाउने तयारीअनुसार दाबी पेस गरेको छ। माओवादीले पनि विगतमा जितेको हुँदा आफूले पाउनुपर्ने अडान राखेको छ।

सिरहा–४
सिरहा–४ मा माओवादी र जसपाको दाबीका कारण सहमति जुटेको छैन। यो क्षेत्रमा बाम गठबन्धन भएको अवस्थामा पनि तत्कालिन राजपाबाट उम्मेदवार बनेका राजकिशोर यादवले जित हात पारेका थिए। २०७४ सालमा राजकिशोरले २१ हजार १४४ मत ल्याएर जित निकाल्दा बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका अजयशंकर नायकले १७ हजार ५७५ मत ल्याएका थिए। यो क्षेत्र यो पटक आफ्नो भागमा पर्दा जसपाले राजकिशोरलाई लोसपाबाट उम्मेदवार बनाउने तयारीमा छ। माओवादी अघिल्लो पटक उम्मेदवार बनेका अजयशंकर नायकलाई उम्मेदवार बनाउने तयारीमा छ।

सर्लाही–२
सर्लाही–२ मा माओवादी र जसपाको दाबीका कारण सिट टुंगो लाग्न सकस परेको छ। सर्लाही–२ माओवादीले लिएर त्यसमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई उम्मेदवार बनाउने तयारी छ। डा बाबुरामसमेत अध्यक्ष रहेको यो दलले माओवादीको चुनाव चिह्नमा लड्न सहमत भइसकेको छ। यो क्षेत्रमा यसअघि पनि यादवले जितेका थिए। सर्लाही-२ का स्थानीय तहमा वडाध्यक्षले पाएको मत हेर्दा सबैभन्दा बढी मत जसपाको छ। जसपाले यो क्षेत्रलाई एक्लै जित निकाल्ने क्षेत्रका रुपमा लिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्