एजेन्सी ।
फ्रान्स तथा इंग्लिस क्लब आर्सनलका फरवार्ड एलेक्जान्डर लाकाजेट स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्ध नजिक छन् । लाकाजेट ३० मिलियन पाउन्डमा एट्लेटिको म्याड्रिड जान व्यक्तिगत रुपमा सहमत भएको बुझिएको छ ।
मिकेल अर्टेटाको प्रशिक्षणमा कम मौका पाएपछि लाकाजेटले आर्सनल छाड्ने मनासय बनाएका थिए । युनाई इम्रीको प्रशिक्षणमा लगातार मौका पाइरहेपनि डिसेम्बरमा अर्टेटा प्रशिक्षक बनेपछि लाकाजेटले कमै अवसर पाएका छन् । क्लबले उनलाई बेचेर अन्य खेलाडी खरिद गर्न रकम जम्मा गर्ने प्रयास गरेको छ ।
लाकाजेट सन् २०१७ मा फ्रेन्च क्लब लियोनबाट आर्सनल आएका थिए । त्यतिबेलै एट्लेटिको म्याड्रिड जाने तयारी रहेपनि खेलाडी अनुबन्धमा प्रतिबन्ध लागेका कारण उनी आर्सनल आएका थिए । उनले आर्सनलमा औसत प्रदर्शन मात्र गर्न सके ।
आर्सनलले कप्तान पिएरे इमिरिक औवामियाङको सम्झौता नवीकरण र ब्राजिल तथा चेल्सीका विंगर विलियन ल्याउने प्रयास थालेपछि २९ वर्षे लाकाजेट क्लब छाड्ने मनासयमा पुगेको अनुमान गरिएको छ । उनले पहिलो रोजाईमा नियमित खेल्न चाहेको र आर्सनलले उनलाई त्यसको ग्यारेन्टी गर्न नसक्ने भएपछि क्लबले उनलाई अन्यत्र छलफल गर्न दिएको थियो ।
आर्सनलले एक साताअघि एफए कपको उपाधि जित्दा लाकाजेटले पहिलो रोजाईमा मौका पाएका थिएनन् । उक्त खेलमा औवामियाङले दुई गोल गर्दै उपाधि जिताएका थिए । आर्सनलले औवामियाङको पारिश्रमिक प्रतिसाता १ लाख ८० हजारबाट बढाएर २ लाख ५० हजार पाउन्ड बनाउने तयारी थालेको छ ।