चितवनदेखि गोरखासम्मका डेलिगेसनको ओहिरोः चुनावमा प्रचण्डको रोजाई चितवन कि गोरखा – Janadesh Daily | ePaper

चितवनदेखि गोरखासम्मका डेलिगेसनको ओहिरोः चुनावमा प्रचण्डको रोजाई चितवन कि गोरखा


जनादेश वाच।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कताबाट चुनाव लड्ने भन्ने निश्चित भइसकेको छैन । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका दाहाल यसपटक कहाँबाट उम्मेदवार बन्ने भन्ने टुंगो लागि नसकेको उनी निकट स्रोतले जनादेशलाई जानकारी दिएको छ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा उम्मेदवार नबन्ने घोषणा गरेसँगै माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । भट्टराईले प्रचण्डलाई गोरखाबाट उम्मेदवार बन्न आग्रह गरेको बताएका थिए । ‘प्रचण्डजीलाई तपाईं गोरखामै आउनुस्, गोरखामा विकास निर्माणको पूर्वाधार पनि तयार भएको छ । तपाईं त्यहाँ गइदिइसकेपछि त्यसमा सहयोग पुग्छ र तपाईं धेरै अन्त अल्झिनु पर्दैन, राम्रो सन्देश पनि जान्छ भन्ने आग्रह गरेको छु । उहाँले सकारात्मक छु र सोच्छु भनिराख्नुभएको छ । मेरो आग्रह- उहाँ गोरखा जानुभयो भने हाम्रो अभियानलाई राम्रै हुन्छ भन्ने मलाई लाग्छ,’ प्रतिनिधिसभा उम्मेदवार नबन्ने घोषणा गरेपछि भट्टराईले भनेका थिए, ‘मैले छोड्दा मभन्दा राम्रो मान्छे ल्याउँछु भनेर उहाँहरू (मतदाता) को चित्त बुझाइरहेको छु ।’

भट्टराईको यो अभिव्यक्तिले प्रचण्ड निवासमा चितवनका नेताहरूको डेलिगेसन गैसकेको छ । चितवनका गठबन्धनमा रहेका पार्टीका नेताहरूले सामूहिक रूपमा पत्र बुझाएर चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्न दाहाललाई आग्रह गरेका छन्। कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा बसेको बैठकले दाहाललाई जिताउने प्रतिबद्धतासहित निर्णय गरेको र त्यो निर्यण खुमलटारमा बुझाइएको छ । जसमा कांग्रेसका खनाल, माओवादी केन्द्रका रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, जनमोर्चाका विष्णु पौडेल, जसपाका प्रेमराज भुजेलले हस्ताक्षर गरेका छन् । ‘गठबन्धन दलका शीर्ष नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नम्बर- ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्ने समाचार सुन्नमा आएकोप्रति गम्भीर ध्यानाकर्षण हुँदै मुलुक, संविधान, लोकतन्त्र, शान्ति तथा विकासका खातिरसमेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनुहुन अपील गर्ने निर्णय गरिन्छ,’ उक्त बैठकले गरेको निर्णयमा उल्लेख छ ।

चितवनका कांग्रेस, माओवादीका नेता तथा कार्यकर्ताहरूले प्रचण्डलाई उनकै निवास खुमलटारमा भेट गरी साविक निर्वाचन क्षेत्र परिवर्तन नगर्न दबाब दिएका छन् । भेटको क्रममा कांग्रेससहितका नेताहरूले आगामी निर्वाचनमा प्रचण्डलाई चितवनबाट अत्याधिक बहुमतले जिताउन आफूहरू प्रतिवद्ध रहेको बताएका थिए ।

‘चितवन छाड्ने विषयमा पुनर्विचनर्वि गर्न अध्यक्षज्यूलाई हामीले सुझाव दिएका छौं । गठबन्धनभत्काएर लोकतन्त्र र व्यवस्था सिध्याउनका लागि देशी विदेशी तत्वहरू सक्रिय भएका छन्’, सहभागी एक नेताले भने, ‘गठबन्धनलाई अझै बलियो बनाई लोकतन्त्र र व्यवस्थाको रक्षा गर्नका लागि प्रचण्डको भूमि का आवश्यक छ । हामीलाई विश्वास छ चितवन छाडेर उहाँ अन्यन्त्र जानुहुन्न।’

त्यस्तै गो रखाका माओवादी नेता तथा कार्यकर्ताहरूलेसमेत प्रचण्डलाई आगामी निर्वाचन गोरखाबाट उठ्न दबबा दिएका छन् । माओवादी युद्धमा गोरखाको पनि योगदान उच्च रहेको भन्दै उनी हरूले प्रचण्ड गोरखा आए त्यहाँको विकास र समृद्धिका लागि महत्वपूर्ण योगदान रहने सुझाव दिएका छन् ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्